हैजाप्रति गम्भीर बन्न सरकारलाई संसदीय समितिको आग्रह
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![हैजाप्रति गम्भीर बन्न सरकारलाई संसदीय समितिको आग्रह](https://www.makalukhabar.com/wp-content/uploads/2021/11/haija.png)
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।
समिति सभापति जयपुरी घर्तीले निणएय सुनाइन्, ‘बर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए । अहिले पनि बढ्न सक्ने खतरा आउन सक्छ । त्यसकारण यो विषयलाई सिरियसली लिन आग्रह गर्ने ।’
समितिमा औषधिको मूल्य वृद्धि हुन लागेको विषयमा पनि छलफल भएको थियो । यस विषयमा समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।
‘गुणस्तरहीन औषधि खरिद नर्गन, उचित म”ल्य समायोजन गर्नुपर्ने, डेट एक्पाएर भएका औषधि खरिद नगर्ने’ समितिले सरकारलाई गरेको ध्यानाकर्षणमा उल्लेख छ ।
नेपालमै औषधि उत्पादनमा जोड दिइनुपर्नेमा सांसदहरुको जोड थियो । यसलाई पनि समितिले निर्णयमा समेटेको छ । निर्णयमा भनिएको छ, ‘विदेशबाट भन्दा देशमा उत्पादन भएको औषधिहरु खरिद गर्नमा विशेष ध्यान दिने ।’
समिति सदस्य नविना लामाले ब्राण्डको नाममा गुणस्तरहीन औषधिको प्रयोग भइरहेको भनी सरकारको आलोचना गरेकी थिइन् । यही भाषा निर्णयमा लेखिनुपर्ने उनको जिकिर थियो ।
सांसद लामालाई रोक्दै समिति सभापति घर्तीले भनिन्, ‘ब्राण्डको नाममा अरु पनि भइरहेको हुन सक्छ । अहिलेलाई गुणस्तर छ कि छैन ? हेर्न र गुणस्तरीय औषधि प्रयोग गर्न सरकारलाई भनौँ ।’
सभापतिको आग्रहपछि सांसद लामा मौन रहिन् । सोहीअनुसार समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)