विराटनगरका मेयरको सम्पत्ति : ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै गर्दा बाहिर हल्ला गरिएको भन्दा कम भएको भन्न थालिएको छ।
मेयर नागेश कोइरालाले आफ्नो सम्पत्ति विवरण महानगरपालिकामा सार्वजनिक गर्दै विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा ५ बिगाहा जग्गा रहेको उल्लेख गरेका छन् ।
सम्पत्ति विवरणमा मेयर कोइरालाले विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७ सय १९ दशमलव ७८ वर्ग मिटर अर्थात् ८५ कट्टा जग्गा कोइरालाको नाममा रहेको उल्लेख गरेका छन् ।
विराटनगर ११ मा ११ कट्टा जग्गा पनि आफ्नो रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उक्त जग्गा भाइको नाममा रहेको कैफियतमा उल्लेख छ । यो सबै सम्पत्ति पैतृक सम्पत्तिको रूपमा रहेको उल्लेख गरेका छन् ।
कोइरालाले ८० तोला सुन पनि आफूसँग रहेको उल्लेख गरेका छन् । उनको सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको छ । उक्त नगद पनि पैतृक सम्पत्तिबाटै आएको भनिएको छ।
कोइरालाले आफ्नो नाममा ३ करोड ३० लाख रुपैयाँ बराबरको टोयोटाको प्राडो रहेको विवरणमा उल्लेख छ । उक्त प्राडो पनि पैतृक सम्पत्तिबाटै खरिद भएको विवरणमा उल्लेख गरिएको छ ।