प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी एकसाथ हार्दैछन् : कर्ण थापा
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज कर्णबहादुर थापाले सत्ता हारिरहेको टिप्पणी गरेका छन् । बुढीगंगा नगरपालिकाको मत परिणाम सार्वजनिक हुँदैगर्दा नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत बुढीगंगामा भएको स्थानीय चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह एकसाथ हारिरहेका टिप्पणी गरे । ‘वैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खाती मात्रै हार्ने थिए । असार २३ गतेको निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक कार्की एकसाथ हार्दैछन्,’ उनले अगाडि भनेका छन्, ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शिर नहुर्याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु । विजयी सबैलाई बधाई १ विजयी बन्दै गरेका सबैलाई शुभकामना !’
वैशाख ३० गतेको निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भएपछि चुनाव स्थगित गरिएको थियो । स्थगित चुनाव असार २३ गते सम्पन्न भएको थियो, जसको पछिल्लो मत परिणामअनुसार नेकपा एमाले विजयउन्मुख देखिएको छ । चार वडाको नतिजा सार्वजनिक हुँदा सबै वडामा एमाले विजयी भएको हो ।
सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीका दाइ रंगबहादुर खाती बुढीगंगामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार छन् । दाइलाई चुनाव जिताउन महान्यायाधिवक्ताले पदीय दुरुपयोग गरेको आरोप छ । बुढीगंगा एमाले नेता थापाको गृहनगर हो ।