सेयर लगानीकर्ताको बेहाल : नेप्से १३ सय अंकले घट्दा कोही अनशनमा, कोही प्रदर्शनमा

काठमाडौँ । आजभन्दा जम्मा १० महिनाअघिको कुरा हो । २ भदौ २०७८ का दिन नेपालको सेयर बजार नेप्से परिसूचक इतिहासकै उच्च बिन्दुमा पुगेको थियो । अर्थात् उक्त दिन बजार ३१९९.०३ बिन्दुमा पुगेको थियो । त्यसताका(दैनिक) २१ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सेयर बजारको कुल बजार पुँजीकरण ४० खर्ब १० अर्ब हाराहारी पुगेको थियो । तर, यो तथ्य आज कहानीजस्तै बनेको छ ।

६ असार २०७९ साेमबारका दिन सेयर बजार नेप्से परिसूचक १८८४.८१ बिन्दुमा खुम्चिइसकेको छ । यस दिन जम्मा १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । हाल औषतमा सवा अर्बकाे सेयर काराेबार भइरहेकाे छ । ६ महिनायता सेयर बजार नेप्से निरन्तर ओरालो लाग्दै हाल (५ असार २०७९) सम्ममा सेयर बजारको कुल बजार पूँजीकरण २७ खर्ब ५७ अर्ब रुपैयाँमा खुम्चिसकेको छ ।

यसरी १० महिनाको अवधिमा नेप्से १३१४.२२ अंकले घटिसकेको छ । दैनिक कारोबार रकम २० अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । बजार पुँजीकरण १२ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढीले घटिसकेको छ ।

बजार निरन्तर घट्ने क्रममा कतिपय लगानीकर्ताको सम्पत्तीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेपछि उनीहरु अहिले निराश मात्रै छैनन्, हतोत्साहित भइसकेका छन् । खासगरी सेयर कारोबारलाई व्यवसाय बनाएका र बैंक वित्तीय संस्थाको ऋणसमेत लिएर लगानी गरेका लगानीकर्ता अत्तालिएका छन् ।

सूचीकृत कुनै कम्पनीका आन्तरिक विषय बाहिरिएको भनेर गलत हल्ला चलाउने, सूचीकृत कुनै कम्पनीको आन्तरिक सूचना चुहिएको भनेर हल्ला चलाउने र त्यसैका आधारमा उक्त कम्पनीको सेयर किनबेच गरी बजारबाट अवैध लाभ लिन पल्किएका चलखेलमा संलग्न खेलाडी लगानीकर्तासमेत अत्तालिएका छन् ।

यही कारण लगानीकर्ताले स्थानीय र संसदीय निर्वाचनको सन्दर्भपारेर ‘सयेर बजारविरोधी नेतृत्वलाई चुनावमा नो भोट’ अभियान चलाइरहेका छन् । आमरण अनसनमा बस्ने, ज्ञापनपत्र बुझाउनेदेखि प्रर्दशनमा समेत उत्रिरहेका छन् । यीयस्ता सेयर खेलाडीका प्रभावमा परेर गगन थापा, योगेश भट्टराई जस्ता नेताहरुले संसदमा समेत सेयर बजार उकास्न राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बाधा पुर्याइरहेको लाेकप्रियताका लागि भाषण गर्न थालेका छन् ।

जुनसुकै मूल्य चुकाएर भए पनि लगानीकर्तालाई लाभ पुग्ने गरी सेयर बजार उकालो लाग्ने नीतिगत व्यवस्था गर्न उनीहरुले माग गरिरहेका छन् । जबकी यस्तो मागलाई अर्थमन्त्रालय, राष्ट्र बैंक र नियामक निकाय सेबोनले समेत ‘पूरा गर्न नसकिने माग’ भनिरहेका छन् । सेयर बजारको प्रवृत्ति र प्रकृतिलाई स्वीकार गर्दै यसमा हुने जोखिमलाई व्यहोर्ने शर्तमा नै लगानीकर्ताले लगानी गरेका हुन् ।

