मनमोहन चिनाउन ज्येष्ठ नागरिकको देशदर्शन

विराटनगर । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले ज्येष्ठ नागरिकको संरक्षणको कुरा स्व. मनमोहन अधिकारीले सुरु गर्नु भएको दोहोर्‍याएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपालमा निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री आएपछि मात्र ज्येष्ठ नागरिकलाई भत्ता र उहाँहरूको संरक्षणको कुरा आएको बताए ।

देश दर्शनबाट फर्किएका ज्येष्ठ नागरिकलाई बिदाइ तथा सम्मान गर्दै पोखरेलले स्व। मनमोहन अधिकारीलाई सम्झिएका हुन् ।

देशका विभिन्न जिल्ला पुगेर फर्किएका ज्येष्ठ नागरिकले सातौँ ज्येष्ठ नागरिक देश दर्शन उत्साहजनक रहेको बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ३२ जना ज्येष्ठ नागरिक देश दर्शनमा गएका थिए। तीन दिने ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रममा सहभागी भएका जिवेन्द्रराज घिमिरेले सातौँ ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रमले मनमोहनको योगदानलाई चिनाउनको लागि महत्त्वपूर्ण रहेको बताए ।

‘चितवनमा पुगेर सौराहाका गैँडालाई भैँसी सुमसुम्याएको जस्तै सुमसुम्याउन पाइयो’, उनले भने, ‘रहर पुगुन्जेल बाघ पनि हेर्न पाइयो ।’

ज्येष्ठ नागरिकका लागि जसरी स्व।मनमोहन अधिकारीको योगदान रहेको थियो त्यस्तै उहाँले खेलेको योगदानलाई प्रचार प्रसारको लागि ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रमले भूमिका खेलेको ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रममा टिम लिडर सत्यनारायण चौधरीले बताए ।

तीन दिनसम्म चलेको देश दर्शन नवलपरासी, चितवन, धनुषा, महोत्तरी हुँदै सुनसरीको वराहक्षेत्र हुँदै विराटनगर आएर समापन भएको थियो । ज्येष्ठ नागरिकहरू ३२ जना सहित अन्य व्यवस्थापन टोली गरेर ४२ जनाको सहभागिता रहेको थियो ।

सोही अवसरमा जेष्ठ नागरिक देश दर्शनमा गएका ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *