नेपालमै बसेर बेलायतको डिग्री गर्ने ११५ विद्यार्थी दीक्षित
विराटनगर । नेपालमै बसेर बेलायतको डिग्री गर्ने ११५ जना विद्यार्थी दीक्षित भएका छन् । विराटनगर इन्टरनेसनल कलेजका तेस्रो र चौथो ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका हुन् ।
बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको सहकार्यमा सञ्चालित चार वर्ष अध्ययन पश्चात् विद्यार्थीहरू दीक्षित भएका हुन् । विराटनगरमा एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । कलेजका ११५ जना विद्यार्थी दीक्षान्त कार्यक्रममा सामेल भएको कलेजका अपरेसन प्रमुख विवेक दाहालले जानकारी दिए ।
बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयका प्रो–उपकुलपति टिम स्टिलले विद्यार्थीहरूलाई दीक्षित गरेका थिए । उनले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको र नेपाली बजार मात्रै हैन विश्व बजारलाई काम लाग्ने जनशक्ति उत्पादन गर्न सफल हुँदै आएको बताए ।
विराटनगर इन्टरनेसनल कलेजमा इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टसहित विगत ८ वर्षदेखि इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र विगत २ वर्षदेखि इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुँदै आएको छ ।