माओवादीलाई वेवास्ता गरेको भन्दै कर्णाली प्रदेशसभा बैठक बहिष्कार

सुर्खेत । माओवादीका सांसदले कर्णाली प्रदेश सभाको बैठक बहिस्कार गरेका छन् । मंगलबार बसेको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरूले बहिस्कार गरेका हुन् ।

सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरूले दसौँ अधिवेशनको २६ औँ बैठक बहिस्कार गरेका छन् ।

माओवादीबाट प्रदेशसभा सदस्य गोपाल शर्माले सभामुख राजबहादुर शाहीसँग समय मागेर सुरुमै सरकार एकलौटी हिँडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाए । उनले यस्तो अवस्थामा प्रदेशसभाका कुनै पनि काम कारबाहीमा सहभागी हुन नसक्ने बताए ।

सांसद शर्माले भने, ‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण बेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो । तर, यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको देखियो ।’

सांसद शर्मा आफू आर्थिक मन्त्री हुँदा अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको तर, हालको सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्री गराएको भन्दै आरोप लगाए ।

यस्तै, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनेको, शान्ति पुनर्स्थापना, सिञ्जा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचीमा पर्न नसकेको गुनासो गरेका थिए ।

शर्माले आफ्नो भनाई राखी सकेपछि माओवादीबाट सरकारमा सहभागी मन्त्री, काँग्रेसका सांसद, मन्त्री र एमालेका सांसदहरू बाहेक अन्य माओवादीका सांसदहरू बैठकमा नबसी उडेर हिँडेका थिए । त्यसपछि आधा घण्टा लागि स्थगित भएको बैठक पुन बसेको छैन ।

कर्णालीमा काँग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धन सरकार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *