स्टेचरमै शिशुको जन्म

मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिका-६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो ।

‘गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो । एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ । उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ,’ स्थानीय रामबहादुर बटालाले गुनासो गरे ।

उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिएकी हुन् । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए । ‘दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ,’ उनले भने, ‘यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।’

यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएको उनको भनाइ छ । ‘अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ,’ उनले भने, ‘ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।’ -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *