प्रदेश १ का सबै जिल्लाका बालबालिकाले खोप पाएको सरकारी दाबी
विराटनगर । प्रदेश १ का १४ जिल्ला नै पूर्ण खोप घोषणा भए । गत असार ३० गते सुनसरी जिल्ला र गत असार २४ गते ताप्लेजुङ जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा भएसँगै प्रदेश १ का सबै जिल्ला पूर्ण खोप पाउने जिल्ला भएका छन् ।
जिल्लागत रूपमा सबै जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्लाको रूपमा घोषणा गरिएको भएपनि प्रदेश १ आफैँले प्रदेशलाई पूर्ण खोप सुनिश्चितता भएको प्रदेशको रूपमा घोषणा भने गरिसकेको छैन । जिल्ला तहमा भएका कार्यक्रमले सबै बालबालिकाले पूर्ण खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्लाको रूपमा घोषणा गर्दै आएको छ।
देशभरिकै पूर्ण खोप सुनिश्चित गर्ने ताप्लेजुङ ६४ औँ जिल्ला हो भने प्रदेश १ को अन्तिम पूर्ण खोप सुनिश्चित गरेर घोषणा गर्ने सुनसरी ६५ औ जिल्लामा परेको छ ।
नेपाल सरकारको बहुवर्षीय खोप नीति अनुसार सन् २०१७ सम्म पूर्ण खोप सुनिश्चित घोषण गर्ने लक्ष्य राखेको थियो । यद्यपि सो लक्ष्य अनुसार पूरा हुन सकेन । सुनसरीमा २०७२ सालदेखि निरन्तर अभियान सञ्चालन गर्दा असार ३० गते घोषण सफल भएको हो ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि अब जन्मिने बच्चाहरूका निम्ति सबैलाई सहज ढंगले खोप प्रदान गर्न कोखदेखि १५ महिनासम्म अनिवार्य खोप दिइने बताए ।
प्रदेश नं १ का सबै जिल्ला पूर्ण खोप सुनिश्चित घोषण भएसँगै प्रदेशले पनि खोप सुनिश्चित भएको प्रदेशको रूपमा घोषणाको तयारी गरेको छ। प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत प्रदेश १ सरकारले चाँडै प्रदेशलाई पूर्ण खोप सुनिश्चित भएको प्रदेशको रूपमा घोषणा गरिने बताउँछन् ।
प्रदेश १ मा १४ जिल्लामा १२ जिल्लाले पूर्ण खोप घोषणा गरिसकेका थिए बाँकी रहेको दुई जिल्ला पनि घोषणा भएपछि प्रदेश १ का सबै जिल्ला घोषणा भएको उनले बताए ।
पूर्ण खोप घोषणा खोपको संस्थागत विकासको प्रारम्भ हो, त्यसपछि त्यस क्षेत्रका बालबालिका कुनै पनि खोपबाट वञ्चित हुनु हुँदैन । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिने व्यवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।
अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालबालिकालाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको उनको दाबी छ ।
राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । खोप लगाई सकेपछि वडाले सम्बन्धित स्थानीय पालिका, पालिकाले जिल्ला खोप समन्वय समिति र जिल्ला खोप समन्वय समितिले प्रदेश खोप समन्वय समितिमा खोपको सबै मापदण्ड पूरा गरेको प्रमाणित भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा हुन्छ ।