प्रदेश नं. १ काे नाम ‘लिम्बुवान् किराँत प्रदेश’ नराखे दीर्घकालीन आन्दाेलन गर्ने चेतावनी (विज्ञप्तिसहित)

काठमाडाैँ । लिम्बुवान् किराँत संयुक्त संघर्ष समितिले प्रदेश नं. १ काे नाम ‘लिम्बुवान् किराँत प्रदेश’ राख्न माग गरेकाे छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले भनेकाे छ, ‘यदि मागलाई नजरअन्दाज गर्दै कोशी, सगरमाथाजस्ता पहिचानविराेधी प्रदेशका नाम राखिए हामी दीर्घकालीनरूपमा आन्दोलनमा होमिन बाध्य हुने र यसले नेपाली जनताले दिगो शान्ति र अमनचयनमा समेत असर पार्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौँ ।’

समितिका ९ घटकहरूले जारी गरेकाे संयुक्त विज्ञप्तिमा भनिएकाे छ— ‘ऐतिहासिक लिम्बुवान्, किराँत आन्दाेलन, मधेश आन्दाेलन, आदिवासी जनजाति आन्दाेलनकाे २००७ सालकाे क्रान्ति, निरङ्कुश, पञ्चायतविरुद्ध आन्दाेलन, १० वर्षे जनयुद्ध, २०६२/६३ काे जनआन्दाेलनकाे आदेशअनुसार ऐतिहासिक पृष्ठभूमिकाे आधारमा पल्लाे किराँत लिम्बुवान् र माझकिराँतकाे रैथाने आदिवासीले ढालफात गरेर निर्माण गरेर भूगाेल १४ जिल्लाकाे प्रदेश नं. १ लाई प्रदेश सभाबाट संयुक्त पहिचानकाे आधारमा लिम्बुवान् किराँत प्रदेश नामाङ्कनका लागि हाम्राे आन्दाेलन जारी रहेकाे कुरा जानकारी गराउँछाैँ ।’

विज्ञप्ति जारी गर्ने घटकहरूमा नेकपा [माओवादी केन्द्र] सम्बद्ध लिम्बुवान् राष्ट्रिय मुक्ति माेर्चा, जनता समाजवादी पार्टी [जसपा] लिम्बुवान् राष्ट्रिय समिति, सङ्घीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च-सङ्घीय लिम्बुवान् मञ्च, नेपाली कांग्रेससम्बद्ध लिम्बुहरूकाे माेर्चा, नेकपा एमाले लाेकतान्त्रिक लिम्बु सङ्घ, किराँत याक्थुङ चुम्लुङ, लिम्बु विद्यार्थी मञ्च, याक्थुङ लेखक सङ्घ, याक्थुङ युवा केन्द्रलगायत छन् ।

प्रदेशकाे नाम के राख्ने भन्नेबारे प्रदेश सभामा रहेका दलहरूबीच छलफल शुरू भएकाे छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले यही संसदीय कार्यकालमा नाम टुङ्ग्याउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *