जनताकाे उठिबास लगाउँदै वित्तीय संस्था, सरकार मूकदर्शक !

काठमाडाैँ । असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनेन्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तीय संस्थाले सञ्चालकले थर्काउने गरेका छन् । असार मसान्तभित्र बाँकी रहेको साहु, ब्याज र हर्जाना चुक्ता नगरेको खण्डमा धितो लिलाम गर्दिने, कालोसूचीमा राखिदिनेलगायतका धम्की दिएको ऋणीहरू बताउँछन् । घरको गेटमा ल्याएर चिठी टाँसिदिने भन्दै थर्काउने उनीहरूको भनाइ छ । कतिपयले घरमा गुण्डा पठाउने चेतावनीसमेत दिएको पाइन्छ । यता, महिनामा किस्ता तिरिरहेका कर्जावाललाई समेत वित्तीय संस्थाले दबाब दिन थालेको छ । धितोको मूल्य ह्वात्तै घटेपछि कर्जामा वित्तीय संस्थाले कडाइ गरेको छ ।

कि कर्जा घटाउनु कि त हामी लिलाम गरिदिन्छाैँ भनेर बैंक, फाइनेन्सले कर्जा खानेलाई धम्काइरहेको छ । कि त आफ्नो कर्जाचुक्ता गरेर अर्को बैंकमा नामसारी गर्न उनीहरूले दबाब दिएको पाइन्छ । ९५ प्रतिशत व्यक्तिले आफ्नो जायजेथा बैंक र सहकारीको नाममा राखेर धितो लिएको छ । हिजो धितो राखेर कर्जा दिने बेलामा वित्तीय संस्थाले पाँचदेखि २५ वर्षसम्मको अवधि तोकिदियो । तर, कर्जा लिएको वर्षदिन नबित्दै ऋणीहरूलाई वित्तीय संस्थाले प्याकप्याकी बनाएको छ । बारम्बार कर्जा तिर्न वा धितो अन्त सार्न ऋणीलाई बाध्य बनाइएको छ । ऋणीहरू यतिखेर दुविधामा परेका छन् । ऋण तिरौं पैसा छैन । अन्त लैजाऔं कुनै बैंकले कर्जा दिदैन । नयाँ बैंकमा करोडको धितो राखेर ४० लाखमा राखेर कर्जा पास गरेपनि पूरानो बैंकले सार्न दिँदैन ।

पुराना बैंकको दाउ नै धितो पचाउनका निम्ति ऋणीलाई अर्को बैंकमा कर्जा सार्न पनि दिँदैन । उता कुरा मिलाएर आएपनि यताले भड्काइसकेको हुन्छ । बैंक र सहकारीको योजना करोडको माललाई ३० लाख दिने । पछि सम्पूर्ण धितो नै लिलाम गरिदिने । कर्जा लिनेलाई सडकमा पुर्‍याउने । वित्तीय संस्थाका कारण धेरै ऋणीहरू विस्थापित भइसकेका छन् । कतिपयलाई त आत्महत्या गर्न बाध्य बनाइएको छ । कर्जा तिर्न नसकेर आफ्नो गाँउघर नै छाडेर भाग्ने पनि उत्तिकै छ । बैंकबाट हरेक जनता पीडित छन् । किन कि उनीहरूले खुलेआम ठगिरहेका छन् तर सरकार मूकदर्शक बनेर हेरिरहेको छ । दिउँसै जनता ठग्दा पनि सरकार किन हात बाँधेर बसेको छ ? त्यस्ता ठग संस्थाको दर्ता किन खारेज गर्दैन सरकार ? बैंक र सहकारीले गर्दा कति मानसिक रोगबाट पीडित छन् ।

घरमा जहिले पनि झगडा हुन त स्वाभाविकै भइसक्यो । बैंककै कारणले कति दम्पतीको छोडपत्रसमेत भएको घटनाहरू हाम्रो समाजमा छ । हिजो करोडको सम्पत्ति राखेर आधा रकम पनि दिएन । तर, तीन किस्ता नतिर्नेबित्तिकै धितो नै खाइदिँदा करोडपति पनि रोडपति बनेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले जनता ठग भनेर लाइसेन्स दिएको हो । बैंक र सहकारीको यस्तो चर्तिकलाका कारण जनतामा अहिले चेतनाको विकास भएको छ । एउटाको पैसा अर्कोलाई ऋण दिने अनि घरखेत नै उडाइदिने । बैंकले ऋण दिएको रकम उसको खल्तीको हो । बीचमा बसेर पुलको भूमिका निर्वाह गरेजस्तै देखाएर जथाभावी लुट्न मिल्छ ? बचत गर्ने र ऋण लिने दुवैलाई बैंक र सहकारीले ठगेको छ । बचत गर्नेलाई कम ब्याज दिने तर त्यही पैसा महँगाे ब्याजमा कर्जा लगानी गर्ने । त्यो पनि सेवाशुल्क र घुस लिएर ।

वित्तीय संस्थाको व्यवहारका कारण पछिल्लो समय रकम जम्मा गर्नेको सङ्ख्या ह्वात्तै घटेको छ । हाम्रो पैसा लगानी गरेर अर्कोलाई ठगिरहेको छ भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन् । तर, कतिपय बैंक र सहकारीले अहिले पनि महँगाे ब्याज दिन्छु भनेर जनतालाई प्रलोभन देखाइरहेको पाइन्छ । अब त्यस्ता विज्ञापन बजाएर जनता फसाउने दिन गइसकेका छन् । किन कि जनताहरू आफैँ पनि वित्तीय संस्थाको विरोधमा उत्रिएका छन् । हिजोको दिनमा विज्ञापन गरेर लुटेपनि आजको अवस्था त्यस्तो छैन । साक्षरता दरमा मुलुक धेरै नै अघि बढिसकेको छ । दिनमा दुई गुणा र रातमा चार गुणा गरेर ठगीधन्दा मौलाउदै गएपछि सञ्चारमाध्यमहरू पनि धमाधम कलम चलाउँदै छन् । विज्ञापन आफ्नो ठाँउमा भएपनि जनताप्रति उनीहरू जिम्मेवार भएका छन् । जसले जनतामा चेतना फैलाइदिएको छ । अझै पनि थप कलम चलाउने हो भने अरु सिधासाधी जनता लुटिनबाट बच्छन् ।

