‘तेप्लायु’ पढिसकेपछि…
काठमाडाैँ ।
‘काङमाङ नरेश राई’ द्वारा लिखित कविता सङ्ग्रह ‘तेप्लायु’ भरखरै पढिसकेँ । जसमा ५६ वटा कविता सङ्ग्रहित छन् । यस सङ्ग्रहलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो भने यस सङ्ग्रहको आवरण ‘चन्द्र रानाहँछा’ले बनाउनुभएको हो ।
काङमाङ नरेश राईलाई उनको अघिल्लो कथा सङ्ग्रह ‘नोभेम्बर ११’ बाट पढ्न थालेको हुँ । उक्त सङग्रह मलाई साँच्चै नै गज्जब लागेको थियो । उनले उक्त सङ्ग्रह कल्पनाको धरातललाई भन्दा बढी यथार्थको धरातललाई टेकेर अत्यन्तै प्रभावकारी ढङ्गले लेखेको पाएको थिएँ । उक्त सङ्ग्रहकै कारणले काङमाङसँग परिचित हुने मौका पाएको थिएँ । ‘नोभेम्बर ११’ कै कारणले गर्दा ‘तेप्लायु’ माथि अत्यन्तै बढी आपेक्षा थियो ।
‘तेप्लायु’मा कवितालाई तीनवटा भागमा छुट्याएर सङ्ग्रहित गरिएको छ ।
१. समसामयिक कवितामाथिः
समसामयिक कविता शिर्षक दिएर उनले २७ वटा कवितालाई समावेश गरेका छन्/छुट्याएका छन् । यसमा कविले देशको वर्तमान राजनीतिक स्थिति, भुइँ मान्छेको कुरा, वैदेशिक रोजगारीले पारेको प्रभाव समग्रमा वर्तमान देशको स्थितिलाई लेख्ने प्रयास गरेका छन् । कविताप्रतिको दृष्टिकोण आ-आफ्नै हुन्छ । कसैका लागि कविता भनेको एउटा सरल लाइन पनि नहोला भन्न सकिन्न । कसैका लागि महाकविले लेखेको, गुल्जारले लेखेको कविता पनि कविता नहुन सक्छन् । यसको मतलब कविताको अर्थ र मानक व्यक्तिनुसार फरक हुन सक्छ । कवि नरेश काङमाङ र ममा पनि कविताप्रतिको दृष्टिकोण फरक हुने नै भयो । तर दृष्टिकोण फरक हुँदैमा कसैले कसैको कवितालाई प्रमाणिकरण गर्न सक्दैन/अधिकार हुँदैन । मैले मेरो दृष्टिकोणबाट नियाल्दा ‘समसामयिक कविता’ भित्रका कवितामध्ये धेरै कविताहरूमा कविको हतारोपन देखेँ । यहाँका झण्डा, मान्छे, क्रान्तिकारीको अन्त्यजस्ता कविताहरूको भाव शक्तिशाली भएपनि कविताको प्रस्तुतिमा कविले कहीँकतै हतार गरे कि भन्ने लाग्यो ।
कविताको प्रस्तुतिमा हतारोपन देखिएता पनि कविताका केही पङ्क्तिहरू साँच्चै नै गज्जब छ ।
अन्तिम दिन
राम, गणेश र कृष्णका तस्बिरहरू आए
गीताका महावाणी आए
थानको थान बाइबलहरू आए
र राहतस्वरुप मन्द विष पिलाएर गए ।
(भूकम्प कविताबाट)
खोज्छु खुट्टाको डोब माटोमा
पाउँदिन आफैँलाई देशभित्र
(हराएको परिचयबाट)
त्यो बालक हुँदा
छोडेर मेलो जान्थेँ
मेरो दुधको मुन्टा चर्कन्थ्यो
दूधले छाती भिज्थ्यो
र बगेर झर्थ्यो उसको प्यास ।
(जेट पिलेनमै गयो होला)
हटिया भर्न जानेहरू
भिडैभिड आएर बिनासौदा घर फर्केजस्ता
(समयको आवरण)
घरैअघिबाट हुइँकिँदै जान्छ टिपर
गोजीबाट चस्मा निकाल्दै हेरिपठाउँछ टिपरलाई
डबकाको जाँडमा पस्छ धुलो
देब्रे हातले टोपी टक्टकाउँदै फत्फताउँछ काइँला–
गाँठे हो, कसैले नसोचेको हाम्रो गाउँको विकासे जिन्दगी !
सङ्ग्रह पढदै जाँदा ‘घर पक्कै ढल्छ होला’ भन्ने कवितामा रोकिएँ ।
कविता शुरू भएर ‘पखेटा नपलाएका मेरा छोराछोरी अब के गर्छन् होला ?’ भन्ने पङ्तिसम्म पुग्दा एउटा भत्किनै लागेको त्यो ग्रामीणा क्षेत्रको घरको नक्सामा देशको विगत र वर्तमानको अवस्था गज्जबले देखिएको छ/देखिन्छ/देखेँ ।
हुन त कविले आफ्नो दृष्टिकोणमा कविता लेखेको हुन्छ । पाठकले सोचेअनुरुपकै कविता हुनुपर्छ वा कविले पाठकको दृष्टिकोणअनुरुपले नै कवितालाई लेख्नुपर्छ भन्ने छैन । किनकी हामी मान्छे हौँ । हाम्रो सोच्ने तरिका पक्कै पनि फरक छ । यति जान्दाजान्दै र बुझ्दाबुझ्दै ‘पखेटा नपलाएका मेरा छोराछोरी अब के गर्छन् होला ?’ पछिका दुई कतबलशबहरूले कवितालाई दुर्घटित गराएको हो कि भन्ने लाग्यो ।
उसो त आयु छ भन्नुनै मृत्यु निश्चित छ भन्नु हो भने पनि कवितामा उक्त दुई पङ्क्ति नथपिन्जेलसम्म कविता एउटा लामो आयु भएको कविता/जुग बाँच्ने/अमर कविता थियो । तर जसै कवितामा दुई पङ्क्ति थपिए तब कविताको आयु ओली, प्रचण्डे, माधव, बाबुराम, झलनाथ रहिन्जेलसम्मलाई मात्र रहेको पाएँ ।
मेरो नजरमा अन्तिम दुई पङ्क्ति बिनाको यो कविता साँच्चै बलियो छ । तर अन्तिम दुई पङ्तिले कवितालाई अलि हलुका बनाइ दियो कि ?
खैर ! यो कुरा यो कविता प्रतिको मेरो/मात्र मेरो दृष्टिकोण हो । अरुले अरु तरिकाले नै यो कवितालाई देखेका/हेरेका/अनुभूत गरेका हुनसक्छन् । तर मेरो दृष्टिकोणमा दुई पङ्तिले एउटा सुन्दर कविता दुर्घटित भएको छ ।
२. युद्ध कविताः
कविले युद्ध कवितामा २३ वटा कविता समावेश गरेका छन् । कविको खास कवित्वचाहिँ यहाँका कविताहरूमा गज्जबले झल्किएको छ । अघिल्लो भागमा कविको कवित्व अलि कम झल्किएको पाएँ । कविले हतार गरेको पाएँ । तर, यस भागमा अटाएका कविताहरू वास्तवमै गज्जब छन् । यस भागमा अटाएका अधिकांश कविताहरू मेरो दृष्टिकोणमा पक्का कविताहरू छन् । कसरी पक्का कविताहरू छन् ? हुन् ? भनेर प्रश्न गर्नुहोला । यसको मसँग एउटै उत्तर छ, कविताको मानक पढ्ने पाठकअनुसारभिन्न हुन्छ होला र यस भागमा अटाएका कविताहरू मेरो दृष्टिकोणमा र मेरो कविता प्रतिको बुझाइमा पक्का कविता छन् ।
मेरो विचारमा यस भागमा अटाएका कविताहरूले उठाएका मुद्दा/बोकेको विषयहरू नेपाली साहित्यले/साहित्यकारले जान अन्जानरूपमा बहिष्कार गरेको हो वा बहिष्कार गर्न खोजिरहेको विषय हो भन्दा कति पनि फरक पर्दैन होला । किनकी जहाँसम्म मलाई लाग्छ, युद्ध साहित्यलाई अत्यन्तै कम प्राथमिकताका साथ नेपाली पाठक/लेखकले हेरेको/लेखेको/पढेको पाइन्छ/पाएको छु । लाहुरे जीवननै व्यतीत गरिरहेका/गरिसकेका अधिकांश कवि लेखकले युद्ध साहित्यलाई बेवास्ता गर्दै आएको छ । डायसपोरा साहित्यलगायतका अन्य साहित्यमाथि गम्भीर बहस हुँदा युद्ध साहित्यमाथि किन बहस भइरहेको छैन ? यो सोचनीय विषय हो । सय वर्ष पुरानो इतिहास बोकेको लाहुर जाने प्रवृतिमाथि हाम्रो साहित्यकार कविहरूले किन कलम चलाउँदैनन् ?
वैदेशिक रोजगारको पीडा देख्ने कवि/साहित्यकारले कश्मिरमा ज्यान गुमाएको लाहुरे किन देख्दैन ? युद्धबाट अङ्गभङ्ग भएर फर्किएको लाहुरे किन देख्दैन ? शरीरमा लागेको गोलीको दाग र मनोविज्ञानमा परेको चोट किन देख्दैन ? के हाम्रो कवि साहित्यकारको मनोविज्ञानमा साउदी कतार जानु मात्रै विदेशीनु हो ? हाम्रो कवि साहित्यकारको यो कस्तो मनोविज्ञान हो ?
युद्ध कविताअन्तर्गत समावेश भएका केही कविताका अंशहरू पढ्नुस् है त ।
र केहीबेरपछि आँखा उघार्छु
बुटबाट बगेर आँसु
कार्पेटमा बिलाइसकेको हुन्छ
म सोच्छु—
हामी सिपाहीको जिन्दगी आँसुजस्तै छ ।
…
(आँसुजस्तै छ युद्धबाट)
मलाई कस्तो राष्ट्रवादले
युद्धमा पुर्याइिदयाे ?
म जवाफ खोजिरहेछु ।
(एब्स्ट्रयक्ट युद्धबाट)
अन्तिम समय आयो
सम्झ एकपटक
जीवनसाथी
सानी छोरी
वृद्ध बाउआमा
र जन्मघर
एउटा सिपाहीको अपूरो कथा
यसरी पो लेखिएछ ।
(एक टुक्रा भविष्य)
…
घाइते शरीरहरू छट्पटाउन थाल्छन्
साहसी कथाहरू विस्तारै अन्त्य हुँदै जान्छन्
बिगुलको ‘लास्ट पोष्ट’ धुन बज्छ,
‘ब्रेभ अफ द ब्रेभेस्ट सोल्जर अफ द वर्लड ।
(आधा कथा)
……
अन्योलमा म
जीवनको पर्दालाई व्याख्या गरिरहेको छु
दुई शताब्दी पुरानो सिपाहीहरूका कपुरथानमाथि बसेर ।
(पर्दामा)
…..
जीवनलाई बलिदान दिने
कस्ता हुन्छन् सिपाहीका आत्मा ?
कस्ता हुन्छन् तिनका भविष्य ?
कस्ता हुन्छन् तिनीहरूका मायाले सजिएका आत्मकथा ?
र कस्ता हुन्छन् मृत्युपर्यान्त तिनीहरूले पाउने बहुमुल्य तक्माहरू ?
(मृत्युपछि)
…….
युद्धमा छु यतिबेला
मेरो जीवन
मेरै बाटो छेकेर
ठिंग उभिएको छ ट्रेन्चअघि ।
(युद्ध)
……
सपनीमा ब्युँझिन्छु
हेल्मेट छाम्छु टाउकोमा
साथी हेर्छु छेउछाउ
एक्लै हुन्छु ओछ्यानमा ।
अफगानबाट फर्किएपछि
निद्रा लाग्दैन मलाई
तिम्रो प्रेमले सजिएका यो सुन्दर कोठामा ।
(मनोविज्ञान)
……
पुर्खाका कथाहरू पढ्दापढ्दै
खै कसरी हो, म पनि कथा भइसकेछु ।
(नलेखिएको पीडा)
……
मेरो खसम !
बाँचेर म छोराहरूसँग
तिम्रो विरताले यसरी मरेकी छु
कसलाई सुनाऊँ तिम्रो वीरताको कथा ?
र मेरो फुटेको जिन्दगीको राग !
(विधवा पत्नी)
३. असमानताको अन्त्य आन्दोलनः
तीन भागमध्येको अन्तिम भाग ‘असमानता अन्त्यको आन्दोलन’अन्तर्गत ६ वटा कविता समावेश गरिएको छ । यसमा समावेश कविताहरू पहिलो भागको भन्दाचाहिँ पावरफूल कविताहरू लाग्यो । यस भागका कविताहरूमा कविको हतारोपन देखिनँ ।
कवि ‘फेरी हेर !’ शीर्षकको कविताको अन्तिम पङ्तिमा लेख्छन्ः—
…..
मान्छेको खोरीया फाँड्यौ
अहिले
युनियन ज्याकमा
तिमीहरूका मृत जवानी फरफराइरहेका छन् ।
कविले यसअन्तर्गतका कविताहरू ‘आदिवासी लाहुरे’ , ‘घामड राइफलमेन’ , ‘भिख नसम्झ !’मार्फत् लाहुरेको गुमेको स्वभिमान र आत्मसम्मान पुन:प्राप्तिका लागि प्रश्न गरेका छन् ।
यस भागअन्तर्गतको ‘सम्झनामै सकिनेछ’ कवितामा कविले आफ्नो सँगै धेरै लाहुरेको वर्तमान र आफ्नोसँगै धेरै लाहरूलेको निकट भविष्यका कुरा लेखेका छन् । जुन कविता पढ्दा पढ्दा हृदय चिसो भयो, भावुक पनि भएँ ।
यस भागको अन्तिम कविता हो ‘तेप्लायु’ । तेप्लायु ‘शब्द को किरात राई बान्तावा भाषामा ‘योनी’ अर्थ लाग्दछ । जुन शब्द नेपाली भाषाको लागि एउटा नयाँ शब्द साबित भयो । कविले यो शब्दलाई अत्यन्तै सुन्दररूपमा व्यापकता दिए ।
अन्त्यमा यो सङ्ग्रह पढिसक्दा कविले यी कविताहरू अझ कलात्मकरूपमा प्रस्तुत गरेको भए कस्तो हुन्थ्यो होला ? भन्ने लागिरह्यो । यो कुरा मलाई लागेको मात्रै पनि हुन सक्छ ।
कविलाई सन्दर कृति ‘तेप्लायु’को लागि हार्दिक बधाई ।
अन्त्य सम्म पढ्नुहुने पाठकजनलाई यरिक यरिक नोगेन । सेवारो !