बाजुरा समन्वय समितिमा एमालेको एकल उम्मेदवारी
धनगढी । जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल उम्मेदवारी परेको हो ।
जिल्लाका ९ वटा स्थानीय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउँपालिकामा गरी ४ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।
त्रिवेणी नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका गरी २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष नेकपा एमालेले जितेको छ भने उपाध्यक्ष नेपाली काँग्रसले जितेको छ । त्यस्तै हिमाली गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ भने उपाध्यक्ष नेकपा एमालेले जितेको छ ।
बुढीनन्दा नगरपालिका प्रमुख नेकपा एमालेले जितेको छ भने उपप्रमुखमा पनि एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । स्वतन्त्र उम्मेदवारको नेकपा एमालेलाई समर्थन रहेको छ । जम्मा १८ जनामध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली कांगेस पक्षका रहेका छन् ।
समन्वय समितिमा नेकपा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए । उनका अनुसार नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछी सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतराले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसै गरी महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्बदेबी विकले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतरतको कार्यालयले जनाएको छ ।
जिल्लका सबै स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात् असार ३२ गते कार्यपालिकाको निर्वाचन सम्पन्न भएको पत्र प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन २ गते जिल्ला समन्वय समितिको निर्वाचनका लागि कार्यपालिका सार्वजनिक गरेको थियो ।
साउन ५ गते उम्मेदवारी दर्ता गरी साउन ६ गते उम्मेदवारको विरोधमा उजुरी र मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै साउन ७ गते उम्मेदवारको नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने तालिका छ । साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने र निर्वाचन हुने कार्यक्रम रहेको छ ।