शिलालेख !

काठमाडाैँ । शिलालेखबारे तपाईं के सोच्नुहुन्छ ? अथवा तपाईंलाई यसबारे के थाहा छ ? तपाईंलाई लाग्दो हो शिलालेख एउटा सामान्य ढुङ्गा अनि त्यहाँ लेखिएका अक्षरहरू । शिलालेख यत्तिमात्रै हुँदै हाेइन, यत्तिले मात्रै शिलालेखबारे अर्थ्याउँदैन । यो निकै बृहत् र वैज्ञानिक छ ।

आउनुस् यसबारे केही चर्चा गरौँ ।

शिलालेख हिजोको इतिहाससँग त जोडिन्छ नै, त्योसँगै हिजोको मानव समाजको स्तर, वैज्ञानिकता र सत्यताबाट पनि अछुताे रहँदैन । यत्तिले मात्रै पनि शिलालेखबारे प्रष्ट्याउँदैन । यसमा कैयन् लिखित तथा अलिखित प्रमाण, दस्तावेज, कला-संस्कृतिहरू झल्किन्छन् । वास्तवमा शिलालेख इतिहासका स्राेतहरू हुन् । यसबाहेक ताम्रापत्र, वंशावली, मानिसले सामाजिकरूपमा मनाउँदै आएको चाडपर्व आदि इत्यादि; सबै-सबै इतिहाससँग जोडिने विषयहरू हुन् । तथापि पनि शिलालेख; जसले इतिहासमा पनि वास्तविकता कहन्छ । अझ यसरी भनाैँ—  शिलालेखले इतिहासहरूकाे महत्त्वलाई नै ‘लीड्’ गर्छ ।

अझ शुक्ष्म तवरले हेर्ने हो भने त यसले मानव, मानव समाज र राष्ट्रकै परिचय-पहिचानसमेत दिन्छ । यसले तत्कालीन समयमा भए/घटेका घटना तथा दुर्घटनाको परपुष्टि मात्रै गर्दैन, उक्त समयमा समाजको चित्र कस्तो थियो (?) मानवीय चेत कस्ताे थियाे; यी यावत् विषयहरूबारे विस्तृत ज्ञान एवम् जानकारी दिन्छ ।

शिलालेख कुनैपनि महत्त्वपूर्ण काम गरिएको प्रमाणस्वरुप स्थापना गर्ने गरिन्छ । उदाहरणका लागि कुनै ऐतिहासिक भाैतिक संरचनाहरूकाे निर्माण गर्दा, युद्ध विजयपश्चात्‌लगायतका अवस्थाहरूमा यसकाे स्थापना गरिन्छ । यसैले पनि यसले इतिहासकाे वास्तविक चित्र देखाउँदछ । फलस्वरुपः यस्ता शिलालेखले त्यस बखतको कालखण्ड वा तत्कालीन राज्य-प्रणालीका साथै विभिन्न ऐतिहासिक, संस्कृति र पुरातात्त्विक धरोहरहरूको स्थापना गरेको तिथि-मितिसमेतलाई चिनाउँदछ । यसरी हेर्ने हो भने हाम्रो पूरै इतिहास नै यही शिलालेखमा अडिएको छ भन्दा अनर्थ नहाेला ।

०००

तर पछिल्ला सरकारहरूले यसलाई वास्ता गरेको देखिँदैन । त्यसो हुँदा स्वाभाविकरूपमा यसको लोप हुनै नै भयाे । उसो त सरोकारवाला, नागरिक समाजहरूसँगै समाजको अग्रपङ्क्तिमा रहेकाहरूले पनि यसलाई त्यत्ति वास्ता गरेको देखिँदैन । बौद्धिक वर्ग होस् वा सर्वसाधारण; यसबारे नयाँ र फरक धारणा देखिँदैन अथवा जाेगाउनुपर्छ भन्ने भावना कसैमा पनि देखिँदैन । यसबारे फट्टाफुट्टरूपमा अध्ययन तथा अनुसन्धान नभएकाे भने हाेइनन्, हुन्छन् । तर त्याे सिर्फ ‘डलर खेती’ का निम्ति हुने गरेकाे तिताे सत्य हाम्रा वरपर छन् ।

जसै— यसकाे महत्त्व भने छुट्टै नै छ । यसले इतिहासलाई सजिलै सम्झन मात्रै हाेइन, तथ्यबारे पनि जानकारी दिन्छ । इतिहासकार तथा जानकारहरू भन्ने गर्छन्—’इतिहासबिनाकाे काेही हुँदैन, इतिहास बिर्सिए हुनुपर्ने स्वयम् हाेइँदैन ।’ अत: आखिर किन यी विषयहरू मानिसहरूको चासोभन्दा बाहिर छन् (?) सधैँ मठ-मन्दिर, धारा-कुवा, फलैँचा-पाटी, पौवा-टाँरलगायत; किन बिर्से मानिसहरूले ? यो सोचनीय विषय हो । यसबारे सरकार वा कुनै सामाजिक संस्थाले मात्रै साेचेर हुने कुरा भएन । यसबारे साझा धारणा बनाएर जुट्नु आवश्यक छ ।

