प्रदेशसभाभित्र सांसदकाे गुहार ! ‘ज्यान जोखिममा परेको फिलिङ्स भएको छ’

विराटनगर । प्रदेश १ को नामको बारेमा सांसदहरूले प्रदेशसभाभित्रै गुहार माग्न थालेका छन् । अहिले विभिन्न नाम लिएर विभिन्न समूहहरू सांसदको घर घेर्न आउने क्रम सुरु भएको भन्दै प्रदेशसभा सदस्य सर्वध्वज साँवाले प्रदेशसभा भित्रै गुहार भन्दै चिच्याएका हुन् ।

प्रदेश १ को नामकरणको विषयलाई लिएर प्रदेश १ का माननीय सांसदलाई बलीको बोका पाठापाठी बनाउन लागिएको उनको भनाई थियो । प्रदेश १ दशौँ अधिवेशनको बिसौँ प्रदेशसभाको शून्य समयमा बोल्दै उनले सांसदहरू अहिले अप्ठेरो अवस्थामा रहको बताए ।

‘गुहार.. गुहार… गुहार…. भन्न चाहन्छु, कहिले मुख्यमन्त्री घेराउमा पर्नुहुन्छ । कहिले हामी सभासदहरू घरघरमा घेराउमा पर्छौँ , बाटो–बाटो र चोक–चोकमा घेराबन्दीमा परेका छौँ, उनले भने, अहिले सदनमा आउँदा पनि घेराबन्दी तोड्दै आउँदैछौँ । अहिले पनि हामी छड्के छड्के परेर हामी यहाँ आइपुग्यौँ । किनभन्दा प्रदेशको नामकरणलाई लिएर अहिले सडकमा आन्दोलनहरू भइरहेका छन् । यो खतराबाट हामीलाई बचाउनुपर्‍यो भन्ने निवेदन गर्न चाहन्छु ।’

प्रदेशको नामको बारेमा केही समूहले कोसी राख्नुस् नत्र आउँदो चुनावमा पहिचानवादी आदिवासी जनजाति शून्य बनाइदिन्छौँ भन्ने गरेको अर्को समूहले किराँत लिम्बुवान–नाम राखेनौँ भने आउँदो चुनावमा कोसीमा बगाइदिन्छौँ भन्ने धम्की आएको उनले सुनाए ।

‘हामी बडो सकसमा माननीयहरू छौँ, साँवाले भने, भनेको मानेनौँ भने कोर्रा हान्छौँ भनेर पार्टी एकातिर उभिएको छ ।’ अर्कोतिर कोसी नामकरण गरेनौँ भने प्रदेशसभामा अर्को रिजल्ट दिन्छौँ भनेर भन्ने गरेको कारण हामी सांसदहरू बिलकुल अप्ठेरोमा छौँ, ज्यान जोखिममा परेको अप्ठेरो फिलिङ्स भइरहेको उनले सदनलाई जानकारी गराए ।

उनले प्रदेशसभा नियमावलीमा संशोधन गरेर भएपनि गोप्य मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरे । यस्ता नाम र निर्णयको बारेमा गोप्य मतदानको व्यवस्था गरियोस् उनले भने, ‘हैन भने जनमत संग्रह गरेर भएपनि टुंगो लगाइयोस् ।’ लाइन लागेर लेख्ने, हस्ताक्षर गर्ने खालको कानुनी व्यवस्थाले बलीका बाेका सांसद हुनेसमेत सांसदहरूको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *