त्रासमा श्रीलंका टापु, १४ सय जना सप्तकोशीको शिर हेरेर रात काट्दै
विराटनगर । सुनसरी र उदयपुरको बीचमा आँखैले नभ्याउने गरी बगेको छ ‘सप्तकोशी नदी’ ।
वारि सुनसरी–पारि उदयपुरको बीचमा श्रीलंका टापु । बीचमा रहेको यो बस्तीमा पुग्नका लागि उदयपुरबाट पनि सप्तकोशी तरेर पुग्नु पर्छ भने सुनसरीबाट पनि त्यो टापुमा पुग्नका लागि सप्तकोशी नदीका केही जङ्घारहरू पार गर्नुपर्छ । त्यही श्रीलङ्का टापु जहाँ अहिले पनि ठूलो बस्ती छ । यहाँको बस्तीमा बसेका नागरिकहरू कतिबेला सप्तकोशीले बगाएर बेपत्ता पार्ने हो भन्ने त्रासमा रहेका छन् ।
यो वर्ष सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुमका उच्च क्षेत्रमा मध्य जेठदेखि नै वर्षा शुरू भयो । यी पहाडी भेगमा भएको वर्षाको असर यो टापुमा बसोवास गर्ने नागरिकलाई नपर्ने त कुरै भएन । जब-जब सप्तकोशीमा पानीको बहाब बढ्दै जान्छ अनि यो टापुका नागरिक सप्तकोशी शिरतर्फ फर्किएर हेर्छन् । यिनीहरूको मनभरि अत्यासले बास गर्न थाल्छ । श्रीलंका टापु बस्ती नजिकैको एक सय मिटरबाट सप्तकोशी उर्लिएका भेलका छाल बनेर बस्तीमै आइपुग्दा यहाँका बासिन्दालाई लाग्छ ‘जीवनको इहलीला सकियो ।’ जब झम् झम् झरी पर्न थाल्छ अनि स्थानीय दिनरात सप्तकोशीको बहाव हेरेर बिताउँछन् ।
पूर्वी पहाडी जिल्लामा पानी पर्न थालेपछि सप्तकोशीमा पानीको सतह बढ्छ । बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलंका टापु आसपासमा कटान शुरू हुन्छ । बस्ती नजिकै भएको कटानको असर स्थानीयमा छ । कोशी सम्झौता अनुसार पूर्वतर्फ भारतीय पक्षले तटबन्ध निर्माण गरेको भएपनि पश्चिमतर्फ श्रीलंका टापु नजिकैका बस्तीमा तटबन्ध बनाइएको छैन । यसको असर हरेक वर्ष कोशीमा आउने बाढीका कारण सैयौं बिगाहा जमिन बगर बन्दै आएको छ । नदी कटानका कारण खेतीयोग्य जमिन त बगर बन्यो नै श्रीलंका टापुको बस्ती समेत उस्तै जोखिममा छ ।
स्थानीयका वेदना
वर्षा लाग्न थालेसँगै कतिबेला नदीले बगाउने हो भन्ने चिन्तामा छन् स्थानीय शनिचरण कविरथ । ‘पहिला कोशी नदी टाढा थियो’, उनले भने, ‘पहिला उः पर छ नि ? हो, त्यो रूख (आखाँले नभ्याउने) हो त्यहाँ थियो कोशी, अर्को वर्ष अझै नजिकै आयो, अहिले त यहीँ छ हेर्नु न ।’ उनलाई यो वर्ष कोशी गाउँ नै पस्ने हो कि भन्ने चिन्ता छ । कोशी कटानले हरेक वर्ष धेरैलाई घर छाडेर हिँड्ने बनाएको स्थानीयको बुझाइ छ ।
श्रीलंका टापुका स्थानीय शिवशंकर यादव पनि सानोतिनो डर लिएर बसेका छैनन् । कतिपय त यहाँबाट डरकै कारण अन्यत्र सरेर हिँडिसके । गाउँका केही व्यक्तिहरू अन्यत्र सरेर गएपनि उनी आफ्नो थाडाथलो छाडेर हिँड्नसक्ने अवस्थामा छैनन् । ‘यहाँबाट अन्यत्र सरेर जाऊँ भनेपनि जाने ठाउँ छैन’, उनी भन्छन्, ‘बसौँ भनेपनि कतिबेला कोशीले परिवार नै खाइदिने हो पत्तो छैन, त्रासै त्रासमा जीवन जीउँदै छौँ ।’
२०३८ सालदेखिको पिर
कोशीको धार परिवर्तन र कटानको असर छोटो समयको होइन । यो निकै वर्ष पुरानो हो । जब सप्तकोशी नदीमा पानीको बहाव बढ्छ, अनि तल रहेको सप्तकोशीको ब्यारेजमा पानीको निकासका लागि ढोकाहरू खोलिँदैनन् अनि त्यसको असर श्रीलंका टापुजस्ता बस्तीमा पर्छ । श्रीलंका टापुमा लामो समयदेखि बस्दै आएका अर्जुन चन्द्रवंशी यो समस्या २०४५ सालपछि भएको सुनाउँछन् । भुइँचालो आउँदा ठूलो कोशी पूर्वतर्फ फर्किएदेखिको समस्या यहाँका नागरिकले भोग्दै आएको उनी सुनाउँछन् ।
त्यो बेला कोशीको भङ्गालो पनि निकै नै टाढा थियो तर, अहिले कोशी आँगनमै टाँसिन आइपुगे जसरी बग्दैछ । भएको धानखेत सबै बगायो । २०४५ सालदेखि ठाउँ सर्दै बस्दै गरेका श्रीलंका टापुवासीहरू धेरैपटक सर्दै बस्दै गरेको चन्द्रवंशी बताउँछन् । ‘अहिलेसम्म हामी चारपटक सरिसकेका छौँ’, उनले भने, ‘अब पाँचौंपटक सर्नुपर्ने अवस्था आइसकेको छ, कहाँ जानु हो !’
सप्तकोशीले २०३८ सालदेखि बराह क्षेत्रको प्रकाशपुर र राजावासतर्फ धार परिवर्तन गरेसँगै श्रीलंका टापुको विकास भयो । चारैतर्फ पानीले घेरिएपछि यहाँको बस्ती टापुमा परिणत भएको थियो । त्यही बेलादेखि व्यक्तिका नम्बरी जग्गाबाट कोशी बग्यो, यही बस्तीका धेरै आशा र निराशाका अन्तर कुण्ठा राज्यसम्म पुग्न सकेको छैन । स्थानीय तहले केही गर्न खोजेको भएपनि पालिकाको तर्फबाट धेरै गर्न सक्ने अवस्था नभएको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की बताउँछन् । बराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ का करिब १ हजजार ४ सय जना अत्यन्त जोखिममा रहेको उनले जानकारी दिए । ‘श्रीलंका टापु चारैतिर नदीले घेरिएको बस्ती हो, उनले भने, यो बस्तीमा करिब १ हजार ४ सय ब्यक्ति प्रभावित हुने देखिन्छ ।’
सरकारले नचिनेको टापु
तत्काल कटान रोक्नको लागि कटान स्थलमा त्रिपोल लगाएर तटबन्ध लगाउने हो भने कटान कम हुने झिनो आशा उनीहरूसँग छ ।
सप्तकोशी नदिले श्रीलंका टापुतर्फको २ हजार ५ सय बिगाहा जग्गालाई बगर बनाइसकेको छ। त्यहाँ रहेका एक सय बढी घर र एउटा सामुदायिक विद्यालय विस्थापित भइसकेका छन् । श्रीलंका टापुवासीको समस्या समाधान गर्नको लागि राज्यको नीतिगत व्यवस्थाले काम गरेको त छैन नै स्थानीयलाई सुरक्षित राख्ने योजना समेत न पालिकासँग छ, न प्रदेश सरकारसँग नै ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की वडा र पालिकादेखि नै जोखिम क्षेत्रको नक्साङ्कन गरेर जानुपर्ने बताउँछन् । ‘स्थानीय तहदेखि नै पहिलो काम जोखिमको नक्साङ्कन गरौँ भनेर हामीले भन्दै आएका छौँ, पालिकालाई पनि अनुरोध गरेका छौँ, कार्कीले भने, यो समस्या श्रीलंका टापुको मात्र हैन, श्रीलंका टापुजस्ता जोखिमका बस्तीहरुलाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा सबै लाग्नु पर्छ ।’
प्रदेश सरकारको योजना भनेको पहिला पूर्व तयारीको रूपमा जोखिमको नक्साङ्कन, त्यसपछि राहत र उद्धारपछि पुनःस्थापनाको लागि विपद् तथा मनसुन प्रतिकार्य रणनीति योजना बनाएर मन्त्री परिषदबाट पारित हुने चरणमा रहेको मन्त्री कार्कीले मकालुखबरलाई जानकारी दिए । राहत र उद्धारमा भन्दापनि स्थानीय तहमार्फत् नै जोखिमको नक्साङ्कन गरेर उनीहरूको व्यवस्थापन नै सरकारहरूको प्राथमिकता बन्नु पर्ने कार्की बताउँछन् ।