अझै चर्को गुञ्जिँदै जाओस् ‘चोरको स्वर’ !
मानव जीवनमा कलाको निकै नै महत्त्वपूर्ण भूमिका रहेको छ । यसले मानवलाई अरू प्राणीभन्दा फरक देखाउने काम मात्र गरेको छैन, मानवलाई सिंगारीदिएको पनि छ । कलाले मानव सभ्यतालाई सुनमा सुगन्ध थपिदिए जस्तै सुन्दर बनाइदिएको छ ।
कलाले मानव सभ्यताको संस्कार, संस्कृति, इतिहाससँगै उसले बाँचिरहेको जीवनशैली समेत बोक्ने गर्दछ । यसले समाजका विभिन्न रीतिरिवाज, इतिहास, संस्कार र संस्कृतिसमेत बोकेको हुन्छ । यसरी हेर्दा कला, मानव जीवनका लागि अभिन्न अङ्ग हो । अझ नेपाली परिवेशमा हेर्ने हो भने त कलाको निकै नै ठूलो भूमिका रहेको देख्न पाइन्छ । चाहे त्यो कुनै चाडपर्व मनाउँदा होस् वा मनोरञ्जनकै लागि ।
त्यसैले, ‘नेपाली कलाले नेपाली समाज बोकी हिँडेको छ’ भन्दा फरक पर्दैन । नेपाली कला क्षेत्रभित्र पनि रंगमञ्चको छुट्टै भूमिका रहेको छ । नेपाली रङ्गमञ्चले नेपालको कला र संस्कृति जति बृहत रूपमा बोकेको छ त्यति अरू कुनै कला क्षेत्रले सायदै बोकेका होलान् । यसको उदाहरण स्वरूप हाल मञ्चन भइरहेको नाटक ‘चोरको स्वर’लाई लिन सकिन्छ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित मण्डला थिएटरको नँया नाटकघरमा मञ्चन भइरहेको उक्त नाटकमा लिम्बुको समुदायभित्रको भागी विवाहका विभिन्न पक्षहरू देखाउने चेष्टा मात्र गरेको पाउँदैन, बरु यसले सिङ्गो किराँती समुदायको नै संस्कार, संस्कृतिलाई नै केन्द्रमा ल्याइदिएको भान हुन्छ । नाटकले नेपालको सुदूरपूर्वमा लुकेर रहेको एउटा समुदायको सिंगो संस्कृतिलाई जनमानसमाझ ल्याइदिएको छ ।
लिम्बु समुदायभित्रका भागी विवाहका विभिन्न पक्षसँगै उनीहरूले, हाल बाँचिरहेको परिवेश, समय र पिडाहरूसमेत चित्रण गर्न भ्याएका छन् । त्यसैले त, लोक गायिका तथा अनुसन्धानकर्ता झुमा लिम्बु, आफ्नो फेसबुकको वालमा कलाकारहरूलाई सम्मान गर्दै लेख्छिन्ः
‘लोकमा असल र मिहेनती कलाकारहरू रहुन्जेल कुनै भाषा अथवा कला संस्कार र संस्कृति र इतिहास मर्दैन भन्ने प्रमाण हो नाटक ‘चोरको स्वर’ जो आजबाट मञ्चन भइरहेको छ । मण्डलाको नयाँ थिएटर बानेश्वर थापागाउँमा । जुन, नाटकको नाममा चटक नभई हरेक पात्रहरूले नाटकलाई जीवन्त पारेका छन् । नपत्याएको खोलामा को को बग्छन् बगाइदेऊ, आर्टमाण्डु १ म साँच्चिकै बगेँ, ९० मिनेट ९ मिनेट लाग्यो । म आज उदेक दङ्गदास छु । मेरो प्राण प्यारे भाइहरूलाई शुभकामनाको चुली चढाएँ ।’
झुमा लिम्बुले भनेझैं नाटकले सो समुदायको इतिहास मात्रै छर्लंग बनाइदिएको छैन । नाटकले ०६२-०६३ को आन्दोलनको मुद्दाहरूका गन्तव्य कहाँसम्म पुगे भन्ने प्रश्न गरेको देख्न सकिन्छ । आफ्नो पहिचानका लागि लड्दालड्दै पनि विभिन्न पारिवारिक कारणवश त्यसलाई निरन्तरता दिन नसकेकाले कैयौं सुनूहाङहरू थलिएका छन् ।
भागी विवाहको विभिन्न पक्षहरूसँगै बेहुली पक्ष र बेहुला पक्षबीच हुने विभिन्न ठट्यौलीहरू पनि देखाइएको छ । यस मानेमा किराँतीहरू आफ्नो कर्तव्य पूर्तिसँगै निकै नै रमाइलो गर्नुपर्ने समुदायका रूपमा देखिएको प्रष्ट हुन्छ । कथाकार नवीन चौहानले ‘चोर को स्वर’ मार्फत् लिम्बू समुदायमा रहेको कला, संस्कृति र इतिहास मात्रै नभएर नेपालमा रहेको पूर्वी क्षेत्रको पूरै लोकभाका र संस्कृतिको उजागर गरिदिएका छन् ।
यसको उदाहरण स्वरूप पूर्वेली लोक भाका ‘ए लैलै’ लाई लिन सकिन्छ । नाटकमा देखाइएको चेली र माइतीबीचको सम्बन्धले किराँती समुदायभित्र चेली र माइतीको सम्बन्ध कति महत्त्वपूर्ण छ भन्ने कुरा खोलिदिएको छ । भागी विवाह गरेकी चेलीको माइतीहरूले ‘चोरको स्वर’ नलिँदा चेलीलाई कतिसम्म अफ्ठ्यारो पर्छ भन्ने नाटकमा चित्रण गरिएको छ। यसले संस्कारको वैवाहिक जीवनमा कति महत्त्व रहेछ भन्ने उजागर गरिदिएको छ ।
साथै, विवाहको माहोलभित्र सोल्टी सोल्टिनीबीच भएको जुहारीले अहिलेको जस्तो सञ्चार माध्यम नभएको बेलामा कसरी प्रेमी प्रेमिकाहरूले आफ्नो माया पिरती र मनको बह पोख्थे भन्ने कुरा देखाएको छ । किराँती समुदायभित्र पनि जात अनुसारको यस संस्कार फरक-फरक रहेको पाइए तापनि यसको मुख्य उद्देश्य एउटै रहेको छ । ‘चोरको स्वर’ भन्नाले बेहुलापक्षले बेहुलीपक्षलाई ‘हजुरहरूकी छोरी चेली हामीले नसोधी ल्याएका छौँ है’ भनी जानकारी गराउने प्रक्रिया हो । त्यसका साथै, ‘अर्काकी छोरी चेली थाहै नदिई भगाएर लैजानुको सजाय के हुन्छ रु’ भन्ने कुरा समेत यस रीतले बुझाउँछ ।
यसरी हेर्दा नाटक ‘चोरको स्वर’ले नेपालको कुनै कुनामा लुकेर रहेको संस्कृतिलाई सबैसमक्ष ल्याइदिने काम गरेको छ । कुनैपनि समुदायको संंस्कार सानो वा ठूलो हुँदैन भन्ने आशय पनि यस नाटकले दिन खोजेको छ । साथै, यस नाटकले जन-आन्दोलनमार्फत् पहिचानका मुद्दाहरू कहाँसम्म पुगे त भन्ने कुराकोपनि ‘खै’ गरेको छ ।
निर्देशकद्वय अनिल सुब्बा र अन्वेश राईद्वारा निर्देशित उक्त नाटकमा लिम्बुहरूको संस्कार-संस्कृति मात्र देखिएको छैन । एउटा सिंगो परिवेश देखिएको छ । पहिलेको र अहिलेको लिम्बु समाजको फरक देखिएको छ । लिम्बु समाजभित्र विभिन्न परिवर्तन देखिएता पनि आफ्नो संस्कृति-संस्कार भुलेको छैनन् भन्ने कुरा पनि देख्न सकिन्छ । लिम्बुहरू आफ्नो संस्कार पिता पुर्खाहरूलाई कसरी सम्मान गर्छन् भन्ने कुरा देख्न सकिन्छ ।
यसरी हेर्दा, किराँतीहरूमा चेली, माइती र पिता पुर्खाको कस्तो सम्बन्ध हुन्छ प्रष्ट देखिन्छ । दुई गाउँबीच जति नै खटपट भए तापनि कुटुम्बेरी साइनोले पुलको काम गरेको छ । यता फेसनेमार्फत् हाम्रो कला संस्कृतिमाथि यसरी पश्चिमी कला संस्कृतिको प्रभाव परिरहेको छ भन्ने पनि दर्शाइएको पाइन्छ ।
साथै, अहिलेको पुँजीवादीहरूले खडा गरेको देखावटी समाजमा मनोरञ्जनका मानकहरूलाई भेट्नु र यस्तो कार्यक्रम आयोजना गर्नुसमेत महंगो सिद्ध भइसकेको छ । यसरी पश्चिमेली संस्कृतिले हाम्रा कला, संस्कृति र संस्कार छोप्दै आएको छ । नेपालको बदलिँदो अर्थ व्यवस्थासँगै हाम्रा मौलिक संस्कृति लोप हुने डर उदाएको छ ।
अतः दैनिक सामान्य जनजीवन बदलिँदो गतिबाट दौडिरहेको भएपनि यस्ता नाटक र कलाले नै हाम्रो संस्कृतिको सह बचाइराख्ने काम गरेको छ र गर्नसक्छ है भन्ने सन्देश मिलेको छ । तसर्थ, नेपाली रंगमञ्चमा यो र यस्तै ‘चोरको स्वर’हरू अझै चर्को सुनिँदै जाऊन्, आधुनिकताका नाममा चुँडालिएर छरपस्ट भएको हाम्रो मौलिकताको माला पुनः उनिँदै जाऊन् ! र जानुपर्छ !