प्रदेश १ सरकारको बहुवर्षीय योजनामा मनपरी मापदण्ड, ३० अर्बको सम्झौता, ८ अर्ब ७२ करोड दायित्व बाँकी

विराटनगर । प्रदेश १ सरकारले निर्माण सुरु गरेको बहुवर्षीय सडक र पुलको अवस्था अधुरो देखिएको छ । सरकारले दायित्व धेरै सिर्जना गर्दा निर्माण पूरा हुन निक्कै समय लागेको हो ।

बहुवर्षीय सडकको नाममा १ किलोमिटरको सडकलाई पनि हालिएको पाइएको छ । प्रदेश सरकार गठन भएर सञ्चालनमा आएपछिको दोस्रो वर्षदेखि सरकारले बहुवर्षीय योजनाहरू सञ्चालन गरेको थियो ।

प्रदेश १ सरकारले निर्माण सुरु गरेको बहुवर्षीय सडक र पुलको अवस्थाको बारेमा जानकारी दिँदै धेरै सडक र पुलहरू निर्माणको कामले गति लिन सकेको छैन । भुक्तानीमा ठुलो रकम बाँकी देखिएको छ । प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले प्रदेश १ सभाको दशौँ अधिवेशनको तेईसौँ बैठकलाई सम्बोधन गर्दै मन्त्रालय अन्तरगत सञ्चालनमा रहेका बहुवर्षीय सडक र पुलको विवरण सार्वजनिक गर्दै १.८१ किलोमिटर देखि ३२ किलोमिटरसम्मका सडकहरू बहुवर्षीय सडकमा परेको जानकारी दिए ।

विनियोजन भएका योजना ७ वटा कार्यालय मार्फत कार्यान्वयनमा एउटा पूर्वाधार विकास कार्यालयले २ वटा जिल्ला हेर्ने गरेको उनले बताए । भौतिक पूर्वाधार कार्यालय पाँचथर अन्तरगत ५ वटा बहुवर्षीय सडक, ३ वटा बहुवर्षीय पुलहरू निर्माणको काम सञ्चालनमा रहेको छ ।

पाँचथरमा ३ वटा बहु वर्षीय सडकको लम्बाई ३५ दशमलव ३७ किलोमिटर रहेको मन्त्री कार्कीले जानकारी दिए । त्यस्तै २ वटा बहुवर्षीय पुलहरू सञ्चालनमा रहेका छन् । ताप्लेजुङ जिल्लामा २ वटा बहुवर्षीय योजना सञ्चालनमा रहेकोमा १४ दशमलव ७३ किलोमिटर रहेको छ भने एउटा बहुवर्षीय पुल सञ्चालनमा रहेको छ ।

पाँचथर अन्तरगत सञ्चालन रहेका बहुवर्षीय योजनाको दायित्व १ अर्ब १५ करोड रहेको मन्त्री कार्कीले सदनलाई जानकारी गराए । पूर्वाधार कार्यालय झापा अन्तरगत १६ वटा बहुवर्षीय सडक, २५ वटा बहुवर्षीय पुलहरू मध्ये झापा जिल्लामा मात्र ११ वटा बहुवर्षीय सडकको लम्बाई १७० दशमलव १२ किलोमिटर रहेको छ । १६ वटा बहुवर्षीय पुल सञ्चालनमा रहेको छ ।

इलाम जिल्लामा ५ वटा बहुवर्षीय सडकको लम्बाई ११९ दशमलव ९३ किलोमिटर रहेको छ भने ९ वटा पुल सञ्चालनमा रहेको उनले जानकारी दिए । यी सडक र पुल निर्माण गर्दै गर्दा झापा मातहतमा रहेको भौतिक पूर्वाधार विकास कार्यालय मार्फत २ अर्ब २५ करोडको दायित्व रहेको छ ।

पूर्वाधार कार्यालय भोजपुर अन्तरगत ५ वटा सडक र १० वटा बहुवर्षीय पुल सञ्चालनमा रहेको छ । यो कार्यालय अन्तरगत भोजपुर जिल्लामा ३ वटा सडकको ४० किलोमिटर र ८ वडा पुल सञ्चालनमा रहेको छ । त्यस्तै धनकुटा जिल्लामा २ वटा सडकको ३५ दशमलव ३६ किलोमिटर र २ वटा बहुवर्षीय पुल सञ्चालनमा रहेको उनले जानकारी दिए । यी पुल र सडकको रकम भुक्तानी गर्न दायित्व ९५ करोड ८३ लाख रहेको छ ।

पूर्वाधार विकास कार्यालय संखुवासभा अन्तरगत ४ वटा सडक र ३ वटा बहुवर्षीय पुल सञ्चालित रहेका छन् । संखुवासभामा २ सडक ३३ दशमलव ६५ किलोमिटर र २ वटा बहुवर्षीय पुल निर्माणको काम अघि बढेको छ । तेह्रथुम जिल्लामा २ वटा सडक ३३ दशमलव ६३ किलोमिटर र एउटा बहुवर्षीय पुल सञ्चालनमा रहेको छ । यसबाट सो कार्यालयको भुक्तानी दायित्व १ अर्ब १४ करोड रहेको छ ।

पूर्वाधार विकास कार्यालय मोरङ अन्तरगत २१ वटा बहुवर्षीय सडक र २१ वटा बहुवर्षीय पुल रहेको छ । ओखलढुङ्गामा २ वटा बहुवर्षीय पुल, सोलुखुम्बुमा ३ वटा बहुवर्षीय पुल सञ्चालनमा रहेको छ । पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको पुलको ७३ करोड ५८ लाख भुक्तानी दायित्व रहेको छ ।

६६ सडक र १०९ वटा पुल बहुवर्षीय

प्रदेश सरकारले सञ्चालनमा ल्याएको ६६ वटा बहुवर्षीय सडक र १०९ वटा पुलहरूको कुल सम्झौता रकम ३० अर्ब ५० करोड रहेको मन्त्री कार्कीले सदनलाई जानकारी गराए । ‘यो रकम प्रदेश सरकारको १ आर्थिक वर्ष बराबरको हुन आउँछ’, मन्त्री कार्कीले भने, ‘हालसम्म सडक र पुलमा १६ अर्ब ८० करोड भुक्तानी भइसकेको छ ।’

चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्काका लागि ४ अर्ब ५८ करोड रकम विनियोजन गरिएको छ । कुल दायित्व बाँकी ८ अर्ब ७२ करोड रहने उनले जानकारी दिए । बहुवर्षीय सडक तर्फ भोजपुर, झापा र मोरङका एक/एक वटा गरी २६ किलोमिटर योजना सम्पन्न भएका छन् ।

१०९ वटा पुल मध्ये ६७ वटा पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । सबैभन्दा दायित्व बोकेको भौतिक पूर्वाधार कार्यालय झापाले २ अर्ब ३२ करोड भुक्तानी गर्नु पर्ने देखिएको छ । सबैभन्दा कम दायित्व रहेको भौतिक पूर्वाधार कार्यालय उदयपुरमा १२ करोड ९१ लाख दायित्व रहेको पनि उनले बताए ।

मापदण्ड फरक फरक

बहुवर्षीय आयोजनाहरू एकै खालका मापदण्ड र प्रकृतिका छैनन् । कुनै सडक कालोपत्रे हुने चरणबाट सम्झौता भएको छन्, कुनै सडक ग्राभेल मात्र हुने हिसाबबाट सम्झौता भएका छन् ।

‘भोक्राहामा सबैभन्दा छोटो १ दशमलव ८१ किलोमिटरको सडकलाई पनि बहु वर्षीय सडकको रूपमा सरकारले लिएर सञ्चालन गरेको छ, उनले भने, सबैभन्दा लामो बहुवर्षीय सडक ओखलढुंगा जिल्लाको क्षेत्र नम्बर १ अन्तरगतको रिङरोड ३२ दशमलव ३० किलोमिटर रहेको छ ।’ बहुवर्षीय सडक र पुलको समग्र प्रगति ६० प्रतिशत रहेको छ ।

प्रदेश सरकारको बहुवर्षीय योजना सम्पन्न भएपश्चात् प्रदेश १ मा ८८२ दशमलव २१ किलोमिटर सडक निर्माण हुने जानकारी दिइएको छ । सुनसरी जिल्लामा बहुवर्षीय सडक र पुलको बारेमा विस्तृत जानकारी दिएका कार्कीले ८ वटा सडकहरू निर्माण सञ्चालनमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *