गठबन्धनभित्र ‘उप-गठबन्धन’काे कसरत, कांग्रेस भन्छ- सहज छैन
काठमाडाैँ । प्रादेशिक र सङ्घीय निर्वाचन नजिकिँदाे छ । निर्वाचन आयाेगले मंसिर पहिलाे हप्ताभित्र निर्वाचन गराउनेगरी तयारी थालेकाे छ । आयाेग मंसिर पहिलाे हप्ताभित्र सरकारले निर्वाचन घाेषणा गर्नेमा ढुक्कजस्तै छ । त्यसाे त सरकार पनि साे मितिमा निर्वाचन गर्न/गराउन ‘कन्भिन्स’ छ । यसरी हेर्दा अब निर्वाचन हुन पूरापूर ४ महिना बाँकी छ ।
निर्वाचन सन्निकट हुँदैगर्दा राजनीतिक दलहरू ‘शक्ति आर्जन’काे बहस, छलफल तथा बैठक-वार्ताहरूमा जुट्न थालेका छन् । यसैबीच मंगलबार मात्रै दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबाहेकका वामपन्थी दलका नेताहरू ‘शक्ति आर्जन’लाई नै प्रमुख मुद्दा बनाएर दाेस्राेपटक भेटवार्ता गरेका छन् । यसअघि पनि भेटवार्ता गरिसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गाैतमबीच हिजाे दाेस्राे पटककाे छलफल भयाे ।
वाम ध्रुवीकरणका हिमायती यी नेताहरूबीच मूलत: दुई मुद्दाबारे छलफल भयाे । पहिलाे, कांग्रेससँगकाे गठबन्धन कायम राखेर विचार मिल्नेहरूसँग एकता र दाेस्राे, नेकपाकालीन सचिवालय ब्यूँताएर एमालेसँग पनि वार्ता । पहिलाे मुद्दाबारे त बैठकपछि प्रचण्डले बाेले नै तर, दाेस्राे मुद्दाबारे भने उनले केही बाेलेनन् । यद्यपि छलफल भने भएकाे थियाे ।
जे हाेस्— यी शीर्षस्थ वामपन्थी नेताहरूकाे ध्याउन्न ‘शक्ति आर्जन’मै छ ।
यहीअन्तर्गत यी नेताहरूबीच गठबन्धनभित्र उप-गठबन्धन निर्माणबारे पनि छलफल भइरहेकाे छ । नेताहरूले पाँच दल आसन्न निर्वाचनमा गठबन्धनकै रूपमा जाने भनेर दाेहाेर्याइ रहेपनि समीकरण फेरिनसक्ने आकलन गरिएकाे छ । त्यसलाई उप-गठबन्धन बन्ने कुराले पनि ‘म्याटर’ गर्ने विश्लेषण खासगरी कांग्रेस वृत्तमा छ । उसाे त तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदमविरुद्ध मात्रै एक कित्तामा उभिएका पाँच दलकाे गठबन्धन सधैँ नरहनेमा गठबन्धनसम्बद्ध दलका नेताहरू पनि प्रष्ट छन् ।
यसकारण पनि उप-गठबन्धन निर्माणकाे तयारी थालिएकाे बताइन्छ । माओवादी केन्द्रका एक नेता उप-गठबन्धन वर्तमान पाँचदलीय गठबन्धनविरुद्ध नभएकाे प्रष्टाेक्ति दिन्छन् । त्यसमा एमाले-कांग्रेस भने ‘स्कीप’ हुने उनी बताउँछन् उनी । ‘नेपाली कांग्रेसकाे राजनीतिक बाटाे अलि फरक हाे,’ उनले मकालुखबरसँग भनेका छन्, ‘त्यसबाहेकका गठबन्धनमा रहेका ४ दलहरूकाे बाटाे लगभग मिल्छ । उनीहरू सबै दलले आफूलाई समाजवादकाे हिमायती र प्रगतिशील शक्ति भन्छन् । यसाे हुँदा पनि त्यसकाे प्रयास गरिएकाे हाे । तर कांग्रेससँगकाे सम्बन्ध पनि नबिगार्नेगरी त्याे बन्ने हाे ।’
‘उप-गठबन्धनका लागि काम गर्दैछ अनाैपचारिक कार्यदल’
विश्वस्त सूत्रकाअनुसार उप-गठबन्धन निर्माणका लागि एक अनाैपचारिक कार्यदलले काम गरिरहेकाे छ । त्यसका लागि शुरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच ‘एकता संयाेजन समिति’ बन्ने र त्यस समितिले एमालेबाहेकका वामपन्थी दलहरूलाई सँगै उभ्याउन प्रयास गर्नेछ । यसका लागि अनाैपचारिक कार्यदलले काम गरिरहेकाे छ । अनौपचारिक कार्यदलमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ छन् भने एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र प्रमेश हमाल र जसपाबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ छन् ।
अनाैपचारिक कार्यदलका एक सदस्यकाअनुसार समितिले अन्य स-साना वामपन्थी दलहरूलाई पनि सहभागी हुन आह्वान गर्नेछ । त्यसमा वामदेव गाैतम नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराईले गठन गर्न लागेकाे समावेशी लाेकतान्त्रिक पार्टीलगायतका दलहरू पनि सहभागी हुने तीन सदस्यले बताएका छन् ।
कार्यदलले काम गरिरहेकाे स्वीकार्दै एक सदस्यले भनेका छन्, ‘त्यसलाई कार्यदल भन्ने कि नभन्ने कुरा हाेला । तर हामी सधैँ नै वाम एकताकाे पक्षमा त छाैँ नि । त्यसाे हुँदा अहिले पनि भइ नै रहेकाे छ । त्यसमा स्वाभाविकरूपमा छलफल भइरहेका छन् ।’
‘गठबन्धनभित्र उप-गठबन्धन सहज छैन’
कांग्रेस नेताहरू गठबन्धनभित्र उप-गठबन्धन बन्ने कुरा सहज नभएकाे बताउँछन् । नेता एनपी साउद भन्छन्, ‘गठबन्धनभित्र उप-गठबन्धन बन्ने कुरा त खास सहज कुराचाहिँ हाेइन, तर पनि त्याे उप-गठबन्धनकाे प्रयाेजन के हाे भन्ने कुरामा पनि मुख्य कुरा छ ।’
नेता साउद उप-गठबन्धनका कारण गठबन्धनमा कुनैखाले असर पर्न नहुनेतर्फ संकेत गर्छन्, भन्छन्— ‘हाम्राे चाहना भनेकाे गठबन्धन बाँचिरहाेस् भन्ने नै हाे । हिजाे विशेष अवस्थामा बनेकाे याे गठबन्धन अझै रह्याे भने सबैका लागि राम्रै हुन्छ भन्ने हाे ।’
अर्का नेता मीनबहादुर विश्वकर्मा पनि साउदसँग सहमत छन् । सबैभन्दा पहिले उक्त उप-गठबन्धनकाे प्रयाेजनबारे आफूहरूलाई जान्न दिनुपर्ने बताउँछन् उनी, भन्छन्— ‘गठबन्धनभित्र उप-गठबन्धन बन्ने कुरा अलिक नाैलाे खाले नै छ । हामीले पनि विभिन्न समाचारहरूमा देखेका छाैँ । नेताहरू भेटिरहनुभएकै पनि छ । उहाँहरूले बनाउन लाग्नुभएकाे उप-गठबन्धन खै कस्ताे उप-गठबन्धन हाे । पहिले केही आधिकारिक आओस् अनि थप कुरा गराैँला ।’
कांग्रेसकै अर्का नेता गठबन्धनभित्र उप-गठबन्धन बनाउने कुरा राम्राे नभएकाे बताउँछन् । उप-गठबन्धनबारे आधिकारिकरूपमा केही बाहिर नआएकाले धेरै नबाेल्ने उल्लेख गर्दै ती नेताले भनेका छन्, ‘बाहिर सञ्चारमाध्यममा मात्रै हामीले पनि देखेका हाैँ । आधिकारिकरूपमा सम्बन्धित दल तथा नेताहरूबाट आएकाे छैन । तर त्याे कुरा साँचाे हाे भने त्याे गर्न नहुने काम हाे ।’
उनी त्यसले वर्तमान गठबन्धनलाई सकसमा पार्ने बताउँछन् ।