सप्तकोशीको धार परिवर्तन : बोलाइयो विपद् व्यवस्थापन समितिको बैठक
विराटनगर । सप्तकोशी कटान क्षेत्रका नागरिकलाई सुरक्षित सार्न तथा व्यवस्थापन गर्नेबारे प्रदेश विपद व्यवस्थापन समितिको बैठक बस्दैछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मोरङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले कटान क्षेत्रको निरीक्षण गरेपछि बैठक बस्ने तयारी भएको हो ।
सुनसरी र उदयपुरको जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशको विपद् व्यवस्थापन समितिको संयुक्त बैठक बस्न लागेको हो । प्रभावित क्षेत्रमा पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रभावितहरुको सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।
अहिले तत्काल उद्दार गर्नुपर्ने भनेको उदयपुर तर्फको बेलका नगरपालिकाको दुई वटा वडा होचो ठाउँमा रहेकोले उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको मन्त्री कार्कीले मकालुखबरलाई जानकारी दिए । ‘उदयपुरतर्फको अवस्था तत्काल सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको छ,’ उनले भने, सुनसरीको बराहक्षेत्र तर्फको २ वटा वडा अलिक उचाईमा भएको कारण जोखिम मापन गरेर सारिने छ ।’
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिसहितको टोली मिलेर विपद्को ब्यवस्थापनमा लागेको बताए । ‘पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउन हामी लागेका छौँ,’ उनले भने, त्यसपछि राहत वितरण हुनेछ ।’ तत्काल सुनसरीको बराह क्षेत्रको २ वटा वडा र उदयपुरतर्फको बेलका नगरपालिकाको २ वटा वडामा समस्या देखिएको उनी बताउँछन् ।
प्रदेश १ सरकारका आन्तरिक ममिला तथा कानुनमन्त्री केदार कार्कीसहित, नेपाल प्रहरीका डिआईजी सुदिप गिरी, सशस्त्र प्रहरीका डिआईजी कमज गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहाल, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरु कटान क्षेत्रमा पुगेका छन् ।