टिकटकबारे टिकाको स्पष्टीकरण- ‘श्रीमान्सँगकाे भिडिओमा माननीयको टाउको जोडेर चरित्रहत्या गरियो’
सुर्खेत । नेकपा (एमाले) सल्यान जिल्ला नेतृ टिका वलीले आफ्ना श्रीमानसँग बनाइएको भिडियो सम्पादन गरेर चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् । भिडियो सार्वजनिक भएको तेस्रो दिन आज सल्यानमा वलीले पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् ।
कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपा एमाले सचेतक गुलाबजंग शाहसँग जोडिएर सल्यानको बागचौर नगरपालिका-१२ सल्यानकी वलीको टिकटक भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।
पत्रकार सम्मेलनमा वलीले भिडिओमा देखिएको आफू नै भएको बताइन् । तर, साथमा भएको पुरुष शाह नभई आफ्नो श्रीमान् भएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘केही वर्षअघि श्रीमानसँग बनाइएको उक्त भिडिओ हाल आएर माननीयको अनुहार जोडेर केही व्यक्तिले मेरो चरित्र हत्या गर्न खोजियो छ ।’
यो पनि : भाइरल भएको अन्तरंग टिकटक बारे शाहले भने- प्रविधिको दुरुपयोग भयो
चरित्र हत्यामा संलग्न व्यक्तिका बारेमा भने केही खुलाउन चाहिनन् । यद्यपि उनेले भिडियो सार्वजनिक भएको दिन फेसबुकमा चरित्र हत्यामा संलग्न व्यक्तिलाई चिनेको बताएकी थिइन् । ‘म राजनीतिमा उदाउँदै गरेको मान्छे हुँ । म अगाडि बढेको हेर्न नचाहनेहरूले भिडियोको दुरुपयोग गरे ।’ वलीले भनिन्, ‘मलाई सिद्ध्याउने गरी मेरो चरित्र हत्यामा संलग्नकाविरुद्ध साइबर अपराधको मुद्दा अगाडि बढाउ छु ।’
यस्तै, वलीसँग जोडिएको भिडियो सामाग्री बाहिरिएपछि सचेतक शाहले सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै भिडिओमा देखिएको व्यक्ति आफू नभएको भन्दै आफूमाथि गम्भीर अन्याय भएको बताएका थिए ।