प्रत्येक टेम्पोका ‘खलासी’ बन्दै ६३ वर्षीय बाजे (भिडिओसहित)
काठमाडौँ ।
सातदोबाटो, कोटेश्वर, बानेश्वर…
लौ बसाैँ, बसाैँ, बसैँ…
प्रत्येक बिहान ८ बजेदेखि बेलुकी ६/७ बजेसम्म यो आवाज गुञ्जिरहन्छ लगनखेल चोकनजिकै । यी पात्र हुन्, ६३ वर्षीय मोहन लामा । उनी एकाबिहानै ग्वार्कोबाट हिँडेर लगनखेल पुग्छन् । ३ वटा दाँत मात्रै देखिने मुखले सिट्ठी फुकेपछि कामको आरम्भ हुन्छ उनको ।
त्यसपछि पुनः दोहोरिन्छन् उही शब्दहरू !
सातदोबाटो, कोटेश्वर, बानेश्वर…
लौ बसौँ, बसौँ, बसौँ…
एकपछि अर्काे टेम्पाेहरू उनकाे समीप हुँदै गुज्रिन्छन् । उनलाई भेटेका प्रत्येक टेम्पाेहरू केही छिनपछि गन्तव्यतर्फ सोझिन्छन् । तर, लामा बाजे त्यहीँ बसेर अर्काे टेम्पोका लागि मान्छे/यात्रु भेला गर्छन् । उनको यो क्रम विगत १२ वर्षयता चल्दैछ ।
यात्रु भेला गरिदिएबापत् उनले प्रत्येक टेम्पाेबाट २० रुपैयाँ आम्दानी गर्छन् । उनकाअनुसार दिनमा उनले यही प्रक्रियाबाट ४०० देखि ५०० सम्म कमाइ गर्छन् । आर्थिक अभावले भन्दा पनि घरमा त्यत्तिकै बस्न नपरोस् भन्ने ध्येयले आफूले त्यसाे गरिरहेकाे उनी बताउँछन् । ‘समयको सदुपयोगका लागि यो काम थालनी गरेको हुँ,’ उनले भने ।
सम्भवतः लामा याेखाले काम गर्ने पहिलो व्यक्ति हुन् भन्दा फरक नपर्ला । भन्छन्, ‘काम रमाइलै छ । यत्तिकै बस्नुभन्दा यो गर्दा ज्यानलाई सन्चो हुन्छ ।’ लामा बाजेको दिनचर्या सिठ्ठी बजाउनु र मान्छे/यात्रु भेला पार्नु हो । यो काम आफूलाई बडो सजिलो लाग्ने उनी बताउँछन् । धुमिल आँखा र सीमित मात्रै दाँत मात्रै देखिने लामा बाजे निरन्तरताको एक उदाहारण हुन् । उनी झरी, हावा–हुरी वा कुनै खाले विपति नभनीकन काममा लागिरहन्छन् । आफू पालिन कमाउन सकेकोमा हर्षबढाइँ छ उनको भन्छन्, ‘आफूलाई पाल्ने पैसा आफैँ कमाउँछु म ।’
टेम्पोबाट बाहिर निस्केर कराउनुपर्ने र यात्रुहरू बोलाइरहनुपर्ने, जम्मा गरिरहनुपर्ने झन्झटबाट मुक्त भएकोमा चालकहरू पनि दङ्गै हुन्छन् । लामा बाजेको कामसँग उनीहरू सन्तुष्ट नै देखन्छिन्, त्यसैले त उनलाई बीस/पचाससम्म दिन केहीजस्तो ठान्दैनन् । यो रूपमा भन्ने हो भने लामा बाजे त्यो बाटो हुँदै गुड्ने सबै टेम्पोका खलासी (सह–चालक) हुन् ।
यात्रुहरूलाई पनि कुनैखाले दुःख छैन । लामा बाजेलाई भेट्यो, केही छिन कुर्याे, टेम्पो चढ्यो गन्तव्यतर्फ सोझियो । यात्रुहरू लामा बाजेको प्रशंसा गर्न छुटाउँदैनन् । एक यात्रु भन्छन्, ‘उहाँ (लामा बाजे) को कामले ड्राईभर, खलासी र यात्रुहरू सबैलाई सहज भएको छ ।’
जहाँ समस्या, त्यहाँ समाधान भनेझैँ वृद्धावस्थाका लामा बाजे सबैको प्रेरणा र सहानुभूतिका पात्र बनेका छन् । उनले मजदूरीको नयाँ आयाम थपेका छन्, जीविकोपार्जनको नयाँ तरिका पत्ता लगाएका छन् । यस अर्थमा उनी एक प्रतिपादक पनि हुन् । उनकाे साहस उस्तै छ, भन्छन्— ‘काम गर्न उमेर होइन, साहस जाँगर आवश्यक पर्छ ।’
वास्तवमा नै लामा बाजे वर्तमान युगका लागि एक प्रेरणाका स्रोत बनेका छन् ।