गभर्नरले भने– ‘४/१२ को नीतिमा म बोल्न मिल्दैन’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोमा ४ करोड र १२ करोड ऋणको सीमाबारे आफूले बोल्न नमिल्ने बताएका छन् ।
संसदको अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले सोमबार यस्तो बताएका हुन् । राष्ट्र बैंकले शेयर धितो कर्जामा एउटा बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्ति वा संस्थाले ४ करोड र पूरा बैंक तथा वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्था हटाउन सेयर लगानीकर्ताहरुले निरन्तर दबाद दिँदै आएका छन् ।
उक्त नीतिकै कारण सेयर बजार ओरालो लागेको भन्दै आगामी मौद्रिक नीतिमा त्यस्तो वस्था हटाउन लगानीकर्ताले माग गरिरहेका छन् । अर्थसमितिले सोमबार आगामी मौद्रिक नीतिबारे छलफल गर्न राष्ट्र बैंकलई बोलाएको थियो ।
समितिका सभापति कृष्णप्रसाद दाहाल मौद्रिक नीतिमा गर्न लागिएको व्यवस्थाबारे जानकारी मागेका थिए । उक्त क्रममा गभर्नर अधिकारीले सेयर बजारको नियामक निकाय छुट्टै भएकोले यसबारे आफूले बोल्दा सेयर बजारमा असर पर्ने भएकोले बोल्न नमिल्ने बताएका थिए ।
गभर्नर अधिकारले उक्त बैठकमा अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब रहेको भन्दै आयात नियन्त्रण गर्नुपर्ने बताए । खाद्य वस्तुको आयात निरुत्साहन गर्नुपर्ने र आन्तरिक उत्पादनलाई जोड दिनुपर्ने बताए ।
औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउनका लागि मौद्रिक नीतिले जोड दिने बताए ।
बैठकमा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले घरजग्गा र सेयरमा बैंकको अधिक ऋण लगानी भएको बताए ।