बैंक र सहकारीका कारण करोडौं नेपाली सडकमा ओइरिने दिन आइसकेको छ । उनीहरूको घरबास नै अब सडकमा हुन्छ । यता, वित्तीय संस्थाहरूको पनि भागाभाग हुन धेरै बेर लाग्दैन् । यसको जिम्मेवार अब कसले लिन्छ ? न राष्ट्र बैंकले लिन्छन् सहकारी विभागले । अर्थ मन्त्रालयले पनि यो विषयमा चासो देखाएको छैन । दैनिक दर्जनौं सहकारीहरू बन्द भइरहेका छन् । अहिले बैंकको अवस्था यति नाजुक छ कि खातामा भएको पाँच लाख रुपैयाँ पनि दिन सक्दैन । यता, सहकारीले त एक लाखको चेक पनि साट्न छोडेको छ । बैंकका सिईयो, अध्यक्ष र चेयरम्यान भेट्न हम्मेहम्मे छ । उनीहरू आफ्नो कार्यकक्षमा हुँदैनन् । गार्ड र अन्य कर्मचारी भएपनि जिम्मेवार व्यक्ति भने गायब छन् । आफू कार्यालय नआएपनि बजार प्रतिनिधि खटाएर पैसा उठाउनचाहिँ छोडेका छैनन् । बुझ्नेले त पैसा राख्दैन् तर अहिलेको अवस्थाबारे ज्ञान नभएकालाई उनीहरूले मुर्गा बनाइरहेका छन् ।

बैंक र सहकारी यसरी धराशायी हुनुको मुख्य कारण विश्वासनियता गुमाउनु हो । बैंकले १५ प्रतिशत र सहकारीले १९ प्रतिशत ब्याज दिन्छु भनेपनि जनताले अनदेखा गरे । ब्याजको लोभमा परेर साहु नै डुब्ने डर जनतामा अझै पनि छ । जसले गर्दा बैंकसँग कर्जा लगानी गर्ने पैसा छैन । अहिले पनि कर्जा लगानी ठप्प छ । कर्जा लगानी गर्दा सेवाशुल्क, घुस आउथ्यो र पो मोजमस्ती गरिरहेको थए । अहिले वित्तीय संस्थाले घरभाडासमेत तिर्न सकेका छैनन् । तीन महिनादेखि भाडा तिर्न नसकेको वित्तीय संस्था पनि छन् । कर्मचारीहरू पनि तलबविहीन बनेका छन् । यस्तो तरलता बढ्दा पनि वित्तीय संस्थाले यो कुरा लुकाउन खोजिरहेको छ । सरकार र जनता दुवैले सुइँको पनि नपाउन् भनेर उनीहरूले गोपनियता कायम गर्न खोजिरहेका छन् । सरकारी पक्ष वित्तीय संस्थाको अहिलेको अवस्थाबारे अनभिज्ञ छ । किन कि उनीहरू अनुगमन गर्न जाँदैनन् । सरकारलाई नै थाहा नभएको कुरो जनताले के पत्तो पाउन् ।

न जनताले डकुमेण्ट हेर्ने । जनताले थाहा पाउँछन् भनेर उनीहरू जतिसक्दो आफ्नो कमजोरी ढाक्न खोज्छन् । किराना पसलमा जतिपनि व्यापार छैन, वित्तीय संस्थामा । किरानामा फाट्टफुट्ट भएपनि सेवाग्राही त आउँछन् । बिहान आउने अफिस खोल्ने बेलुका बन्द गर्ने हिँड्ने । कर्मचारीहरू नै कामविहीन बनिसकेका छन् । डिपोजिट राख्न कोही आउँदैनन् । कर्जा दिन पैसा छैन । वित्तीय संस्थाको प्रमुख काम यही त हो । आफ्नो पैसा वित्तीय संस्थामा लगेर राखेको छ भनेर ढुक्क भएर नबसौं । जनता आफैँ पनि चनाखो हुने बला भइसकेको छ । भुरादेखि बुढासम्मको खाता खोल्ने भनेर वित्तीय संस्थाले नयाँनयाँ जनता ठग्ने योजना बाहिर ल्याइरहेको छ ।

पछिल्लो समय नेपालमा व्यापार घाटा बढ्दो छ । कोरोनाका कारण व्यापार ठप्प भएको छ । जसको कारण घरजग्गा, सेयर र गाडीको खरिदबिक्री स्वाटै घट्यो । दलालहरूको पछि लागेर लगानी गर्दा सबै चुलुम्मै डुबे । यी क्षेत्रमा लगानी गर्ने डुब्नेबित्तिकै वित्तीय संस्था धराशायी बन्यो । बैंक र सहकारीसँगै जनताको उठीबास हुने भो । सरकारले दलालीलाई नियन्त्रण गर्न नसक्दा सबै तहसनहस बन्यो । बैंक र सहकारीलाई अब सरकारले पनि बचाउन सक्दैन । कर्जा खाने व्यक्ति डुब्नेबित्तिकै बैंकफाइनेन्स पनि सिद्धिने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *