आदिवासी जनजाति महासंघकाे चेतावनी- प्रदेश नं. १ काे नामाकरण पहिचानका आधारमा नभए सशस्त्र आन्दाेलन

काठमाडाैँ । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश नं. १ काे नाम पहिचानका आधारमा हुनुपर्ने अडान राखेकाे छ । यसअघि नामाकरण गरिएका मधेश प्रदेशबाहेकका प्रदेशका नामहरूमा महासंघकाे गम्भीर असहमति रहेकाे उल्लेख गर्दै साेमबार जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ, ‘यत्तिबेला प्रदेश नं. १ काे नामाकरण अन्तिम टुङ्गाे लगाउने निर्णय भइरहँदा  फेरि पनि त्यस प्रदेशकाे ऐतिहासिक थाकथलाे, भाषा, संस्कृति र सभ्यताकाे पहिचानलाई सम्बाेधन गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षड्यन्त्रपूर्ण अभिव्यक्ति र डिजाइन भइरहेकाे थाहा पाइएकाले हामी त्याे गतिविधिकाे घाेर भर्त्सना गर्दैछाैँ ।’

महासंघले सङ्घीयताकाे मर्मअनुसार प्रदेशकाे नाम राख्न आग्रह गरेकाे छ । विज्ञप्तिमा थप भनिएकाे छ— ‘सङ्घीयताकाे मर्म र त्यस क्षेत्रकाे पहिचानकाे भावनालाई सम्बाेधन गर्दै प्रदेश नं. १ काे नामाकरण यथाशिघ्र टुङ्ग्याउनका लागि सम्बन्धित सबै राजनीतिक दलहरूकाे ध्यानाकर्षण गराउन चाहन्छाैँ ।’ महासंघले प्रदेश सभामा प्रतिनिधत्व गर्ने सबै राजनीतिक दलका नेता तथा सांसदहरूलाई पहिचानलाई बेवास्ता नगरिदिन अनुराेध गरेकाे छ ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ— ‘आदिवासीय पहिचानविपरीत प्रदेश नं. १ काे नामाकरण गर्ने दुष्प्रयास गर्ने भएमा महासंघ निर्णायक र सशक्तरूपमा आन्दाेलनमा उत्रिन बाध्य हुनेछ ।’

अहिले प्रदेशमा दलहरूबीच प्रदेशकाे नाम टुङ्ग्याउनेबारे छलफल शुरू भएकाे छ । यसैबेला महासंघले यस्ताे चेतावनी दिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *