भाग लगाउने विषयमा विवाद : कांग्रेस-एमाले कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते

परासी । विपन्नहरुले पाउने राहतमा पनि नवलपरासीका जनप्रतिनिधिले दलीय आधारमा भागवण्डा गर्ने गरेको खुलेको छ । राहत रकम वितरण कार्यमा भएको भागवण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिका-५ मा कुटाकुटसमेत भएको हाे ।

जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका छन् । सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि रकम पठाएको छ । गाउँपालिका- ५ मा पठाइएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा बिहीबार राति भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन् । रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नम्बर २ को) कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट वञ्चित हुने देखिएको छ ।

कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अति विपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम पठाएको छ । यो रकम सरकारले जिल्लाका सबै पालिकाहरुमा जेठको अन्तिम सातामा पठाएको हो । सरावल गाउँपालिकामा कुल ७ सय जनाका लागि कुल ७० लाख रुपैयाँ आएको अध्यक्ष चौधरीले बताए। सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो । ७ वटा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला सम्पन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण चौधरीले फाराम नभरेकाहरुको पनि नामावली समावेश गरी रकमका लागि पालिकामा सिफारिस पठाएको आरोप लगाइएको छ । उक्त वडाबाट मात्र अति विपन्नबाट ४ सय १८ जनाले फाराम भरेका थिए। सुरुमा सबैको नामावली वडाध्यक्षले पालिकामा पठाएका थि ए। तर पालिकाले १ सय ६ जनाको नाम पठाउने भनेपछि वडाध्यक्षले सोही अनुरुप नाम पठाएका थिए । ती सबैको नाम उपर दाबी विरोध गर्न पालिकाले सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार वडाध्यक्ष चौधरीले वडाबाट पठाएको नामावलीलाई गाउँपालिकाले थपघट गर्दै नामावली निकालेको भन्दै ३२ जनाको सूची हटाउन निवेदन दिएपछि विवाद सुरु भएको हो ।

विवादपछि १२ जना गाउँपालिका उपाध्यक्ष वासमति हरिजनले आफ्ना मान्छे राख्ने र बाँकी २० जना वडाध्यक्षलाई आफ्ना मान्छे राख्न दिने सहमति भएको थियो । सहमतिमा वडाध्यक्षलाई दाबी विरोध फिर्ता लिनुपर्ने बताए पनि उनले फिर्ता नलिएपछि विवादले उग्र रुप लिएको हो । उपाध्यक्ष हरिजन एमालेकी हुन भने वडाध्यक्ष चौधरी कांग्रेसका हुन् ।

विवादले उग्ररुप लिँदै कुटपिटको घटना भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको पहलमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कांग्रेस एमालेका पार्टी प्रतिनिधिलाई छलफलका लागि बोलाएका थिए ।

छलफल कार्यक्रममा वडा नं. ४ का अध्यक्ष एव गाउँपालिकाका प्रवक्ता सुरेश यादवले उपाध्यक्ष र वडाध्यक्षलाई कोटा दिएर विवाद मिलाउन सहमति गरे पनि वडाध्यक्षले दाबी विरोधको निवदेन फिर्ता नलिएपछि विवाद भएको बताए । ‘मैले उपाध्यक्षजीलाई हाम्रो पक्षमा १२ जना पर्‍यो । वडाध्यक्षले पाएको २० जनाको कोटा कसरी मिलाउनु हुन्छ उहाँको कुरा हो । विवाद नगरौं भन्दै सहमति गरिएको हो । पछि निवदेन फिर्ता नलिएपछि कुरा मिलेन र विवाद भयो,’ यादवले भने।

कोटामा सहमति भएको उपाध्यक्ष र वडाध्यक्षले पनि स्वीकार गरे । ‘आफूले पठाएका नामावलीमध्ये उपाध्यक्षले  केही व्यक्तिको नाम थप गर्नुभयो । मेरा मान्छेको नाम पहिल्यै काटियो । त्यसैले निवदेन फिर्ता लिइन,’ वडाध्यक्ष चौधरीले भने ।

असारको अन्तिम समयमा रकम आएकाले विवादपछि ३२ जनाको नाम हटाएर ७४ जनाको रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बताए ।

विपन्नहरुको नामावली संकलन यसअघिको वडा जनप्रतिनिधिहरुले गरेका थिए। यसअघिका वडाध्यक्ष दिनेश सहानीले राजनीतिक प्रतिशोधमा आफ्ना मान्छेको नाम सिफारिस गरेर पठाएको आरोप लगाएका छन् । तर अहिलेका वडाध्यक्ष चौधरीले भने सम्पन्न व्यक्तिहरुको नाम संकलन गरेकाले काटेर पठाएको बताएका छन् । वडाध्यक्ष चौधरीले निवर्तमान अध्यक्ष सहानीले गाउँले उचालेर विवाद निकालेको दाबी गरेका छन् । निर्वतमान वडाध्यक्षले भने आफूले वास्तविक नाम पठाए पनि अध्यक्षले काटेर पठाएपछि जनता आक्रोशित भएर घटना भएको दाबी गरेका छन् ।

कोटाबाट राहत रकम वितरण गर्ने खुलासा भएपछि कार्यक्रममा सहभागी भएका लुम्बिनी प्रदेशका सभासद दीपेन्द्र अधिकारीले विपन्नहरुलाई पनि हाम्रो र तेरो मान्छे भनेर विभेद गर्नु दुर्भाग्य भएको बताए । ‘विपन्न र गरिबमाथि पनि राजनीति गर्ने हो । यस्तो सन्देशले राजनीति प्रति आम जनताको धारणा कस्तो बन्छ । यसलाई ख्याल गर्नु पर्दैन,’ सभासद अधिकारीले भने ।

७ वडा रहेको पालिकामा अहिले २ वटा वडामा विवाद भएपछि अन्य वडाले पनि रकम वितरण गर्न सकेका छैनन् । विवाद नभएका केही वडाहरुले पनि कोटामा नामावली टुंगाएको आरोप स्थानीयको छ । विवादका कारण अहिलेसम्म रकम वितरण हुन नसकेपछि सबै रकम फ्रिज भएर जाने अवस्था आएको पालिकाले जनाएको छ । प्रशासन कार्यालयमा भएको छलफलमा छुटेका व्यक्तिहरुको नाम पनि समावेश गरी प्रकृया अघि बढाउने सहमति भएको छ ।

६ जना अस्पतालमा
विवादपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको कुटाकुटमा परी घाइते भएका १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक(एसपी) ऋषिराम कडेलले बताए । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ। दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । -अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *