‘महिलाले सक्दैनन् भन्थे, घरमै जैविक प्याड उद्योग खोलेर देखाइदियौँ’
चितवन । भरतपुर-१२ निवासी सावित्री भण्डारीलाई कुनै समय महिलाले उद्योग चलाउन सक्दैनन् भन्ने पुरुषहरू नै हिजोआज दङ्ग परेका छन् । तीनै पुरुषहरू आजकल सावित्रीलाई देखेपछि भन्ने गरेका छन्, ‘तिमी महिलाहरूले उद्योग चलाउन सक्दैनौँ भनेको त चलाएर देखाइदियौ ।’
सावित्रीलाई चार वर्षअघि त्यो दिनको झलझली याद आउँछ, जतिबेला जैविक प्याड उद्योग चलाउने निर्णय उनीसहित केही महिला बसेर गरे, त्यतिबेला चलाउन सक्दैनौँ, हुँदैन । बेकार पैसा किन फसाउने ? लगानी डुब्छ भन्नेहरूको ताँती नै थियो । चार वर्षअघिको त्यो दिनलाई सम्झँदै सावित्री भन्छिन्, ‘कसैले हाम्रो निर्णयलाई ठिक छ भनेनन्, आज तीनै पुरुषहरू नै सावित्रीले जे गरिन्, ठिक गरिन्, वाउ सावित्री ! भन्ने गरेका छन् ।’
सावित्रीलाई मात्र होइन, उद्योगमा जोडिएका अन्य महिलाहरूलाई पनि हिजो ‘सक्दैनन्’ भन्नेहरू आज ‘राम्रो गरेका छौँ’ भन्ने गरेका छन् । महिलाहरूले जैविक महिनावारी प्याड उद्योग खोलेर गाउँका केही महिलाहरूलाई स्वरोजगार बनाएका छन् ।
‘केमिकलको प्रयोग नगरी स्वास्थ्यमैत्री, वातावरणमैत्री जैविक प्याड उद्योग चलाइएको छ, त्यो पनि सानो घरको कोठाभित्रै । माग धान्न सकिएको छैन’ सावित्रीले भनिन्, ‘हिजो ‘सक्दैनौ’ भन्ने पुरुष नै आज कति त नाक लुकाएर हिँडेका छन्, कतिले महिलाले सक्दैनन् भनेको सक्यौ भन्ने पनि गरेका छन् । खुसी लागेको छ । तिमी आँट म पुर्याउँछु भन्छन् भगवानले त्यस्तै भएको छ हामीलाई ।’
सावित्रीमात्र होइन, उद्योगमा प्रत्यक्ष रूपमा ३५ जना महिलाहरू जोडिएका छन् । अप्रत्यक्ष रूपमा २०० भन्दा बढी महिलाहरू उद्योगसँग आबद्ध भएका छन् । १५ जनाको लगानी नै परेको छ । महिलाको समूह मिलेर उद्योगको नाम मितेरी जैविक प्याड उद्योग राखेका छन्, जुन भरतपुर १२ जिल्ला प्रशासन एकता टोलमा छ ।
मितेरी जैविक प्याड उद्योग न्यायका लागि सक्रिय महिला मञ्चले अगाडि बढाउन सहयोग गरिरहेको छ । ‘मितेरी जैविक प्याड उद्योगले उत्पादन गरेको प्याडमा केमिकल हुँदैन पूरा जैविक हुन्छ, वातावरणमैत्री छ’ उद्योगको अध्यक्षसमेत रहेकी सावित्रीले भनिन्, ‘सेनेटरी प्याड खरिदमा राज्यको अर्बौं रुपैयाँ बाहिरिएको छ, यसलाई रोक्नको लागि सानो प्रयास हामी महिलाले शुरू गरेका हौँ, पछिल्लो समय सबैको माया पाइरहेका छौँ ।’
मितेरी जैविक प्याड उद्योगले दुई प्रकारका प्याड उत्पादन गरिरहेको छ । एउटा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड र अर्को बाहिरबाट कञ्चापदार्थ ल्याएर आफैँले उत्पादन गरेको कुनै केमिकलको प्रयोग नगरी जैविक प्याड ।
अध्यक्ष सावित्री भन्छिन्, ‘माग धान्न सकिएको छैन, स्वास्थ्यको लागि हितकर प्याड खोज्दै हामी समक्ष थुप्रै महिला समूहहरू आउँछन् । बजारमा हामीले हाम्रो उत्पादनलाई अझै लैजान सकेका छैनौँ, लिन आउनेहरूलाई मात्र पठाइरहेका छौँ ।’
मितेरी जैविक प्याड उद्योगले उत्पादन गरेको प्याड रु. १०० देखि १८० रुपैयाँसम्मका छन् । पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड पनि उद्योगले उत्पादन गरिरहेको छ । यस उद्योगमा अहिले नियमित ६ जना कर्मचारीले काम गरिरहेका छन् ।
माग धेरै आएको बेला झण्डै ३० स्थानीय महिलालाई उद्योगले रोजगार दिन्छ । उद्योगमा ४२ लाख लगानी परिसकेको छ । यहाँ काम गरेका महिलाहरूले देशभर नै जैविक प्याड र कपडाको प्याड बनाउने तालिम पनि दिइरहेका छन् । हालसम्म ५०० जना महिलाहरूले प्याड बनाउने तालिम लिइसकेका छन् ।
‘सामान्य मेशिनबाट घरमै बसेर जैविक प्याड उत्पादन गरेका हौँ’ मितेरी जैविक प्याड उद्योगकी उपाध्यक्ष राधा पोखरेलले भनिन्, ‘महिलाहरूको आँट र जैविक प्याड उत्पादन गरेको देखेपछि राधा पौडेल फाउन्डेशनले एउटा मेशिन दियो, थप ठूला मेशिन ल्याउन पहल गरिरहेका छौँ, राज्यका ढोकाहरूमा सहयोगको लागि पुगिरहेका छौँ ।’
उनका अनुसार यस उद्योगको लक्ष्य वातावरणमैत्री अभियानलाई सार्थक बनाउने हो । उनले भनिन्, ‘हामीले निर्माण गरेको प्याड कुहिन्छ, कुनै हानी गर्दैन । केमिकल हुँदैन, वातावरणमैत्री छ, स्वास्थ्यको लागि लाभदायक छ ।’
उनले स्वदेशमै सञ्चालनमा आएका प्याड उद्योगमाथि राज्यको आँखा नपरेको बताइन् । उनले भनिन्, ‘सरकारले अहिल ल्याएको बजेटमा स्थानीय जैविक प्याड उद्योगलाई प्रोत्साहन गर्ने नीति छैन । उल्टो आयातित प्याडमा ९० प्रतिशतसम्म भन्सार छुट दिएको कुरा सुनिन्छ । सरकारको यस्तो नीतिले हाम्रो जस्ता जैविक स्थानीय प्याड उद्योगहरू झन् समस्यामा परेका छन् ।’
तत्काल मितेरीजस्ता स्वदेशका प्याड उद्योगलाई प्रोत्साहन गर्नको लागि अनुदान दिने, कञ्चापदार्थमा भन्सार छुट गर्ने, मेशिन खरिदमा भन्सार छुट दिनेजस्तो नीति अवलम्बन गर्नुको साटो उल्टो आयातित प्याडमा भन्सार छुट गरेर सरकारले के गर्न खोजेको हो, बुझ्न नसकेको उनले बताइन् ।
उद्योगका सुपरभाइजर मिना खत्रीले स्थानीय पालिकाहरूले प्याडको टेण्डर आह्वान गर्दा स्थानीय जैविक प्याड उद्योगलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले भनिन्, ‘प्लास्टिक र केमिकलयुक्त प्याडलाई प्राथमिकता दिएर यहाँ टेण्डर आह्वान भइरहेको छ, हाम्रोजस्तो उद्योगलाई स्थानीय सरकारले पनि नजिकको आँखाले हेरिरहेको छैन ।’
पछिल्लो समय स्कुलहरूमा पनि प्याड वितरण भइरहेको छ, तर स्कुलहरूमा केमिकलबाट मुक्त जैविक प्याडहरूको प्रयोग भइरहेको छैन । गुणस्तर नहेरी जसले सस्तोमा टेण्डरको प्रस्ताव गरेको छ, उसैलाई टेण्डर पर्दा स्कुलका नानीहरूले पनि गुणस्तरीय प्याडको प्रयोग गर्न नपाइरहेको सुपरभाइजर खत्री बताउँछिन् ।