एसपीपीमा सहभागी नहुने सरकारको निर्णय
काठमाडौँ । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा सम्झौता नगर्ने भनेर अमेरिकालाई जानकारी गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उक्त सम्झौतामा सहभागी नहुन नेपाली सेना मार्फत अमेरिकालाई पत्र पठाइनेछ । यो निर्णयसँगै अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ ।
यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशनद दिएको थियो । संसद र सडकबाट समेत एक स्वरमा एसपीपी अस्वीकार गर्नुपर्ने आवाज उठेपछि मन्त्रिपरिषदको बैठकले एसपीपीमा सहभागी नहुने निर्णय लिएको हो ।
एसपीपीमा सहभागी हुन नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखेको थियो । नेपाली सेनाको अनुरोधमा सन् २०१९ मा स्वीकार गरिएको अमेरिकी दूतावासले जनाएको थियो । तर, २०१५ मा एसपीपीमा सहभागी हुन पत्राचार गर्दा र सन २०१९ मा स्वीकार गर्दाको अवस्था फेरिएको भन्दै राजनीतिक दलहरुले पनि विरोध गरेका थिए ।
स्वीकार गर्दा उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि तत्कालिन सरकारले होल्ड गरेर राखेको थियो । वर्तमान सरकारले सहभागी नहुने औपचारिक निर्णय लिएको हो ।