मोरङ कारागारमा कोरोना फैलियो, बिरामीमध्ये १६ जनाको एन्टीजेन पोजेटिभ

मोरङ कारागारमा कोरोना फैलियो, बिरामी भएका मध्ये १६ जनाको एन्टिजेन पोजेटिभ

विराटनगर । विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा कोरोनाको संक्रमण फैलिएको छ । एक्कासि धेरै जनामा ज्वरो आउने र बिरामी पर्ने क्रम बढ्दै जाँदा एकै पटक १९ जना बिरामी भएपछि कोसी अस्पताल भर्ना गरिएको थियो ।

परीक्षणको क्रममा कोसी अस्पतालमा उपचाररत १८ जनामध्ये १६ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालले जनाएको छ। उनीहरूको रिपोर्ट पोजेटिभ आएसँगै मोरङ कारागारभित्र कोरोना फैलिएको पुष्टि भएको हो ।

१०० डिग्रीभन्दा बढी ज्वरो आएपछि १९ जनालाई उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि भर्ना गरिएकामध्ये एक जनाको मृत्यु भइसकेको छ, उनको मृत्युको कारण खुलेको छैन । अन्य १८ जनाको आज बिहान एन्टिजेन परीक्षण गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले जानकारी दिए ।

१८ जनाको परीक्षण गरिएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ, उनले भने, अन्य दुई जनालाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण छ।’

संक्रमितहरुको बारेमा थप यकिन गर्न रिपोर्ट पोजेटिभ र नेगेटिभ आएका सबैको पिसिआर परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको मेसु खरेलले जानकारी दिए । उनका अनुसार एन्टिजेन पोजेटिभ आएकालाई १०२ डिग्रीभन्दा धेरै ज्वरो छ । श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण रहेको उनले बताए ।

ज्वरो अत्यधिक आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैँचा नगरपालिका–४ घर भएका कैदी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको अस्पतालले जनाएको छ । ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएपछि बिहीबार नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

आइसियुमा राखेर उपचार भइरहेकोमा बिहीबार दिउँसो मृत्यु भएको हो । सामान्य ज्वरो आएका कारण गत असार २५ गते पनि अस्पताल पुर्‍याइएका नेपाललाई त्यति बेला उपचारपछि फर्काएर कारागार नै लगिएको थियो ।

कारागारका कैदी बन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए । त्यसपछि फैलन सुरु भएको ज्वरोले अहिले प्रकोपकै रूप लिएको छ । कोरोना नै फैलिएको पुष्टि भएपछि कैदी बन्दीको उपचार र व्यवस्थापनमा समस्या भएको निमित्त जेलर तुलसीराम भगतले बताए ।

कारागारमा अहिले एक हजार ८७ जना कैदी बन्दी छन् । महिला र पुरुष गरी करिब ३ सय क्षमताको कारागारमा तेब्बर कैदी बन्दी रहेको कारागार प्रशासनले जनाएको छ । उपचार गराइरहेका बाहेक पनि अहिले कारागारमा सामान्य रुघाखोकी र ज्वरो आउनेको संख्या धेरै रहेको जेलर भगतले बताए ।

अत्यधिक गर्मीसँगै कैदी बन्दीलाई बसाई असहज भइरहेका बेला कारागारभित्र कोरोना फैलिएको पुष्टि भएको हो । डा. खरेल बिहीबार साँझ कारागार पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्वरो आएका कैदी बन्दीलाई तत्काल उपचारका लागि अस्पताल पठाउन कारागार प्रशासनलाई निर्देशन दिएका छन् । कोरोनाको रिपोर्ट पोजेटिभ आएकाहरूलाई कोसी कोभिड अस्पताल सार्न थालिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

सुरक्षा निकायको टोली कैदी बन्दीको सुरक्षित उपचारको लागि कोभिड अस्पतालमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *