जीर्ण त्रिचन्द्र : घाटा विद्यार्थीलाई मात्रै कि देशलाई नै ?
काठमाडाैँ । ‘क्याम्पसको भवन जीर्ण भन्दापनि अति नै जीर्ण आवस्थामा छ । ज्यान नै जोखिममा राखेर पढ्नुपरेको छ । झन् अहिले वर्षाको बेलामा पानी पर्दा त, चर्किएकाे भित्ताबाट कहिले इँटा झर्थ्याे त कहिले भलै बगेर आउँथ्याे । डर मान्दै भएपनि एकवर्ष पढ्यौँ । यो वर्ष भने पारिपट्टीको सरस्वती भवनमा सारिएको छ । कक्षा सारिएको भएपनि सजिलै पढ्ने वातावरण भने छैन । प्रयाेगात्मक कक्षकाे सामानहरू आदि मात्रै सारिएको छ, त्यसकारण प्रयाेगात्मक कक्षा राम्ररी भएकाे छैन,’ सीबीजी विषयकाे दोस्रो वर्षमा पढ्ने हुम्लाका नवीन रोकाया हालको त्रिचन्द्र क्याम्पसकाे अवस्थाबारे सुनाउँछन् । कर्णाली प्रदेशको मुगु जिल्लाबाट आएका उनी काठमाडाैँकाे याे क्याम्पस पनि आफ्नाे गृहजिल्लाकाे भन्दा माथि नउठेकाे बताउँछन् । उनी भन्छन्— ‘पढ्न भनि काठमाडाैँ त आयौँ, तर दुःखचाहिँ ज्यूँका त्यूँ नै रह्याे । शौचालयसमेत उही प्रकारकाे छ । अझ बिहानी सिफ्टमा शाैचालय प्रयाेग गर्न पाउनु त युद्ध जितेजस्तै हुन्छ ।’
हुन पनि २०७२ सालको भूकम्पले त्रिचन्द्र क्याम्पस तहस-नहस नै पारेकाे थियाे । त्यसयता त्यसमाथि न क्याम्पस प्रशासनकाे आखाँ पर्याे न सरकारकै; क्याम्पस पछाडिपट्टीकाे पर्खाल भत्किएपछि क्याम्पसको सिमाना कति र कहाँ हाे ? भन्ने कुरा छुटाउनै मुस्किल पर्ने छ । उसाे त क्याम्पस परिसर वरिपरिका विभिन्न प्रजातिका बोटबिरुवासहितको बगैंचासमेत झाडीमा परिणत भएकाे छ । जबकि त्यहाँ पहिले विभिन्न प्रजातिका बोटबिरुवाहरू पाइन्थे भने त्यसका वैज्ञानिक नामसँगै जनजिब्राेमा रहेका नामहरू पनि झुन्ड्याइएका थिए ।
जुन विद्यार्थीहरूका लागि अति फलदायी हुन्थ्याे । तर, अहिले त्यस्ताे अतिरिक्त त छाेडाैँ, मूलरूपमा पाउनुपर्ने सिकाइ पाउन पनि मुस्किल छ ।
जिईयोलोजीको केन्द्रीय विभागसमेत यतै सारिदिएकाे हुँदा अन्य आंगिक क्याम्पसका विधार्थीहरू यहीँ आउनुपर्ने बाध्यता छ । त्यसाे हुँदा पनि विद्यार्थीहरूकाे चाप बढेकाे र त्यसैकारण राम्राे पढ्नसमेत नसकिने विधार्थीहरूको गुनासो छ । भत्किएका कक्षाकाेठाहरू नबनेकाे र रहेका जीर्ण कक्षाकाेठामा बसेर पढ्दा कठाहरू जुध्ने र पढामा असर पर्ने गर्छ । विद्यार्थीहरूकाे साझा प्रश्न छ— ‘बनिरहेको र भइरहेको ऐतिहासिक पुरातत्त्व महत्त्व बोकेका सम्पदाहरूलाई बेवास्ता गरेर नयाँ सम्पदाहरू निर्माण गर्नु कतिकाे उपयुक्त र बाैद्धिक कार्य हाे ?’ उनीहरू थप प्रश्न गर्छन्— ‘अहिलेको सरकारले विभिन्न ठाउँमा टावरहरू बनाउनुको सट्टा यस्ता ऐतिहासिक महत्त्व बोकेका पुरातात्त्विक सम्पदाहरू; त्यसमा पनि शैक्षिक संस्थाहरू पुनःनिर्माण गरिदिएको भए कस्तो हुन्थ्यो होला ? अझ यो त ऐतिहासिक महत्त्व बोकेको मात्र नभई यसले त सिंगो राष्ट्रलाई नै शिक्षा दिने काम गरिरहेकाे छ । यसरी राष्ट्रकै जनशक्ति उत्पादन गर्ने ठूलाे शैक्षिक संस्था यसरी पुनःनिर्माण हुन नसक्नु कतिको लजास्पद कुरा हो ?’
उसाे त त्रिचन्द्र मुलुककै जेठो शैक्षिक संस्था पनि हाे । एक हिसाबले भन्ने हाे भने याे स्कूलहरूकाे पनि स्कूल हाे । तर अवस्था भने त्यस्ताे छैन । आममानसपटलमा स्वाभाविक प्रश्नहरू उठ्छन्— त्रिचन्द्रकाे अवस्था त यस्तो छ भने अरु शैक्षिक संस्थाको हविगत कस्तो होला ?
अझ विद्यार्थी वृत्तमा त यसले चिन्तैचिन्ता थपिरहेकाे छ । यसकै कारण विद्यार्थीहरू पढाइमा आफ्नाे ध्यान केन्द्रित गर्नसमेत सक्दैनन् । छनत क्याम्पस परिसरभित्र प्राध्यापक संघ र कर्मचारी संघलगायत अन्य विद्यार्थी सङ्गठनहरू र राजनीतिक दलनिकट विद्यार्थी सङ्गठनहरू छन् । तर उनीहरू यसलाई आफ्नाे उत्तरदायित्व सम्झँदैनन् । यसबारे छिरिक्क बाेल्दैनन् । उनीहरूकाे ध्यान खाली सत्ता, शक्ति र रवाफमा मात्रै देखिन्छ । उनीहरू क्याम्पसकाे भाैतिक तथा बाैद्धिक/प्राज्ञिक उत्थान बन्दै चाहँदैनन् । विद्यार्थीहरूकाे स्वाभाविक प्रश्न छ— आफूले काम गरेको ठाउँको अवस्था यस्ताे हुँदा बाेल्नुपर्ने उत्तरदायित्व कसैको छैन ? यदि छ भने, किन सात वर्ष बितिसक्दा पनि बाेलिँदैन ?
पुन:निर्माण प्राधिकरण पनि माैन
अत: सँगै रहेका रानीपोखरी, दरबार हाईस्कूल, धरहरालगायत पुनःनिर्माण भइसक्दा पनि त्रिचन्द्र किन पछि परेको त ? स्वाभाविक प्रश्नहरू यत्रतत्र उठ्छन्/उठिरहन्छन् । यसबारे पुन:निर्माण प्राधिकरणसमेत चुइक्क बाेल्दैन । २०७८ सालको भदाैमा पुन:निर्माण प्राधिकरणका अध्यक्ष सुशील ज्ञवालीलाई समेत नेपाल विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसलाई बेवास्ता गरियाे । विद्यार्थीहरू यही कहन्छन्, विद्यार्थी नेता सुजन पौड्याल भन्छन्— ‘ज्ञापनपत्र बुझायाैँ । ध्यानाकर्षण कति गरायाैँ । प्रत्यक्ष, अप्रत्यक्षरूपमा कति कुराकानी भयाे । तर केही भएन ।’
त्रिचन्द्र क्यापस नेपाल विद्यार्थी संघसँग आबद्ध उनी थपन्छन्— ‘पूर्व-मेचीदेखि पश्चिम महाकालीसम्म हरेक घरका विद्यार्थीहरूले पढ्न पाउने कलेज हो । यो मात्र एउटा त्यस्तो कलेज हो जहाँ धनी र गरिबको छोराछोरीहरू सँगै आएर पढ्न सक्छन् । यस क्याम्पसमा पढाइ नराम्रो हुन्छ भन्ने होइन यहाँजस्तो अति प्रतिष्ठित तथा अनुभवी प्राध्यापकहरू अरु क्याम्पहरूमा बिरलै भेटिन्छन् । तर क्याम्पसकाे हविगत भने यस्ताे छ । याे निकै दुखद् हाे ।’
प्रयोगात्मक कक्षाको कोठा राम्रोसँग व्यवस्थित गर्न नसकिएकाले शिक्षकहरूले समेत राम्रोसँग पढाउन पाएका छैनन् । प्रयोगात्मक कक्षाकोठाहरू व्यवस्थित नभइदिँदा विद्यार्थीहरूले अवलोकन गर्नुपर्ने भूवर्ग विषयका सामाग्रीहरूसमेत हेर्न पाएका छैनन् । यसले सिङ्गाे विद्यार्थीहरूकाे पढाइलाई असर गरेकाे छ ।
यहीकारण ‘सेभ द त्रिचन्द्र’ आन्दोलन शान्तिपूर्ण तरिकाबाट सञ्चालन भइरहेको बताउँछन् पौड्याल । शान्तिपूर्णरूपले रोडमा बसेर किताब पढ्ने, घण्टाघरमा ब्यानर झुन्ड्याउने, व्यङ्ग्यत्मक कविता गोष्ठी गर्नेजस्ता कामहरू भइरहेका छन् । यसरी आन्दोलन गर्दासमेत सम्बन्धित निकायको ध्यान आकर्षित नभएकाे उनीहरूकाे दुखेसाे छ । विद्यार्थीहरू निजी क्याम्पस सञ्चालकहरूकाे दबाबमा त्रिचन्द्र क्याम्पस नबनेकाेसमेत बताउँछन् । हुन पनि त्रिचन्द्रकाे अवस्था हेर्दा त्याे आशङ्का त्यति अस्वाभाविक लाग्दैन । यही क्याम्पसमा पढेर मन्त्री, प्रधानमन्त्रीसमेत भइसकेका नेताहरूले पनि यसमा ध्यान नदिएकाे बताउँछन् विद्यार्थीहरू ।
त्यसाे त सँगै रहेका दरबार हाईस्कूल, रानीपोखरी, धरहरालगायत; पुन:निर्माण भइसकेका छन् । तर रातो स्टिकर टाँसिएकाे त्रिचन्द्रकाे हालत भने ज्यूँका त्यूँ छ । यसले पनि केही प्रश्नहरू उब्जाएकै छ । भन्ने नै हाे भने त त्रिचन्द्रकाे त एउटा खम्बासमेत गाडिएकाे छैन । ‘रातो स्टिकर टाँसिएकाे भवनमा समेत सात वर्षसम्म पढियो । पानी पर्ने सिजनमा त चर्किएको ठाउँमा पानी छिर्छ र समस्या थपिदिन्छ,’ विद्यार्थीहरूले भनेका छन् ।
पाैड्याल त्रिचन्द्रकाे याे अवस्थाले देशलाई नै घाटा भइरहेकाे बताउँछन् । उनकाे प्रश्न छ— ‘यहाँ पढेर यदि एउटा राम्रो अर्थशास्त्री वा भूगर्वविद् उत्पादन भइदिए कसलाई फाइदा हुने हाे देशलाई नै हैन र ? देशले कुनै एउटा अयोग्य जनशक्ति उत्पादन गरे घाटा कसलाई छ उही देशलाई हाेइन र ?’