विराटनगरका व्यापारीको सधैँको समस्या मिरगञ्जपुल
विराटनगर । विराटनगरसँग जोड्ने लाइफलाइन मिरगञ्जको पुल मर्मतको नाममा लामो समयदेखि जोगवानी नाकाबाट भित्रने मालवाहक सवारीलाई आवतजावतमा समस्या देखिएको छ ।
व्यापारी संस्थाहरूले लामो समयदेखि सरकारी निकाय, भारतीय अधिकारीहरूलाई नयाँ निर्माण भएको पुल सञ्चालनको लागि दबाब दिँदै आएको भएपनि सुनुवाइ हुन सकेको छैन । जोगवनीबाट नेपाल प्रवेश गर्नु पर्ने मालवाहक सवारी अहिले पनि रिरुटबाट भान्टाबारी हुँदै विराटनगरमा भन्सार तिरेर विभिन्न क्षेत्रमा लग्ने गरिएको छ ।
अघोषित नाकाबन्दीको रूपमा लिएका व्यापारीले आगामी अगस्त २ भित्रै नयाँ पुल सञ्चालन गर्ने भनेर भारतीय पक्षबाट आश्वासन पाउन छाडेका छैनन् । सोमबार अररीया (विहार)की डिष्ट्रिक्ट मजिस्टे«ट (डि.एम.) इनायत खानलाई भेटेका मोरङ व्यापार सङ्घका पदाधिकारीले भेटेर ज्ञापन पत्र बुझाएका थिए । बथनाहा–जोगबनी सडक खण्डमा मिरगञ्ज पुल छेउमा निर्मित नयाँ आर.सी.सी. पुललाई आगामी अगस्त २ तारिख भित्र सञ्चालनमा ल्याउने आश्वासन भारतीय डिएम खानले दिएकी छिन् ।
जीर्णोद्धार गरिएको मिरगञ्ज पुलमा हाल कायम गरिएको ८ टन मात्रको न्यून भार क्षमता रहेकोले त्यो बारेमा जानकारी लिएर नयाँ निर्माण भएको पुल सञ्चालनको लागि उनले आश्वासन दिएकी हुन् । तत्कालका लागि प्रहरी प्रशासनकै निगरानीमा भएपनि मर्मत हुँदै गरेको पुलबाट खाली गाडीहरू भारत फिर्ता जान दिने व्यवस्था मिलाउन पनि सङ्घले आग्रह गरेको छ ।