प्रदेश १ : सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
विराटनगर । प्रदेश १ का विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । संखुवासभा, झापा, सुनसरी र मोरङमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
संखुवासभाको खाँदबारी नगरपालिका-९ मा बा२० च ९५०२ नम्बरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका-५ भोजपुरकी भूमिका विष्टको ३ वर्षीया छोरी मनिषा विष्टलाई ठक्कर दिएको छ । घाइतेको स्थानीय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा मे. १ ख ३२३० नम्बरको बसले को।३७ प १४३५ नम्बरको मोटरसाइललाई ठक्कर दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगर पालिका-२० तरहरा सुनसरीका २६ वर्षीय रोयल राईको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको कमल गाउँपालिका-१ मा प्रदेश १-०१-०१३ प ४३४२ नम्बरको स्कुटरले ठक्कर दिँदा भएको दुर्घटना पैदल यात्री स्थानीय ७० वर्षीया मनमाया बाँस्कोटाको मृत्यु भएको छ । शनिवार साँझ बिएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
गएराती सुनसरीको रामधुनी नगरपालिका-७ स्थित सडक खण्डमा प्रदेश १-०२-०४७ प ७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका-१६ का १८ वर्षीय कृष्ण चौधरीको बिराटनगर स्थित बिराटनर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।