एमाले गण्डकी संसदीय दलले माग्यो सरकारको राजीनामा
पोखरा । नेकपा एमाले संसदीय दलले गण्डकी सरकारको राजीनामा मागेको छ । बुधबार पत्रकार सम्मेलन गरी सरकारले बजेटमाथि निकास दिन नसकेको आरोप लगाउँदै राजीनामा मागेको हो ।
दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलबीचकाे विवादले बजेट छलफल रोक्न नमिल्ने बताए । ‘सरकार चलाएको कि गुच्चा खेलेको ? सरकार चलाउने त विधि हुन्छ नि,’ उनले भने, ‘सरकारसँग अलिकति नैतिकता छ भने राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन मार्ग प्रशस्त गर्नुपर्थ्यो ।’
कांग्रेस र माओवादीबीचकाे विवादले बजेट छलफल रोक्न नमिल्ने उनको भनाइ छ । ‘मुख्यमन्त्रीले संसद् रोक्न मिल्दैन । दलको विवाद मुख्यमन्त्रीको समस्या हो, संसदकाे होइन,’ उनले अघि भने, ‘कि मुख्यमन्त्रीलेअर्थमन्त्री हटाउन सक्नुपर्छ । कि मुख्यमन्त्री आफैले राजीनामा दिनुपर्छ ।’
गुरुङले बजेट छलफल सदनमा नगरी अर्थ तथा विकास समितिमा गर्न लागेको आरोप लगाए । ‘सत्ता गठबन्धनको झगडाका कारण बजेट अर्थ तथा विकास समितिमा छलफल गर्नु गलत हो,’ उनले थपे, ‘यसमा हाम्रो दलको गम्भीर विरोध छ । संसदीय प्रणालीमा नौटङ्की गर्न मिल्दैन । तुरुन्त सदनमा छलफल सुरु होस् ।’ प्रदेशमा असार १ गते बजेट पेश गरेपछि अहिलेसम्म संसद् स्थगित छ । अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा नराखेपछि सरकारले नै बजेट छलफल रोकेको हो ।