भारतकै दोस्रो धनी गौतम अडानीले ६ खर्ब भारु दान गर्ने

एजेन्सी । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा रहेका भारतीय उद्योगपति तथा एसियाका धनी व्यक्ति गौतम अडानी शुक्रबार ६० वर्ष पुगेका छन् । जन्मदिवसकाे यस अवसरमा उनले आफ्नो सम्पत्तिको ठूलो हिस्सा दान गर्ने घोषणा गरेका छन् । सन् १९९१ सम्म राष्ट्रियस्तरमा अडानीको नामै चिनिएको थिएन । मात्र २० वर्षमा उनले आफ्नो व्यवसाय देश र विश्वमा फैलाए ।

अडानी समूहका अध्यक्ष गौतमले आफ्नो सम्पत्तिमध्ये ७.७ बिलियन डलर अर्थात करिब ६० हजार करोड भारतीय रुपैयाँ (९ खर्ब ६० अर्ब नेपाली रुपैयाँ) सामाजिक कार्यमा दान गर्ने बताएका छन् । यो रकम भारतमा अहिलेसम्म दान गरिएको सबैभन्दा ठूलो रकम हो।

अडानीले आफ्नो जन्मदिन र बुबाको १०० औँ पुण्यतिथिमा यति ठूलो रकम दान गर्ने निर्णय गरेको छ । उनले विज्ञप्ति जारी गर्दै उक्त रकम स्वास्थ्य, शिक्षा र सीप विकासका काममा खर्च गरिने बताएका छन् ।

गौतम अडानी लामो समयदेखि विश्वका शीर्ष अर्बपतिहरूको सूचीमा आफूलाई राखिरहन सफल छन् । हाल उनी विश्वको आठौँ धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार यो समाचार लेख्दासम्म गौतम अडानीको सम्पत्ति ९२.७ बिलियन डलर थियो ।
उनले दान गर्ने घोषणा गरेको रकम उनको कुल सम्पत्तीको झण्डै ८ प्रतिशत हो ।

देशका सबैभन्दा ठूला दाताहरूको कुरा गर्दा विप्रोका अध्यक्ष अजीम प्रेमजीको नाम यस मामिलामा पहिलो नम्बरमा आउँछ । एक रिपोर्ट अनुसार प्रेमजीले आर्थिक वर्ष २०२१ मा ९ हजार ७ सय १३ करोड रुपैयाँ दान गरेका थिए । विप्रो प्रमुख विगत केही वर्षदेखि यस सूचीको शीर्षमा छन् ।

पछिल्लो तीन वर्षमा भारतका ठूला उद्योगपतिहरूको कुरा गर्दा, अजिम प्रेमजीले १८ हजार ७० करोड, शिव नाडरले २ हजार ८ सय ८४ करोड, मुकेश अम्बानीले १ हजार ४ सय ३७ करोड, कुमार मंगलम बिर्लाले ७ सय ३२ करोड र नन्दन निलेकणीले ५ सय ४६ करोड रुपैयाँ दान दिएका छन् ।

भारतका अन्य ठूला उद्योगपतिहरू सामाजिक कार्यमा चन्दा दिने काममा संलग्न छन् । अनिल अग्रवालले तीन वर्षको अवधिमा ४ सय ५८ करोड, हिन्दुजा समूहले ३ सय ५१ करोड, बजाज समूहले ३ सय ४१ करोड दान गरेका छन् ।

र गौतम अडानीले पछिल्लो ६० हजार करोड दानको घोषण गर्नुअघि नै ३ सय २ करोड भारु दान गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *