शून्य समय र विशेष समयमा उठेका विषय सम्बोधन भएन : कोइराला

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले शून्य समयमा र विशेष समयमा उठेका विषयलाई सरकारले सम्बोधन गर्न नसकेको बताए । संसदीय दलको तर्फबाट विशेष समय लिएर बोल्दै कोइरालाले धेरै कुराहरू सांसदहरूले उठाएको भए पनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनुपर्नेमा त्यो नभएको उनले बताए । ‘प्रदेश सभामा महत्त्वपूर्ण विषयहरू माननीय ज्यूहरूबाट उठान हुँदै आएको छ’, उनले भने, ‘शून्य समय र विशेष समयमा उठान भएका ती विषयहरूको जवाफ दिनुपर्छ त्यो भएको देखिएन ।’

सत्तारुढ दल भित्रकै नेपाली कांग्रेस संसदीय दलका नेता कोइरालाले यस अघि संघीय सरकारले रोक्का राखेको जग्गाको विषयमा उठाएको सवालमा पनि सरकारले जवाफ नदिएको बताए । रेल मार्ग तथा विमानस्थलको नाममा वर्षौं देखि जग्गा रोक्का रहेको बारेमा सदनलाई जानकारी गराइएको भए पनि सरकारको तर्फबाट कुनै पनि जवाफ नआएको उनले सभामा जानकारी गराए ।

प्रदेश सभामा उठाइएका विषयमा सरकारका मुख्यमन्त्री र मन्त्रीलाई जवाफ दिन आग्रह गरे । ‘कल्याणकारी राज्यको स्थापना होस् भन्ने हामी सबैको चाहना हो’, उनले भने, ‘रोक्का राखिएको जग्गाको अवस्थाको बारेमा सरकारको धारणा के हो ? त्यो बारेमा सरकारले जवाफ दिनु पर्छ ।’ रेलमार्ग, विमानस्थलमा रोक्का राखिएको जग्गाको रोक्काको अवस्थाको बारेमा जानकारी गराउन उनले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

बहुबर्षीय योजना के हुँदैछ ?

प्रदेश सभाको दशौँ अधिवेशनको बिसौँ बैठकको विशेष समयमा बोलेका कोइरालाले विगतमा योजना बनाइएको बहुवर्षीय सडकहरूको अवस्था के हुँदैछ भन्दै प्रश्न गरेका थिए । बहुवर्षीय योजनाका ठेकेदारहरू भाग्न थालेको काम नगर्ने अवस्थामा पुगेकोले त्यसको अवस्थाको बारेमा आफूले जानकारी लिन चाहेको उनको भनाई थियो ।

‘मेरो निर्वाचन क्षेत्रमा परेको बहुवर्षीय योजनाको निर्माण कम्पनी अहिले हिँड्ने अवस्थामा पुगेको छ’, उनले भने, ‘अहिले प्रदेश भरी भएको बहुवर्षीय सडक र पुलको अवस्था कस्तो छ त्यो जानकारी गराइयोस् । कुन योजनाको अवस्था के हो, कति पुरा भए ? कति बाँकी रहे र कुन योजनाको अवस्था के हो भन्ने सरकारलाई जानकारी गराउन आग्रह गर्दछु ।’

उनले अहिले किसानले मलखादको बारेमा पाएको दुःख र कष्टको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मलखादको अवस्था, खपत र मागको आधारमा त्यसको आपूर्ति अवस्थाको बारेमा पनि जानकारी गराउन आग्रह गरे ।

दुहबी–इनरुवा सडकको बारेमा पटक पटक कुरा उठाउँदै आएको पनि उनले सदनलाई जानकारी गराए । दुहबी–इनरुवा सडकको बारेमा दबाब समूह गठन भएकोले तत्काल सडक विस्तारको कामको बारेमा जानकारी गराउन आग्रह गरे । यो सडक सबैको चासो र चर्चाको सडक भएकोले सडक दुई लेन की चार लेन हो या मर्मत हुन मात्र लागेको हो रु भन्ने स्पष्ट जवाफ दिन सरकारलाई आग्रह गरे ।

नाममा तीन पहिचान

प्रदेश १ को नामकरणको बारेमा दलहरू आन्तरिक गृहकार्यमा रहेको बताएका छन् । ‘प्रदेश १ को नामकरण हुन बाँकी छ, अहिले पनि बाहिर नेताहरूले नारा जुलुस गरिनै रहनु भएको छ, उनले भने, दलहरू चुप लागेर बसेको छैन, हामीले पनि गृहकार्य गरिरहेका छौँ ।’ तीन खालका विचारहरू नामकरणको सवालमा आएको उनले बताएका छन् । एकल पहिचान, बहुपहिचान र साझा पहिचानको विषयमा अहिले छलफल अघि बढेको बताए । ‘अहिले साझा बिन्दु खोजेर जान सकियो भने सबैले अपनत्व लिएर सकिन्छ’, उनले भने, ‘हामी सबैले स्वीकार गर्ने नामको खोजीमा छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *