प्रेमिका बनेर बालिका अपहरण गर्ने पक्राउ, बालिकाको उद्धार
विराटनगर । करिब २ महिना अगाडि बुढीगंगा गाउँपालिका १ का दीपेन यादवको मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आयो । उक्त फाेनमा कुराकानी हुँदै जाँदा फाेन गर्ने व्यक्ति विराटनगर महानगरपालिका वडा नम्बर ५ की अनु साह रहेको दीपेनले थाहा पाए ।
अनुलाई फोन गर्न लगाउने व्यक्ति थिए, विराटनगर महानगरपालिका वडा नम्बर ५ रामपुरका रवीन्द्र साह । साहले नै अनुलाई पटकपटक फोन गर्न लगाई यादवसँग नजिक हुन र सम्बन्ध बढाउन लगाए । अनु र दीपेन यादवबिच कुराकानी तथा भेटघाट हुने क्रम बढ्दै गयो । सोही क्रममा दीपेनले आफ्नो श्रीमती काठमाडौँ बस्ने गरेको र आफ्नाे एउटा बच्चा समेत रहेको अनुलाई सुनाएका थिए ।
रवीन्द्र र अनुको चिनजान विगत २–३ वर्ष पहिलादेखि रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिए ।
यस्तो छ घटना
घटना साउन २ गते सोमवार बिहान ९ बजेको हो । विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोक, महेन्द्र मोरङ कलेज मोडमा बुढीगंगा गाउँपालिका वडा नम्बर १ का दीपेन यादव र उनकी १ वर्षीय छोरी त्यहाँ पुगे । त्यहाँ बोलाउने उनै अनु थिइन् । अनुले विगत केही दिनदेखि छोरी हेर्ने कर गरेका कारणले दीपेन यादव आफ्नी १ वर्षीय छोरी निशिकालाई कारमा लिएर रोडशेष चोकमा पुगे । रोडशेषमा रहेको स्वागतम होटेल अगाडि अनु साहलाई कारमा चढाएको प्रहरीको अनुसन्धानबाट खुलेको डिएसपी कार्कीले बताए ।
कारमा बस्दा अनुले आफूसँग ल्याएको बच्चाको कपडा फेरेकी र पुरानो कपडा उनैले साथमा लगेको पनि प्रहरीले जनाएको छ । उनीहरू दुवै जना महेन्द्र मोरङ क्याम्पस जाने रोडको चिया पसलमा गएर दुई कप चिया अर्डर गरे पनि अनुले चिया खान नमानेको र मास्क लगाई बसेको प्रहरीको दाबी छ । ‘उक्त समयमा कारबाट ओर्लँदा र चिया अर्डर गर्दा समेत बच्चा अनुले बोकेको अनुसन्धानबाट खुल्यो’, डिएसपी कार्कीले भने, ‘केही समयपछि अनु साहले दीपेनसँग मोबाइल मागी फोन गर्नु छ भनेर बाहिर निस्केर हिँडेको फेला पर्यो ।’
उनी बाहिर निस्किएको समयमा रवीन्द्र कुमार साह पहिले देखिनै सोही स्थानमा मोटरसाइकल लिएर अनु र बच्चालाई कुरेर बसेका थिए । बच्चालाई लिएर निस्किएकी अनु रवीन्द्रको प्र ०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी दुहबीको बाटो इनरुवा हुँदै सप्तरीको राजविराज हुँदै कुनौली पुगेको प्रहरीको भनाई छ ।
कुनौलीबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रवीन्द्र कुमार साह सोही दिन फर्केर विराटनगर आएको प्रहरीको अनुसन्धानबाट खुलेकाे छ । रवीन्द्रले अनुको मोबाइलमार्फत् पीडित परिवारलाई फेसबुक लगायत सामाजिक सञ्जालमा बालिका हराएको कुरा पोस्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिएको प्रहरीले जनाएको छ ।
भारतको दरभंगाबाट पक्राउ
बालिका लिएर फरार रहेकी अनु साह बच्चालाई लिएर दुई दिनदेखि दरभंगामा बस्दै आएको प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको थियो । अनुसन्धानको क्रममा आज बिहान ८ बजे नेपाल भारतको बोर्डर क्षेत्रबाट अपहरित बालिकाको सकुशल उद्धार गरी बालिका अपहरण गर्ने अनुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
त्यस्तै, रवीन्द्र साहलाई बुढीगंगा १ मा रहेको श्रीराम ट्रेडर्सबाट पक्राउ गरिएको डिएसपी कार्कीले बताए । डिएसपी कार्कीका अनुसार पक्राउ परेका दुबै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरू विरुद्ध फौजदारी संहिता २०७४ अनुसार ७ देखि १० वर्ष सम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।