आत्मविश्वासले दिएको सफलता !
धनगढी । सृष्टि देख्ने दृष्टि नै जब रहन्न तब धेरैले जीवनमा अघि बढ्ने साहस गुमाउँछन् । अझ छोरी मान्छेमा त्यो समस्या देखियो भने स्वयम छोरीलाई मात्रै होइन, समग्र परिवारलाई त्यसको नराम्रो असर पर्दछ ।
कैलालीको धनगढी उपमहानगरपालिका-५ की रूपा राईको पनि जीवनमा त्यही भयो । जन्मँदा स्वस्थ जन्मिएकी रूपाले कहिले कल्पना पनि गरेकी थिइनन् कि उनले जन्मँदा पाएको आँखाको दृष्टि केही वर्षका लागि मात्रै थियो भनेर । तर, एउटा सानो घटनाले रूपाको जीवन अन्धकारमय बनाउन खोज्यो । एउटा साहस नै थियो, जसले उनलाई कहिले पछाडि हुन दिएन ।
वि.सं. २०२४ सालमा बुवा बमबहादुर राई र आमा इच्छामाया राईको कोखबाट रूपाको जन्म भएको हो । जन्मथलो मलेसिया भएपनि रूपा ७ वर्षको उमेरमा पुर्ख्यौली घर भोजपुर आएकी थिइन् । त्यहीँ बस्दाखेल्दा उनलाई एक्कासि आँखामा समस्या आयो । धानको भूस आँखामा गएको निहुँ मात्रै भएको हो । तर, त्यही बेलादेखि रूपाको आँखाको दृष्टि धमिलो हुँदै गयो ।
रूपा १२ वर्षकी पुग्दा आँखाको ज्योति पूर्ण रूपमा गुम्यो । ‘ओखलमा कुटेको धानको भुस आँखामा गएको भन्ने बहाना भयो । थाहा थिएन, त्यसले यति ठूलो क्षति पुर्याउनेछ भन्ने । केही समय पछि त म पूर्णरूपमा दृष्टिविहीन बन्न पुगेँ’ रूपाले भनिन् ।
आँखामा समस्या देखिए लगत्तैदेखि उपचारका लागि बुवाआमाले रूपालाई देशविदेशका अस्पताल लगे । सबै ठाउँबाट एउटै जवाफ आयो- आँखाको ज्योति फर्काउन गाह्रो छ । कहीँ गएर केही सिप लागेन । ८ वर्षको उमेरमा आँखाको उपचारका लागि भारत गएका बेला रूपाका बुवाका एक जना साथीले रूपालाई विद्यालयमा भर्ना गर्न सुझाव दिए ।
भारतको पश्चिम बंगालको कालिम्पोंगमा दृष्टिविहीनलाई पढाउने विद्यालय रहेकाले त्यहीँ रूपालाई पनि भर्ना गरिदिन उनले रूपाका बुवालाई भने । रूपाका बुवाले सहजै मानेनन् । आमाले त सुरुवातमै नाइँ भनेको रूपाले बताइन् । रूपालाई विद्यालयमा भर्ना हुन त्यति सजिलो भएन । त्यो समयमा रूपाका बुवाआमा मलेसिया बस्थे । छोरी, त्यो पनि दृष्टिविहीन ! घरबाट टाढा अध्ययनका लागि जान रूपाकी आमाले अनुमति दिइनन् ।
आमाले विद्यालय नपठाएर रूपालाई घरमै राख्न खोजेकी थिइन । जसले रूपाको भागको सम्पत्ति खान्छ, उसैले उनको हेरचाह भनेर आमाले रूपाको जीवनभरको स्याहारको जिम्मेवारी दाजुभाइमा नै कसैले गर्छ भन्ने अडान लिएकी थिइन । रूपाको मनमा भने पढ्ने दृढ इच्छाशक्ति थियो ।
अध्ययन गर्न जान नदिए खाना नै नखाने भनेर रूपाले साता दिन सम्म ढिपी गरिन । अन्तिममा आमा रूपालाई अध्ययनका लागि भारत पठाउन राजी भइन् । ‘आमाले सहजै मानिनन् मलाई विद्यालय पठाउन । बरु अंश दिन्छु, पछि त्यहीबाट गुजारा भइहाल्छ भनिन्’ रूपाले भनिन्, ‘मलाई पढ्न मन थियो । पढेर आत्मनिर्भर बन्न मन थियो ।’
बुवाले रूपालाई विद्यालय भर्ना गरिदिएपछि आमा रूपासँग साता दिन सम्मै बोलिनन् । ‘जब मेरो आँखाको दृष्टि गयो, धेरैले अब यसको जीवन अन्धकारमा गयो भनेर भने । मैले भने शिक्षा आर्जन गरेर संसार उज्यालो देख्न खोजेकी थिएँ’ रूपाले भनिन्, ‘बुवाले विद्यालय भर्ना गरिदिएपछि मैले मन लाएर पढेँ ।’
रूपाले बंगालको कालिम्पोंगबाटै राम्रो अंक ल्याएर कक्षा १० सम्मको अध्ययनलाई पूरा गरिन । रूपाले ९ कक्षा पढ्दादेखि नै धरानको पूर्वाञ्चल ज्ञान शक्ति विद्यालयमा पढाउन शुरु गरिन् । ‘८ कक्षा सम्म विद्यालयकै होस्टेलमा बसेर पढेँ । ९ र १० कक्षाको परीक्षा धरानबाट कोचिंग लिएर परीक्षा दिन मात्रै भारत गए’ रूपाले भनिन् ।
रूपाले एसएलसी (एसइई) राम्रै अंकमा उत्तीर्ण गरिन् । त्यसपछि पनि रूपाको पढ्ने चाहना पूरा भएको थिएन । रूपाले धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरिन् । त्यहाँ उनले साधारण विद्यार्थी र शिक्षकहरूसँगै आफ्नो अध्ययनलाई अघि बढाउनुपर्यो । केही असहजता त भयो नै तर, रूपा पढाइमा मेहनती भएकोले शिक्षक र विद्यार्थी साथीहरूसँग छिटै घुलमिल भइन् । उनले भनिन्, ‘म सानैदेखि पढ्नमा जेहेन्दार थिएँ । त्यसैले साधारण विद्यालयमा पनि सबैले मलाई माया गरेँ । साथीहरूले कसैले विभेद गरेनन् । बरु कहिलेकाहीँ त साथीहरूबीच नै मलाई साथमा बसाउनका लागि मनमुटाव हुन्थ्यो ।’
रूपा कुराकानीकै क्रममा आफ्नो बाल्यकाल स्मरण गर्छिन्, ‘मेरो विद्यार्थी जीवन रमाइलो रह्यो । गुलाबी रंगको स्कर्ट, सेतो रंगको सर्ट, पहेँलो रंगको रिबन, पहेँलै रंगको स्विटर, निलो मोजा, कालो जुत्ता, चट्ट परेर कालो फित्ता भएको घडी, आहा ! आफूलाई आफैँले निकै स्मार्ट मान्थेँ म त्यो बेला’ रूपाले मन्द मुस्कान ओठमा ल्याएर विगत सम्झँदै भनिन् ।
धरानको महेन्द्ररत्न क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरिसकेपछि रूपाले पढाइलाई रोक्नुपर्यो ।
विसं २०४२ वैशाखमा रूपा कैलालीको धनगढी आइपुगिन् । काजमा जागिर खान भनेर आएकी उनलाई पछि त्यही स्थायी दरबन्दीमा काम गर्ने अवसर मिल्यो । राहत दरबन्दीमा पढाउन शुरु गरेकी रूपा राईले ३ दशक बढी समय कैलालीको धनगढी उपमहानगरपालिकास्थित पञ्चोदय उच्च माध्यमिक विद्यालयको स्थायी शिक्षक भएर प्राथमिक तह सम्म अध्यापन गराइन् । शिक्षण पेसाकै क्रममा रूपा अपांगता सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थामा पनि आबद्ध भइन् । त्यही क्रममा उनी विभिन्न देशविदेशमा हुने अपांगता सम्बन्धी गोष्ठी र सेमिनारमा सहभागी भइन् ।
रूपालाई आफ्नो अध्ययनबाट चित्त बुझेको थिएन । कार्यक्रमका सिलसिलामा देशविदेशमा भेटिएका साथीहरू र उनीहरूले गरेको शैक्षिक प्रगतिले रूपालाई लोभ्याउँथ्यो । त्यहीँ बाट उनलाई आफ्नो अध्ययन अघि बढाउन थप हौसला मिल्यो । उनले महेन्द्ररत्न क्याम्पस काठमाडौँबाट रोकिएको अध्ययनलाई अघि बढाइन् । ‘गोष्ठी सेमिनारमा भेटिएका साथीहरूको बिचमा आफ्नो परिचय दिँदा खल्लो लाग्थ्यो । उनीहरूको शैक्षिक योग्यता र त्यहीँ निर आफ्नो शैक्षिक योग्यतालाई दाँज्दा चित्त बुझेन । त्यसैले मलाई जसरी पनि स्नातक गर्छु भन्ने रहर लाग्यो । मैले गरेपनि’ रूपाले गर्वका साथ भनिन् ।
विसं २०६४ सालमा रूपाले जनसङ्ख्या विषयमा स्नातक गरिन् । रूपाले स्नातक उत्तीर्ण गर्दा हिजो उसले केही गर्न सक्दिन भन्नेहरू उसले गज्जबै गरी भन्न थाले । ‘आमा म सानै छँदा बितिन् । बुवाले मैले गरेको प्रगति देख्न पाए । मलाई सन्तानको रूपमा पाएकोमा बुवालाई गर्व महसुस भएको थियो । यो मेरा लागि ठूलो उपलब्धि थियो’ रूपाले खुसी हुँदै भनिन् ।
रूपाको तिन दशकदेखिको शिक्षण यात्रा विसं २०७९ वैशाख देखि रोकिएको छ । रूपा गत वैशाखमा शिक्षक पेसाबाट सेवानिवृत भएकी छन् ।
अहिले पनि उनको सक्रियता भने रोकिएको छैन । उनी अहिले सामाजिक कार्यमा बढी सक्रिय छिन् । ‘सुरुवातमा आँखाको ज्योति गयो भन्दैमा मैले हरेस मानेको भए, म आज यहाँ पुग्ने थिएन । मेरा बुवाआमाले सहयोग नगरेको भएपनि म यहाँसम्म पुग्ने थिएन’ रूपाले भनिन् ।
रूपा अहिले शारीरिक रूपमा अपांगता भएकाहरूको लागि मात्रै होइन, अन्य सबैका लागि प्रेरणाको श्रोत बनेकी छिन् । शारीरिक रूपमा अपांगता, त्यसमाथि छोरी मान्छे, रूपालाई समाजसँग संघर्ष गर्दै यहाँसम्म पुग्न कम्ता दुःख भने भएन । तर, रूपाले कहिले हिम्मत हारिनन् । त्यसैले त अहिले रूपाका आफन्तहरू केही सरकारी कामकाज गर्दा रूपासँग सल्लाह सुझाव लिने गर्दछन् । ‘आफन्तहरूमा धेरैजसो सुरक्षाकर्मीमा जागिरे छन् । मलाई भने धेरैले चिन्दछन् । देशविदेशमा मेरो बेग्लै पहिचान भएको छ । अहिले धेरैले केही काम गर्दा मसँग सुझाव लिने गर्दछन्’ रूपाले खुसी हुँदै भनिन् ।
पढ्न र पढाउनमा मात्रै होइन, रूपाको साहित्य तिरपनि उत्तिकै लगाव छ । मिठो स्वर भएकी रूपाले आफ्नै शब्दमा ‘सम्झौताको डुङ्गा भित्र’ नामक आधुनिक गीति एल्बम निकालेकी छन् ।
कहिलेकाहीँ मनको बह पोख्ने ठाउँ कतै नपाए शब्दहरूलाई पीडा बिसाउने चौतारी सम्झिने गरेको रूपाले सुनाइन् ।
सम्झौताको डुङ्गाभित्र एक्लै एक्लै डुबेछु
तराजुको जोखाइहरूमा कठै आफूलाई नै भुल्न पुगेछु ।।
फर्केर नआइदेऊ ए अतीत दुखेर आउँछ
जे हुनु भैगो सारा सम्झेर कहाली लाग्छ ।
अरूको भन्दा किन तिम्रै धेरै माया लाग्यो
सपनीमा देख्छु फेरि पनि झनै उनको माया लाग्यो ।।
उनले भनिन्, ‘मैले गीति एल्बम निकालेर बाँच्न खोजेकी होइन । तर भावी पीढीलाई मेरो बारेमा सुनेर गर्व होस् भनेर आफ्ना प्रतिभाहरू जोगाएर राख्न खोजेकी मात्रै हुँ ।’
उनले अहिले प्रविधिले सबैको जीवन सहज बनाइदिएको बताइन् । अहिले विगत जस्तो असहज अवस्था पनि नरहेकाले प्रविधिको सहायताले दृष्टिविहीनलाई पनि निकै सजिलो भएको उनले बताइन् । ‘सफल हुन साङ्ग हुनैपर्छ भन्ने छैन । मानिस मानसिक रूपमा तयार बन्न सकेँ, उसले गर्न नसक्ने काम केही पनि हुँदैन । मानिस सफल बन्न ऊ सँग लगनशीलता, धैर्यता र दृढ इच्छाशक्ति हुन जरुरी हुन्छ’ रूपाले भनिन् ।
केही समय अघिसम्म पनि बिहानै पाँच बजे उठेर घरको काम सकेर विद्यालयको काममा व्यस्त रहने रूपा अहिले विभिन्न सामाजिक काममा बढी व्यस्त देखिन्छिन् । रूपाको अहिले बढी समय अपांगता र दृष्टिविहीनका लागि योजना बनाउने र काम गर्नमा बितिरहेको छ । ‘दृष्टिविहीनहरूको एउटा समूह गठन गरेर कृषिमै उदाहरणीय काम गर्न मन छ’ रूपाले भनिन्, ‘३ दशक लामो समय विद्यार्थीहरूलाई शिक्षाको ज्योति दिए । अब पनि यसै आराम गर्न मन छैन । अब अपांगता भएका व्यक्तिहरूको लागि प्रशंसनीय काम गर्न मन छ ।’
मानिस जीवनमा आउने स-साना घटनाक्रमबाट हरेस खान्छ । रूपालाई पनि धेरैले बेला बेला अब रूपाको जीवन अन्धकारमय भयो भनेर बिझ्ने शब्दहरू पनि सुनाए । ‘हिम्मत दिनभन्दा धेरैले अब उसले केही गर्न सक्दिन भनेर भनेँ’ उनी भन्छिन्, ‘अहिले तिनै व्यक्तिले इच्छा र काम गर्ने चाहना भए मानिसलाई कुनै अभावले रोक्न सक्दो रहेनछ भनेर मेरो प्रशंसा गर्छन् ।’