यादको सन्दुक पढेपछि…
भर्खरै कवि दिपा मेवाहाङ राईको कविता कृति ‘यादको सन्दुक’ पढेर सकेँ । सबैभन्दा शुरूमा त कविलाई यो नवीन कृतिका लागि हार्दिक बधाई तथा शुभकामना । यस सङ्ग्रहलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । आवरण राजन काफ्लेले बनाएका हुन् । यसमा जम्मा ४८ वटा कविताहरू सङ्ग्रहित छन् ।
अनुभूतिहरू कविता हुन सक्छन् र कविताहरू अनुभूति हुन सक्छन् भनेजस्तै यस सङ्ग्रह पढ्दै जाँदा कविले आफ्ना अनुभूतिहरूलाई नै अनुशासित भएर कवितामा उतार्नुभएको हो भन्ने लाग्यो । यसको मतलब यसमा भएको कविताहरू पढ्दै जाँदा कुनै पनि कविताहरूमा कल्पनाशीलता खासै पाइँदैन वा मैले त्यो अनुभव गरिनँ ।
सामाजिक सञ्जालको माध्यमबाट कविको अत्यन्तै सरलरूपमा प्रस्तुत सुन्दर कविताहरू पढिरहेकोले गर्दा उनको सङ्ग्रहप्रति बढी नै अपेक्षा थियो । अपेक्षाहरू कहिल्यै पूर्णरुपमा पूर्ति हुँदैन । तर, यो कविता सङ्ग्रहप्रतिको अपेक्षा केही हदसम्म पूर्ति भयो ।
पहिलो कविता ‘अभिनय’ पढ्दा ज्यादा अपेक्षा गर्नु भनेको नैराश्यताको सम्भावनालाई पनि सँगै निम्तो दिनु हो भनेजस्तै लगभग निराश भएँ । किनकी यो कवितामा जस्तै जिन्दगीलाई रङ्गमञ्चको बिम्बमा उतारेर अरु थुप्रै सायद योभन्दा सुन्दर कविताहरू लेखिएको पाएको छु ।
तर त्यसपछिका पानी, अभाव, भत्कनु, दुखाइ, सेतो फूलजस्ता कविताहरूले मन जित्यो । मलाई लाग्छ ‘कविता लामा छोटा हुँदैनन् । कविता त बस् कविता हुन्छ ।’ तर यस सङ्ग्रहबारे आफ्नो पाठकीय प्रतिक्रिया लेख्न खोज्दै गर्दा कविताहरूलाई लामा र छोटा नभनी सुखै पाइन्न ।
यस सङ्ग्रहका लामा कविताहरूमा ‘सेतो फूल’, ‘फराकिलो’, ‘सर्किनी बोजू’, ‘शहरले मलाई’ जस्ता कविताहरू अत्यन्तै शक्तिशाली छन् तर अरु केही लामा कवितामा कविले सुन्दर तरिकाले लेख्दा लेख्दै पनि कतै बरालिएजस्तो, कविका कविताहरू पुग्नुपर्ने बिन्दुमा नपुगे जस्तो महसुस भयो ।
छोटा कविताहरूमा कवि अत्यन्तै शक्तिशालीरूपमा प्रस्तुत भएका छन् । जसमध्येको एउटा कविता पढ्नुहोस्—
जिन्दगी
उध्रिएको जिन्दगी
सिलाउन खोज्दा
कहिले सियो हरायो
कहिले धागो हरायो
दुवै खोजेर ठिक्क पारेँ
अन्त्यमा जिन्दगी नै हरायो ।
सङ्ग्रह पढ्दै जाँदा कविको बारेमा एउटा कथा मेरो दिमागमा बन्यो । सायद कवि कसैसँग साँच्चै प्रगाढ प्रेममा थिइन् होला । उनमा विवाहको प्रस्ताव पनि आयो होला, तर पारिवारिक जिम्मेवारीले गर्दा सायद उनी विवाह गर्न राजी भइनन् होला । त्यो सम्बन्ध सकियो होला । कविलाई त्यही सम्बन्धको सम्झनाले बेलाबेला खुब सताउँछ होला । र त्यही महसुस र अनुभूतिलाई कवितामा उतार्छिन् होला । सङ्ग्रह पढ्दै जाँदा कविताहरूले कविबारे मेरो दिमागमा यस्तो कथा कोरिदियो जुन सत्य नहुन पनि सक्छ ।
यी कविताहरूमा कविको भावुकता झल्किन्छ । ‘सेतो फूल’ कविता पढ्दै गर्दा कहीँकतै म भावुक बनेँ । यो कविता पढ्दै जाँदा कविले यो कविता लेखेकी होइनन्, कविले त अनुभूत गरेकै घटना र त्यसले पारेको प्रभावलाई जस्ताको तस्तै लेखेकी हुन् भन्ने अनुभूत भयो । साँच्चै भित्री कतै चिसो बनायो ‘सेतो फूल’ कविताले ।
म कहिले कुनै कविको फ्यान थिइनँ/छैन/हुने छैन । यसको एउटै मात्रै कारण हो कविले कविता जस्तो वा कवितामा कवि झल्किएजस्तो जिन्दगी बाँच्न सक्दैन (यसो भन्दै गर्दा कविहरूको चित्त दुख्ला तर के गर्ने ? सत्य कुरा तितो नै हुन्छ) । यसैले म कविको होइन कविले लेख्ने प्रत्येक सुन्दर कविताहरूको फ्यान हुने गर्छु ।
यस सङ्ग्रहका ‘अभाव’, ‘मौनता’, ‘जिन्दगी’, ‘प्रतिबिम्ब’, ‘सेतो फूल’, ‘स्टेसन’, ‘शहर मलाई’ कविताहरूको फ्यान भएँ ।
सरलरूपमा प्रस्तुत शक्तिशाली र सुन्दर कविताको सङ्ग्रह निकाल्न सफल हुनुभएकोमा फेरि पनि कविलाई बधाई । लेखन सरलता कायम गर्दै शब्दहरूसँगको यात्रा र कविताप्रतिको प्रेम जारी रहोस् । हार्दिक शुभकामना छ ।
♦ सम्बन्धित सामाग्री:
‘यादकाे सन्दुक’ सार्वजनिक, दिपा भन्छिन्- ‘बिरानाे मुलुककाे यादलाई कवितामा समेटेँ’