सेयर बजार तीव्रगतिमा उकालो लाग्दा भएको लाभ खुसीसाथ एक्लै स्वीकार्ने लगानीकर्ताले यसमा जाेखिम हुँदा वा व्यवसायमा घाटा लाग्दा  आन्दोलनमा उत्रिनु विधिसम्मत मान्न सकिँदैन । नियामकीय नेतृत्वमा रहेका व्यक्तिहरुले भनिरहेका छन्, ‘आन्दोलन गरेर सेयरको मूल्य बढ्दैन ।’

किन घट्यो बजार ?
सेयर बजार घटेर अहिलेको अवस्थामा आउनुमा विभिन्न कारण जिम्मेवार छन् । सेयर कारोबार प्रणालीलाई डिजिटाइजेशन गरिएपछि यो बजारमा कारोबारीको संख्या बढ्यो । लगानीकर्ता ह्वात्तै बढे । डिम्याट खाता, मेरो सेयर एपको सञ्चालन, टीएमएस सञ्चालन जस्ता कारणले लगानीकर्ता आफैँले समेत सेयरको कारोबार गर्न सक्ने भए । बिक्री भएको सेयरको रकम २ देखि ३ दिनभित्र खातामा आइसक्नुपर्ने नीतिगत व्यवस्थाकाे आकर्षणले नवप्रवेशीहरुको संख्या एकाएक अर्थात् ४ वर्षयता ह्वात्तै बढायो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हाल सेयर कारोबारका लागि डिम्याट खाता खोल्ने सेवाग्राहीको संख्या ५२ लाख ४४ हजार ४ सय ५३ पुगिसकेको छ । त्यस्तै, मेरो सेयर एप प्रयोगकर्ता सेवाग्राहीको संख्या ४३ लाख ५४ हजार ८ सय ५६ जना पुगिसकेको छ । जबकी २०६५ ताकासम्म सेयर बजारमा कुल लगानीकर्ताको संख्या जम्मा १५ लाख आसपास थियो । त्यसैले बजारमा नवप्रवेशी नयाँ लगानीकर्ताको संख्या बढेकोले समेत कारोबार बढेको देखिन्छ ।

अर्कोतर्फ २०७६ चैतदेखि कोभिड–१९ महामारीका कारण लगातार २ वर्षसम्म लगानीका अन्य क्षेत्र करिब बन्द जस्तै अवस्थामा रह्यो । खुम्चिएका लगानीकर्ताले महामारीमा पनि घरमै बसेर लगानी गरी कमाउन सकिने देखेपछि सेयर बजारमा लगानी बढाए । के चिकित्सक, के पत्रकार, के शिक्षक के कलाकार हरेकले काेभिड कालमा सहज आम्दानीकाे माध्यम सेयर बजारलाई बनाउन थाले ।

यस अवस्थामा बैंक तथा वित्तीय संस्थाले समेत लगानीका अन्य क्षेत्र फेला नपादा सेयर धितोमा सीमाभन्दा बढी नै कर्जा प्रवाह गरे । अहिले कोभिड प्रभाव हरायो । लगानीका अन्य क्षेत्रहरु समेत खुल्न थाले । त्यसपछि खुम्चिएका लागानीकर्ता सेयर बजारबाट बारिह जान थाले । नवप्रवेशीहरुले घट्न थालेको बजारमा लगानी कम गर्न थाले । यसले पनि बजारलाई घटाउँदै ल्यायो ।

यही बीचमा २०७८ साउन २९ गते नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले एकाघरका सबै सदस्य, कम्पनी वा संस्थालाई एकल सेवाग्राही मानी एक व्यक्तिले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म मात्रै सेयर धितोमा ऋण लिन पाउने व्यवस्था गर्यो । त्यस्तै, एकाघरका एक सदस्यले बैंक तथा वित्तीय क्षेत्रका एकभन्दा बढी संस्थाबाट कुल १२ करोडभन्दा बढी सेयर धितो राखेर ऋण लिन नपाउने व्यवस्था गर्यो । यस्तो व्यवस्थाले भने जथाभावि ऋण लिएर सेयर बजारमा लगानी गरी कमाइरहेका लगानीकर्ताको कारोबारमा ब्रेक नै लगाइदियो । यसले सेयर बजार जस्तो पूँजी संकलन मात्र गर्ने बजार तथा अनुत्पादक क्षेत्रमा जति पनि ऋण लगानी गर्ने र चलखेल गर्नेको गतिविधि बन्द हुन गयो ।

घटिरहेको सेयर बजारमा नव प्रवेशीले वास्ता राख्न छोडे । युक्रेन र सुरूबीचकाे युद्धपछि पेट्राेलियम, खाने तेल, खाद्यान्नलगायतकाेकाे मूल्य आकाशियाे । रूसी मुद्राकाे तुलनामा डलर बलियाे बन्दै गयाे । विश्वकाे सबैजसाे मुद्राकाे तुलनामा डलरकाे भाउ उच्च भयाे । यसले महँगी बढायाे । त्यसले नेपालमा समेत अर्थतन्त्रमा शिथिलता ल्याएकाे छ । यसबाट सेयरमा हुने लगानी कम हुन पुग्याे । यी यस्ता सबै कारणले सेयर बजार निरन्तर खुम्चिँदै गएकाे छ ।

राष्ट्र बैंकमाथि चर्को दबाब
अनुत्पादक क्षेत्रमा असीमित रुपमा प्रवाह भइरहेको लगानीलाई रोकेर उत्पादक क्षेत्रमा लगानी बढाउने चाहना राखेको राष्ट्र बैंकले ल्याएको सेयर धितो कर्जाको ४/१२ को सीमालाई सेयर बजारका लागानीकर्ताले खारेज गर्न माग गरिरहेका छन् । उनीहरुले अर्थमन्त्री जनार्दन शर्मामार्फत राष्ट्र बैंकको गभर्नरमाथि सुरुदेखि नै चर्को दबाब दिँदै आएका छन् । यी यस्तै कारणले अर्थमन्त्रीले गभर्नरलाई निलम्बन गर्ने प्रस्ताव लगेर मन्त्रिपरिषद्बाट पारित समेत गराए । तर, सर्वोच्चले गभर्नरलाई पदमा फर्कायो । हाल प्रधानमन्त्री शेरबहादुर देउवाले समेत गर्भनरलाई फोन गरेर पूँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थात् ताेकेरै ४/१२ काे सीमा खुकुलाे बनाउन निर्देशन दिइरहेका छन् । लगानीयाेग्य पूँजी अभाव भएकाे वर्तमानमा प्रधानमन्त्रीकाे याे दबाबपूर्ण निर्देशन नै गलत छ ।

दबाब झेल्न नसकेर राष्ट्र बैंकले ल्याउने तयारी गरिरहेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा उक्त सेयर धिताे कर्जा सीमा खुकुलाे बनाउने अपेक्षा समेत ठूला लगानीकर्ताले गरिरहेका छन् । देशको बैंकिङ प्रणालीमा लगानी योग्य पूँजीको अभाव भइरहेको वर्तमान परिस्थितिमा सेयर बजारमा जति पनि ऋण लगानी गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले फेरि गर्ला भन्ने अनुमान भने गर्न सकिन्न ।

सेयर बजार जुवा हो ?
२०६५ सालतिरको कुरा हो । त्यसताका माओवादीको सरकार थियो । सरकारका अर्थमन्त्री थिए– डा. बाबुराम भट्टराई । सेयर बजारले ऐतिहासिक उचाइमा पुगेर १२ सय बिन्दुमा पुग्न लागेकाे थियाे । सेयर बजारमा लगानी कर्ताको संख्या समेत बढेर झण्डै १५ लाखको हाराहारीमा पुगेका थिए । तर पनि धेरैलाई सेयर बजार नेप्से थाहा थिएन । धितोपत्र बोर्डबारे कमैले जानकारी राख्थे । त्यसै पृष्ठभूमिमा तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले ‘सेयर बजार जुवाको घर हो यसलाई बन्द गर्नु पर्छ’ भन्ने आशयको अभिव्यक्ति दिए ।

अर्थमन्त्रीबाटै सेयर बजारप्रति उक्त नकारात्मक अभिव्यक्त आएपछि बजार तीव्र गतिमा आरालो लाग्न थाल्यो । पछि यस क्षेत्रका विज्ञ, अर्थक्षेत्रका जानहरुहरुले सेयर बजार पूँजी संकलन गर्ने माध्यम हो र उक्त पूँजीको सही सदुपयोग हुन सके त्यसले अर्थतन्त्रलाई सकारात्मक गति दिने अभिव्यक्ति तीव्र रुपमा राख्न थालेपछि बजार थामिन थालेको थियो । यद्यपी, सेयर बजार र माओवादीबीचको सम्बन्ध भने विपरीत हुन पुग्याे । अर्थात् जब माओवादी सत्तामा वा अर्थतन्त्र वा पूँजीबजारको नेतृत्व लिने ठाउँमा आउँथ्यो वा चुनाव जित्थ्याे, त्यसबेला बजार स्वाट्टै ओरालो लाग्थ्यो । डा. भट्टराईको अभिव्यक्तिको तुष निकै वर्ष रह्यो । पछि सबैले अभिव्यक्तिमा सुधार ल्याएपछि माओवादी सरकारमा आए पनि त्यसको प्रभाव सेयर बजारमा पर्न छोडेको थियो ।

अहिले पनि नेपालको सेयर बजारबारे सकारात्मक तथा नकारात्मक दुवै खालका टिप्पणी राजनीतिक नेतृत्व, नीतिनिर्माताबाट बेलाबेला हुने गरेको छ । तर, कुनै नेताको अभिव्यक्तिले उक्त अभिव्यक्ति आएकै दिनमा केही मनोवैज्ञानिक असर गरे पनि लगानीकर्ता सचेत भइसकेकोले बजारमा त्यति ठूलो असर देखिन छाडेकाे यो परिपक्व बजारको लक्षण हो । अहिले सेयर बजार घट्नुमा भने राष्ट्र बैंककाे नीतिगत व्यवस्थाले नै भूमिका खेलेको छ । यसलाई अस्वभाविक भन्न मिल्दैन । तर, तथ्यमा आधारित भएर विश्लेषण गर्ने हो भने सेयर बजार जुवा होइन । जुवामा हार्नेले सबै सम्पत्ती वा जायजेथा सक्न सक्छ । तर, सेयर बजारमा सबै सकिने गरी निमिट्यान्न भएर सम्पत्ती शून्य नै हुँदैन ।  आफ्नो सेयर भएको कम्पनीले राम्रो प्रतिफल दिए, बजारमा उक्त कम्पनीको सेयर मागको तुलनामा आपूर्ति कम भए मूल्य बढ्छ । प्रतिफल नदिए, नकारात्मक छवी बनाए वा सेयर कित्ताको मागको तुलनामा आपूर्ति बढी भए मूल्य बढ्छ ।

जुवा भन्दा सेयर फरक हाे तर नेपालमा केही ठूला चलखेलबाट नाफा कमाउन पल्केका लगानीकर्ताकाे दबदबा छ ।  उनीहरूकै सिन्डिकेटका कारण बजार परिपक्व भएर जुवाभन्दा फरक हुन पाएकाे छैन । साँचाे अर्थमा लगानीयाेग्य पूँजी संकलनकाे माध्यम बन्न सकिरहेकाे छैन । त्यसकारण कसैले केही बाेलेकै भरमा, कसैले केही हल्ला गरेकै भरमा सेयर बजारमा उतार चढाव देखिने गर्छ । नीतिगत व्यवस्था गरेर बजार प्राकृतिक रूपमा चल्न दिनु राम्राे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *