तानसेन सिमेन्ट भारत निर्यात सुरु

काठमाडौँ । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले शुक्रबार एक समारोहको आयोजना गर्दै ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक रुपमा सुरुवात गरेको हो । आरएमसी समुहका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालका अनुुसार, ‘हामीले परीक्षणको रुपमा भारतको गोरखपुरमा तीन ट्रक सिमेन्ट निकासी गरेका छौँ । सरकारको नीति कुरेर बसेनौँ सरकारको छुट आउँदै गर्छ । निकासी शुरु गरेर विदेशी संचिति बढाउँ भन्नेतर्फ लाग्यौँ ।’

यो उद्योगले १५ दिनअघि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) पाएको थियो । आरएमसी समूहको वीरगञ्जमा रहेको आरएमसी सिमेन्टले ४ वर्षअघि भारतमा केही ट्रक सिमेन्ट निकासी गरेको थियो । सिमेन्टमा ९० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि हुने भएकोले निकासीबाट पनि अधिकतम लाभ हुन्छ । सरकारले बजेटमार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि विभिन्न उद्योगले भारतीय बजार हेरिरहेका थिए । अरु उद्योगले अध्ययन गरिरहेका बेला पाल्पाले भने निकासी गरेर बाटो खोलेको हो ।

हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन रहेको अनुमान छ । सरकारले २०७२ को भूकम्पपछि पुनःनिर्माणको कामलाई तीव्रता दिने क्रममा विभिन्न भौतिक संरचना पुनःनिर्माण गर्ने गतिसँगै सिमेन्ट उद्योगले आफ्नो क्षमता बढाएर बढ्दो मागलाई पूरा गरेका थिए ।

बजारमा नयाँ लगानीकर्ता आउने र भएका उद्योगले उत्पादन क्षमता बढाउँदा उत्पादन बढी हुन पुगेको थियो । आयोजनाले गति लिन नसकेको र चलिरहेको आयोजना पनि सुस्त हुँदा निजी उपयोगमा पनि कमी आएपछि सिमेन्ट उत्पादक निरन्तर घाटामा परेर आफ्नो औद्योगिक अस्तित्व खतरामा परिरहेको अवस्था थियो ।

करिब पाँच वर्षअघि स्थापित पाल्पा सिमेन्टले ३ वर्षअघिदेखि आफ्नो उत्पादन शुरु गरेको हो । उत्पादन शुरु गरेर बजारमा जानासाथ विश्वव्यापी कोरोनाको लहरले समग्र अर्थतन्त्र नै सुस्त भइरहेको बेला पाल्पा जिल्लाको माथगढी ७ रहबासमा आफ्नै चुनढुङ्गा खानी रहेको उक्त उद्योगले समस्याका बाबजुद गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै बजारमा उल्लेख्य उपस्थिति जनाएको थियो ।

बिजुलीको अभाव, कच्चा पदार्थको उपलब्धतामा समस्या, अल्पकालिन नीतिनियम, आर्थिक, दक्ष प्रविधिको अभाव अप्रत्यक्ष कर र रोयल्टी, उच्च उत्पादन लागत आदिका बाबजुद नेपाली सिमेन्टले उद्योगले विदेशमा सिमेन्ट निर्यात गर्न सफल भएको हो । यसले केवल नेपाली सिमेन्ट मात्र नभई समग्र अर्थनन्त्रलाई नै क्रियाशील बनाउँदै नेपाली उत्पादन पनि अन्तर्राट्रिय बजारमा निर्यातयोग्य छन् भन्ने सन्देश गएको छ ।

सिमेन्ट निर्यातको सम्भाव्यतालाई भरपूर उपयोग गर्न सके विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्ने र रोजगारी सिर्जना गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *