यी नदीमा जलस्तर बढ्ने क्रममा रहेकाले उच्च सतर्कता आवश्यक
काठमाडौँ । देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भएको छ । गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।
कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पर्वत, गोरखा र आसपासका केही स्थानमा पनि भारी वर्षा भएकाले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बिहानसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
दोलखामा पनि गएराति भारी वर्षा भएको छ । तामाकोशी नदी, गोंगर जगतमा जलसतह ४.५२ मिटरले बढेको छ । जलस्तरले सतर्कता तह पार गरेको र नदी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेले बिहानसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्युठान र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । लुङ्गरी नदीमा जलसतह ३.५८ मिटरले बढेको छ । नदीमा जलस्तरले सतर्कता तह पार गरेको बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्ने विभागको आग्रह छ ।