यी हुन प्रदेश १ का हब अस्पताल !

विराटनगर । प्रदेश १ मा ३ वटा हब अस्पतालको रूपमा विकास गरिएको छ । संघीय सरकार अन्तरगतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले तीन अस्पताललाई हब अस्पतालको रूपमा विकास गरिएको जानकारी दिइएको हो ।

प्रदेश स्तरीय हब तथा स्याटेलाईट अस्पताल विराटनगरमा आयोजना गरिएको नेटवर्क ओरेन्टेशन तथा अन्तरक्रियामा जिल्ला विराटनगरको कोसी अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची अस्पताललाई हब अस्पतालको रूपमा अघि सारिएको हो । तीन वटा हब अस्पतालको मातहतमा स्याटेलाईट अस्पतालहरू रहने पनि जानकारी दिइएको छ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलले ५० बेडभन्दा माथिका निजी, सरकारी तथा मेडिकल कलेजलाई स्याटलाइट अस्पतालको रूपमा सरकारले व्यवस्था गरेको बताए । प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले हब र स्याटेलाईट अस्पताल बिचको सम्बन्ध अत्यन्त नङ र मासुको जस्तो भएको बताए ।

कोभिडको समयमा निजी र सरकारी अस्पतालबाट भएको योगदान अत्यन्त ठुलो रहेको स्मरण गर्दै यादवले कोभिडपछि प्रदेश १ मा स्वास्थ्य हेर्ने मात्र मन्त्रालय गठन भएकोले अब यसको भरपुर सहयोग सहयोग लिन उनले आग्रह गरे । ‘स्वास्थ्य र शिक्षाको हब विराटनगर हो त्यसको क्रेडिट पाउने काम तपाईँहरू अस्पताल सञ्चालकहरूले गर्नु भएको छ’, उनले भने, ‘अब अस्पतालले व्यापार गर्न भन्दा पनि निजी र सरकारी अस्पतालका बिचमा समन्वय गरेर जानु पर्नेछ ।’

अस्पतालहरूले दिने सेवा सुविधाबाट नागरिकले अकालमा मृत्युवरण गर्नुपरेको स्मरण गर्दै यादवले भने, ‘जहदाका एक व्यक्ति आफ्ना ५ महिनाको बच्चा लिएर कोसी अस्पताल राती १० बजे गएका थिए । त्यहाँ उपचारको लागि भर्ना नलिएपछि नोबेलमा गए । नोबेलको आकस्मिक कक्षमा पैसा नभएको भनेर ती बच्चालाई त्यहाँ पनि भर्ना लिएन । नोबेलबाट कोसीमा ल्याउँदासम्म बच्चाको मृत्यु भएको घटनाले म आफैँलाई मर्माहत बनाएको छ।’

अस्पतालका कर्मचारीबाट गरिने व्यवहारले बिरामी र उनका आफन्तले ठुलो राहत पाउन सक्ने भएकोले अस्पतालमा बिरामीप्रति गरिने व्यवहारमा सुधार ल्याउन उनले आग्रह गरे । निजी अस्पतालहरू एकले अर्कोको प्रतिस्पर्धी बन्ने भन्दा पनि समन्वय गर्ने खालको व्यवहार गर्न उनले आग्रह गरे । ‘अस्पतालहरू औषधी मात्र खुवाउने ठाउँ भएका छन्’, उनले भने, ‘औषधी मात्र खुवाएर हुँदैन, बिरामीको सही परीक्षण गर्न सक्नु पर्छ, त्यसो हुँदा थोरै औषधीले पनि धेरै काम गर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले हब र स्याटलाइट अस्पतालसँग सम्बन्धित पहिलो अन्तरक्रिया भएकोले छलफलबाट एउटा निष्कर्षमा पुग्न जरुरी रहेको बताए ।

भुइँचालो र कोभिडको। समयमा जस्तो स्वास्थ्य क्षेत्र अस्तव्यस्त नहोस् भन्नका लागि पनि यो हब र स्याटेलाईट अस्पतालको अवधारणा आएको स्पष्ट पारे । १५ बेडको स्थानीय तहले २०० बेडसम्मको प्रदेश र त्यो भन्दा माथिल्लो अनुमति दिने निकाय संघीय सरकार भएकोले यसबाट कोही पन्छिन नहुने बताए । उनले कोसी अस्पताल र जिल्ला प्रशासन कार्यालय बिचको समन्वयको कामलाई अत्यन्तै सराहनीय रूपमा लिएको बताए ।

प्रदेश १ सरकारका स्वास्थ्य सचिव डा अनुज भट्टचनले आपत् विपत्को व्यवस्थापनमा महत्त्वपूर्ण रूपमा काम गर्नु पर्ने भएकोले आज मात्र हैन भोलि आउने महामारीलाई पनि समन्वयात्मक कामले सहयोग पुग्ने बताए ।

पूर्व तयारी नहुँदा आवश्यक परेको बेला अस्तव्यस्त हुने गरेको स्मरण गराउँदै भएको जनशक्तिले पनि नहतारिने हो भने समस्या नहुने बताए । उनले हब अस्पतालको रूपमा कोसी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पताललाई अब अस्पतालको रूपमा विकास गरिएको जानकारी दिए ।

कार्यक्रममा सरकारी तथा निजी अस्पतालका प्रमुखहरूलाई अनिवार्य बोलाइएको भए पनि निजी अस्पताल सञ्चालकहरू केही मात्र प्रमुख आए पनि ठुला भनिएका अस्पतालले प्रतिनिधि पठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *