स्वास्थ्य क्षेत्र सुधार्न के गर्दैछ प्रदेश सरकार ?
विराटनगर । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई अघि बढाएको बताएका छन् ।
विराटनगरमा प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले आयोजना गरेको स्वास्थ्य कार्यक्रमको अवस्थाको जानकारी तथा भावी कार्ययोजना सम्बन्धी प्रदेश स्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले नागरिक नागरिक निःशुल्क स्वास्थ्य सेवाबाट वञ्चित रहेको बताए ।
प्रदेश १ को सुगम जिल्ला भनेर चिनिएको झापा, मोरङ र सुनसरी जिल्ला भए पनि यिनै जिल्लाका नागरिकले पनि अझै निःशुल्क स्वास्थ्य सेवा पाउन नसकेको मन्त्री यादवले सुनाए । ‘झापा, मोरङ सुनसरीका केही जिल्लाहरू सदरमुकाम पुग्नका लागि उपचारको लागि दिनभरि हिँड्नुपर्ने अवस्था छ’, मन्त्री यादवले भने, ‘त्यस्ता ठाउँमा स्वास्थ्य सेवा पुर्याउन र स्वास्थ्य क्षेत्रको स्तरोन्नतिका लागि हामी अग्रसर भएर लागेका छौँ ।’
आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरी मेची अस्पताललाई प्रदेश स्तरीय अस्पतालको रूपमा विकास गरिएको बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि स्वास्थ्य चौकी, जिल्ला अस्पतालसँगै आयुर्वेद अस्पताललाई व्यवस्थित गर्ने र नागरिकलाई दिइने सेवालाई प्रभावकारी बनाई निःशुल्क बनाउने गरी सरकारले कामलाई अघि बढाएको बताए । उनले मन्त्रालयले पत्रकार र मन्त्रालय बिचको समन्वय बढाउन सूचनालाई प्रभावकारी बनाइने पनि जनाए ।
स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. अनुज भट्टचनले स्वास्थ्य क्षेत्रका समस्या पत्रकारले उठाउनुपर्ने विषय र स्वास्थ्य क्षेत्रमा सुधारको लागि मन्त्रालयले थालेको कामलाई नागरिकसम्म लग्न सहयोग पुग्ने बताए । कोभिड-१९ को महामारीपछि स्वास्थ्य क्षेत्रको महत्त्व बढेर गएको बताएका प्रदेश सचिव भट्टचनले कोभिड महामारीमा मिडियाले खेलेको भूमिकाको प्रशंसा गरे ।
स्वास्थ्य क्षेत्रको कलम चलाउने विषय नागरिकसँग जोडिने भएकोले स्वास्थ्य नीति, स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक भूमिका खेल्न उनले आग्रह गरे । कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयबेन्द्र यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले भेगमा रहेको स्वास्थ्य क्षेत्र प्राविधिक विषयलाई पत्रकारले महत्त्व दिनुपर्ने बताए ।