चित्लाङ : इतिहास र पुरातत्त्वको खुल्ला किताब
घुम्दा थकान मेट्न वा ‘फ्रेस’ हुनको लागि भन्दा पनि ज्ञानका लागि कति घुम्छौँ ? काम विशेषले मात्रै घुम्ने गरेको हामीलाई कुनै एक ठाउँले कति ज्ञान दिन सक्ला त ? कुनै एक ठाउँले एकै विशेषताले मात्रै भरिपूर्ण भएको देखिएको छ तर समाजका हर कुराले भरिपूर्ण ठाउँ कमैले थाहा पाएका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने कमैले मात्र मान्छेमा घुम्नका लागि नभएर ज्ञानकै खोजीका लागि घुम्न निस्किने बानी छ ।
कामको बोझबाट हल्का हुन होस् या पारिवारिक छुट्टीको लागि मात्रै नभएर केही कुरा सिक्नकै लागि प्रेरित गर्ने ठाउँ हो ‘चित्लाङ’ । चित्लाङ यस्तो ठाउँ हो, जसले घुम्नेहरूको लागि मनोरञ्जन मात्रै नभए र ज्ञानको खोजीको लागि हिँड्नेहरूका लागि पनि अब्बल गन्तव्यको सूचीमा पर्ने गर्दछ ।
संस्कृति र संस्कारको खानी
नेपालमै दुर्लभ ३ वटा गजुर भएको शिवालय चित्लाङमा छ । ढुङ्गाबाट बनेको यस गजुरमा कला र शिल्पको बेजोड नमुना देख्न सकिन्छ । मन्दिरसमेत ढुङ्गैढुङ्गाले बनेको छ । अहिले यस मन्दिरकाे गजुर धातुको बनाइए पनि पहिला यसकाे गजुर ढुङ्गाबाट बनाइएको थियाे । शिवरात्रि, बाला चतुर्दशी तथा अन्य शिवको आराधना गर्ने चाडमा यस ठाउँमा मेला लाग्ने गरेको पाइएको छ ।
ऐतिहासिक पदमार्ग
विक्रम संवत् १९५५ मा त्रिभुवन राजमार्ग बन्नु भन्दा अगाडि यही बाटो हुँदै तराई र काठमाडौँको यात्रा हुने गर्दथ्यो । स्थानीय सुन्दरमान बलामी भन्छन्, ‘यो ठाउँ पहिलेपहिलेका यात्रीहरूले भारतसम्म जान र भारतीय तीर्थ यात्रीहरूको पशुपतिनाथ आउनका लागि प्रयोग गरिने बाटो हो ।’ स्थानीयहरू पनि यही बाटो हुँदै भिमफेदी देखि फर्पिङ कुलेखानी पुग्ने गरेको र थानकोट हुँदै काठमाडौँ छिर्ने गरेकाे उनले बताए ।
पुरातात्त्विक महत्त्व
चित्लाङमा कुनै समय धेरै नै पाटी पौवाहरू हुने गरेको र ती पाटी पौवाहरू यात्रीहरूका लागि बन्ने गरेको जनविश्वास रहेको छ । यस्ता पार्टी पौवाहरूमा हामीले काष्ठकलाको निकै नै महत्त्वपूर्ण सिर्जनाहरू देख्न सक्दछौँ । यहाँका स्थानीयहरू भन्ने गर्छन्, खासै प्रमाण नभेटिए तापनि यहाँका पाटी पौवाहरू १७औँ देखि १८औँ शताब्दीसम्म बनाइएका हुन् । अहिले यीमध्येका केही पाटी पौवाहरूमा इलाका प्रहरी कार्यालय र सामुदायिक पुस्तकालय स्थापित गरी संरक्षित गरी रहेका छन् ।
चन्द्रशमशेरको दरबार
विक्रम संवत् १९६० तिर बनेको भनी अनुमान गरिएका दुईवटा दरबारहरू पनि चित्लाङ छन् ।
यी दरबार तत्कालीन श्री ३ र श्री ५ का लागि बनाइएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । त्याे समयमा राजा महाराजाहरू यही बाटो तराईदेखि भारतका विभिन्न सहरसम्म जाने हुँदा यही ठाउँमा आई बास बस्ने गरेको स्थानीयकाे भनाइ छ । कहिलेकाहीँ यहीँ आई पारिवारिक जमघट गर्ने गरेको समेत स्थानीयले बताए । अझ अचम्मको कुरा के छ भने यी भवनहरूले नेपालका दुवै महाभूकम्पकाे सामना समेत गरेका छन् ।
नेपालकै पुरानो बाख्राको चीज उद्योग
चित्लाङ नेपालकै पुरानो चीज उद्योगका कारण पनि प्रसिद्ध छ । यहाँ बाख्राको दूधबाट विभिन्न प्रकारको चीजहरू उत्पादन हुने गरेको छ ।
सातधारा
विक्रम संवत् २०७२ को भूकम्पपछि तहसनहस भएको यस ठाउँको सातधाराले पनि इतिहासमा निकै ठूलो र महत्त्वपूर्ण स्थान ओगटेर बसेको छ ।
अशोक चैत्य
चित्लाङको अशोक चैत्य पनि नेपालको इतिहासमा महत्त्वपूर्ण रहेकाे छ । यसै चैत्यका कारण यो ठाउँको नाम चित्लाङ रहन गएको स्थानीय बासिन्दाकाे भनाइ छ । चित्लाङ भन्ने शब्द चैत्य ‘ल’बाट अपभ्रंश भई आएको शब्द हो । नेवारी भाषामा ल भनेकाे बाटाे हुने स्थानीयले जानकारी दिए ।
चित्लाङमा विभिन्न समुदायका बस्तीहरू रहेता पनि गुरुङ जात विशेषकाे घर भने एउटा मात्रै छ । उक्त परिवारका तीनचार पुस्ता यही ठाउँमा हुर्किए तापनि गुरुङ घर भने अझै पनि एउटा मात्रै रहेको छ ।
यस ठाउँको ऐतिहासिक प्राकृतिक र सांस्कृतिक महत्त्व त छँदैछ, साहित्यिक महत्त्व पनि ठूलो छ । यहाँका स्थानीयहरूका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटा पत्रयात्रामा आएका बेला उनकाे साहित्यिक जीवनकै महत्त्वपूर्ण रचना ‘यात्री’ कविता चित्लाङमै सिर्जना भएकाे हाे ।