०००

हुन त मानिसहरू आफ्नो स्वार्थका लागि कहिले अज्ञानताको निहुँमा त कहिले विकासको नाममा यस्ता चिजहरूको विनाशमा सक्रिय हुन्छन् । यसको उदाहरणस्वरुप पशुपतिका स्थायी गाईड एसोसिएसनका गाईड तथा अमरकान्तेश्वर यवा समूहका पूर्वअध्यक्ष राम आचार्य भन्छन्— ‘पहिले यता कयौँ जात्रा र शिलालेख थिए । खै अहिले कता गए अच्चमै लाग्छ । आँखै अगाडि २/३ वटा हराएका छन् । यो गरुयोजना र पुनः निर्माणको नाममा धेरै संस्कार-संस्कृतिसँगै कैयन् ऐतिहासिक दस्तावेज मासिएको छ । अझ ७२ सालको पुनःनिर्माणले त यस पशुपति ठाँउको रुपरङ्ग नै बदलिएको छ । अचेल आफैँलाई यही ठाँउमा जन्मेर, हुर्किएको जस्तै लाग्दैन ।’

पशुपतिको दक्षिण ढोकाको सिँढीमा बसेर गफिँदै बाल्यकाल सम्झिँदै आचार्य भन्छन्, ‘पहिले यता घरहरू थिए नि । अझ भन्ने हो भने बस्ती नै थियो भन्दा नि हुन्छ । तर अहिले जस्ताको टहरोभन्दा केही छैन । जसरी पुरातात्त्विक महत्त्वका घरहरू मासिए, उसैगरी यस्ता शिलालेखहरू पनि मासिए ।’ पशुपतिको गरुयोजनाको प्रभावका कारण त्यस ठाँउबाट विस्थापित भएसँगै त्यहाँ मनाइने जात्रा पर्व शिलालेखसमेत हराउँदै गएको उनको अनुभव छ ।

अझ भुकम्पपछि त झन् यसको पूरै अस्तित्व नै हराउँदै गएको भान हुन्छ । ‘यो वर्ल्ड हेरिटेज साईट हो । पुनःनिर्माण हुँदा पहिलेको जस्तै बनाउन पर्ने हो तर त्यस्तो भएको छैन । अनि वास्ता नि कसैलाई छैन ।’ शिलालेख कति हराए भन्ने रेकर्ड होला नि विकास कोषसँग (?) भन्ने प्रश्नमा उनले भने, ‘हुनसक्छ, हामीलाई नि थाहा छैन । सायद नहुन नि सक्छ । जे होस् यहाँबाट धेरै शिलालेखहरू हराएका छन् ।’

आचार्यका शब्दहरू भन्छन्— ‘आउँदो पुस्ताले हामीले बाँचेकाे नेपाल देख्न पाउँदैनन् ।’ जसको सिधा अर्थ हाम्रो मौलिक परम्परा र ठेट परिचय हराउँदै गएको छ भन्ने हुन्छ । सांस्कृतिक सम्पदा अभियन्ता यादवलाल कायस्थ याे विचारलाई नकार्न नसकिने बताउँछन् । उनी यस्ता कुराहरू नष्ट गर्नुमा २ कारण देख्छन् । (१) इतिहास मेटाउनका लागि र (२) संस्कृतिमाथि हस्तक्षेप गर्नु । उनी थप प्रष्ट्याउँछन्— ‘हाम्रा इतिहासहरू जे जति छन्, त्यसका प्रमाणहरू शिलालेखहरूले दिने गरेका छन् । यस्ता शिलालेखहरू फुटाइदिए, लुकाइदिए वा हराइदिए भने सम्बन्धित जाति वा समुदायको इतिहास नै मेटिने हुँदा एक समुदायले अर्काे समुदायमाथिसजिलै प्रबुद्ध जमाउन सक्ने हुनाले सो काम इतिहास देखिनै हुँदै आएको हो । त्यस्तै शिलालेखहरूमा जति पनि लिपिहरू पाइएका छन् । ती सबैमा सांस्कृतिक महत्त्व बोकेका लिपिहरू हुने गरेको र त्यसमार्फत् तत्कालीन समयको कला, संस्कृति र भाषासमेत झल्काउने गरेको हुन्छ ।’

अब तपाईंहरूकाे विचार; यस्ता माैलिक र पुरातात्त्विक महत्त्व बाेकेकाे स्थान तथा वस्तुहरूकाे संरक्षण गर्ने वा विनाश गर्ने । कुरा यत्ति—यस्ता सांस्कृतिक सम्पदा तथा वस्तुहरूकाे संरक्षण मानव समाजकाे पनि संरक्षण हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *