सांसद राजुले संसदमा ‘नबोली–नबोली रातो किताब आयो’ भन्दै गीत गाएपछि…

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य सांसद राजु नेपालीले सदनमा ‘नबोली–नबोली कर्णालीको विकासमा रातो किताब आयो’ भन्दै गीत गाएकी छन् । शनिवार बसेको कर्णाली प्रदेश सभाको दसौँ अधिवेशनको २०औँ बैठकमा सांसद राजुले यस्तो गीत गाएकी हुन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका शीर्षकमाथिको छलफल भइरहँदा एमाले सांसद राजु नेपालीले संसद्मै गीत गाइन् ।

उनले यी सम्बोधन गर्दै दुवै मन्त्रालयका मन्त्रीहरूले आफ्ना छोरा स्वकीय रहेको र बजेटमा मन्त्रीका स्वकीय र छोराछोरी झल्किएको आरोप लगाइन् । सांसद राजुले आफ्नो सम्बोधन सकेपछि अन्तिममा ‘नबोली, नबोली कर्णालीको विकासमा रातो किताब आयो, योजना मन्त्रीका स्वकीय र छोराछोरीलाई भयो’

उनले गीत मार्फत मन्त्रीहरूलाई व्यङ्ग्य गरेपछि प्रदेशसभामा एक पटक हाँसो मच्चिएको थियो । उनले गीतबाट नै छोराछोरीहरू बजेटमा झल्किएको बताइन् । उनले सांसदले दिएका योजना समावेश नभए मन्त्रीका छोराहरूले संकलन गरेका योजना मात्र समावेश भएको आरोप लगाइन् । उनले भनिन्, जो योजना झोलामा बोकेर होटेलहरूमा बसेका थिए । उनीहरूकै योजना बढी देखियो ।’

स्रोतका अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकाया र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा (क्षेत्री) ले आफ्नै छोरालाई स्वकीय सचिवका रूपमा राखेर काम गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चार बुँदे सहमति भएसँगै कर्णाली प्रदेशमा शुक्रवारदेखि संसद् सुचारु भएको छ । संसद्को अवरोध हटेसँगै आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटमाथि दफावार छलफल भइरहेको छ । शनिवार पनि संसद् सञ्चालन भएर बजेटमाथि छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *