कृषि क्रान्तिबारे फलाक्नेहरूलाई ‘बेठी’बारे थाहा छ ?
काठमाडाैँ । समय परिवर्तनशील छ, परिवर्तन भइरहन्छ । यसले आफ्नाे सापेक्षतामा रहेका सबै-सबैलाई परिवर्तन गराउँछ । उसाे त काेही केही पनि समयभन्दा निरपेक्ष रहनै सक्दैन/हुँदैन । त्यसाे हुँदा सबैकाे परिवर्तन अपरिहार्य छ, चाहे त्याे सुखद् परिवर्तन हाेस् वा दुखद् । सकारात्मक हाेस् वा नकारात्मक; जे हाेस् परिवर्तन जरुरी हुन्छ ।
त्यसाे त समाजिकरूपमा मनाइने/अपनाइने संस्कार-संस्कृतिहरूमा पनि परिवर्तनहरू आउँछ नै । केही लाेप हुँदै जान्छन्, केहीले छुट्टै आफ्नाे स्वरुप ग्रहण गर्छन् त कुनै कुनै अनायास समाजभित्रै गुम्सिन्छन् पुन: ब्यूँताउनै नसकिनेगरी; यस्तै पछिल्लाे समय लाेप हुँदै गएकाे एक सामाजिक संस्कार हाे— बेठी ।
बेठी तत्कालीन समयमा मुखिया, जिम्बाल राईहरूको खेतमा, पञ्चे वा नौमती बाजा बजाएर रैतीहरूको श्रमदानद्वारा राेपाइँ गरिदिने प्रचलन हाे । सो समयमा यी ओहोदाका व्यक्तिहरूले जनताको साना-तिना झैँझगडा मुद्दामामिला मिलाइदिने हुनाले यिनीहरूको आवश्यकता परेको बेला यिनीहरूलाई सहयोगस्वरुप खेतमा रोपाइँ गरिदिनुपर्ने चलन चलिआएको थियो । त्यो समयमा प्राय: मुखिया, जिम्बालवालाहरूलाई राज्यको तर्फबाट केही पनि सहयोग नहुने हुँदा पनि यसरी रैतीहरूले सहयोग गरिदिनुपर्ने प्रचलन थियो ।
बूढा-पाकाहरूले बेठीलाई ‘खेतको विवाह हो’ भन्ने गर्थे । बेठीमा बाजागाजासहित खेतअनुसारकाे हलका हल गोरुहरू र गाँउभरीका रैतीहरूलाई खेताला लगाउने चलन थियाे । ‘बेठी खेतालाहरूले हिलो छ्यापाछ्याप गरी रमाइलो गर्दै दमाहा र झ्याम्टाको तालमा धान राप्ने र सनाही र कर्णालको तालमा मनोरञ्जन गर्दै रोपाइँ गर्ने प्रचलन हाे,’ वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीकाे भनाइ छ ।
प्रचलित बाजासँगै राेपाइँको असारे भाका पनि गाइन्थे । यसरी बेठीको माहोल चलिरहँदा घरमूली भने निरीक्षकको भूमिकामा रहन्थे । निरीक्षणमा खेतालाहरूले राम्रोसँग काम गरे/नगरेको, हलीले राम्राेसँग राँटाे मेटे/नमेटेकाे, बिउ कहाँ पुग्यो, कहाँ पुगेनलगायत; हेर्नका लागि घरमूली निरीक्षककाे भूमिकामा रहन्थे ।
पुरानो समयमा अहिलेको जस्तो प्रविधि विकसित नभइसकेको हुँदा यस्ता बाजा-भाकाहरूले नै अहिलेको आधुनिक मनोरञ्जनको काम गरेको पाका-पूर्खाहरू बताउँछन् । साेलुखुम्बुका ६७ वर्षीय पूर्खा भीमबहादुर राई भन्छन्— ‘बेठीकाे चलन अहिले हरायाे । याे हराउन नहुने चलन हाे । याे सिर्फ मनाेरञ्जन मात्रै हाेइन, एउटा यस्ताे सामाजिक संस्कार पनि हाे जसले समाजलाई एकठाउँमा बाँध्थ्याे । र आपसमा भाइचाराकाे सम्बन्धकाे कडीलाई अझ कसिलाे बनाउँथ्याे ।’
बेठी लगाउनेहरूले आफ्नो इज्जत र प्रतिष्ठाको लागिसमेत लाउने गरेको जानकारहरू बताउँछन् । तर काेहीले भने मनाेरञ्जन र रहरका लागि मात्रै नभइ प्राचीन परम्परा र मौलिकता बोकेकाे भएरै बेठी लगाउने गरेकाे बताउँछन् । अझ बेठी लगाउँदा खेताला र हलीहरूलाई कुनै पनि ज्याला वा पर्म तिर्नु नपर्ने र सामूहिकरूपमा काम हुने संस्कार रहेकोले पनि यो निकै नै उपयोगी सामाजिक संस्कार थियो भन्न सकिन्छ ।
सिन्धुपाल्चोकका स्थानीयहरू ‘यस परम्परा भूमिपूजा चलाउनु’का लागिसमेत बेठी लगाउने गरेकाे बताउँछन् । अझ भूमिपूजा नै यसको स्वरुपको रूपमा लिने गरेकोसमेत पाइन्छ । याे पूजा लगाउँदा जमिनको सुरक्षा हुने, उब्जनी बढ्ने र सहकाल भित्रिने जनविश्वस रहिआएकाे छ ।
यसरी हेर्दा बेठीले तत्कालीन समयको रीति-रिवाज मात्रै नजाेगाइ किसानहरूको खेती गर्ने मनोबलसमेत बढाउने गरेकाे सुस्पष्ट देखिन्छ । त्यसको प्रमाणस्वरुप आफ्नो खेत नभएका रैतीहरूले पनि राज्यकै खेतमा भएपनि कमाउँथे । जसले उनीहरूकाे दैनन्दिनकाे जीवनयापन सहज बनाउँथ्याे । बेठी गरिएकाे सो खेतबाट उत्पादित अन्नपात, धानबाली जति सबै धर्म भकारीमा राखी अनिकाल भएको बेला आफैँले उपभोगसमेत गर्ने गर्दथे । यसकारण यो पर्वलाई सामाजिक संस्कारको रूपमा मात्रै नभइ आपत्काे सहाराकारूपमा समेत लिइन्थ्याे ।
बेठीकै समयमा खला बाँध्ने कामसमेत गर्ने गरिन्थ्याे । अर्थात् भकारी बाँध्नेसमेत भन्ने गरिन्छ । यसरी भकारी बाँध्दा घरमूलीलाई हिलोको टीका लगाइ धानको बिउकाे फूल लगाइदिएर आशीर्वाद लिने/दिने चलन थियाे । तत्पश्चात् घरमूलीले पनि खला बाँध्नेहरू र आफ्ना छोरीचेलीहरूलाई हिलोकै टीका र बिउकै फूल लगाइदिँदै दक्षिणा दिने गर्दथे । यसरी टीका लगाइदिँदा अन्नको सह बस्नुको साथै लक्ष्मीको बास हुने जनविश्वास अझै थियाे । सह आओस् भनेर सबैभन्दा ठूलो गह्रामा खला बाँद्ने काम गरिन्थ्याे । खला बाँधेसँगै बेठी राेपाइँकाे समापन पनि हुने गर्दछ ।
खला बाँध्नु भन्नाले धान काटिसकेपछि धान झार्ने ठाउँको निधाे गर्नु हाे । बेठीको समयमा धेरै हलगोरुहरू, बाउसेहरू र रोपारहरू हुने हुँदा रमाइलो पनि औधी नै हुने गरेको पाइन्छ ।
नेपाल पहिलेदेखि नै कृषिप्रधान देश भएकोले राजा-महाराजादेखि नै बेठी लगाउने चलन चलिआएको पाइन्छ । उक्त दिन राजा आफैँ खेतमा उपस्थित भइ बेठीको सुरुवात गर्ने प्रचलन थियो ।
०००
अहिले यी प्रचलनहरू हराउँदै गएका छन् । विज्ञान प्रविधिकाे युगसँगै आएकाे असाधारण ‘प्रविधि चेत’का कारण यस्ता प्राचीन महत्त्वका चालचलन, रीतिरिवाज र रहनसहनहरू हराउँदै गएका छन् । हिजाेआज बेठी हाेइन, खेतका गह्राहरूमा प्रविधियुक्त हाते ट्र्याक्टर कुद्छ ।
अझ विसं २०२१ सालमा भूमिसुधार ऐन आएपछि यो परम्परा झनै लाेप भएकाे बताइन्छ ।
मुलुकका ठूला दलका नेताहरूले कृष्रि क्रान्ति भनेर फलाकिरहेका सुनिन्छ । तर उनीहरूलाई प्राचीन संस्कारहरू बेमतलबी छन् । केवल उनीहरू आधुनिकतातिर लम्किन खाेज्छन् आफ्नाे धरातल भुलेर । यसले कति सहजरूपमा कृषि क्रान्ति हुन्छ ? स्वाभाविक प्रश्नहरू यत्रतत्र छन् ।