जनै !

काठमाडौँ । नेपाली समाजमा आदिवासी जनजाति, सीमान्तकृत समुदाय र दलितहरूकाे संस्कार, संस्कृति अनि इतिहासको कुरा जति उठिरहेका छन् । त्यो अझै अपर्याप्त हुनसक्लान् । तरैपनि, नेपाली समाजमा उपल्लो दर्जामा बसेका भनिएका र धेरै अधिकारको भोगचलन गरिएका मानिएका आर्य समुदायको संस्कार, संस्कृतिहरू पनि नजानिँदाे पाराले हराउँदै गएकाे छ ।

बदलिँदो समाजको मागसँगै केही खुकुलो हुँदा वा परिवर्तित राजनैतिक तथा सांस्कृतिक वातावरणमा सापेक्ष हुँदै जाँदा संस्कार र संस्कृति पनि छाेडिँदै गएकाे पत्तै पाइरहेका छैनाैँ । यस्ता कैयन् आर्य समुदायका संस्कार र संस्कृति पनि हराउँदै गएका छन् । केही लोपाेन्मुख अवस्थामा पुगेका छन् ।

यसरी समाज बदलिँदै गर्दा समाजमा रहेका कुरीती र कुसंस्कार हराउँदै जानु त समाजको लागि भलो नै हुन्छ । तर, समाजलाई मार्गनिर्देशन गर्ने, सुदृढीकरण गर्ने संस्कार-संस्कृति हराउँदै जानु, सांस्कृतिक पक्षबाट मात्र नभइ आर्थिक, राजनैतिक, सामाजिक र ऐतिहासिक पक्षबाट पनि ठूलो घाटा हुनसक्छ । यस्तै परिवर्तनको चापमा परेर हराउँदै गएको एउटा संस्कार हाे—   जनै लगाउने संस्कार । आउनुस् यसबारे चर्चा गराैँ ।

के हो जनै ?

हिन्दु धर्मभित्र गरिने २४ कर्मकाण्डअन्तर्गत पर्ने उपनयन संस्कार गरिसकेपछी लगाइने एक पवित्र धागो हो जनै । सनातन हिन्दू वैदिक ग्रन्थअनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नका लागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह नै जनै हो ।

जसलाई तयार पार्दा ३/३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । त्यसका साथै यस्ता धागोमा पाँचवटा गाँठो हुने गर्दछ । उक्त गाँठाहरुले पञ्च यज्ञ पञ्च कर्म हुँदै पञ्च ज्ञानेन्द्रियको अर्थ बोक्ने गरेको जानकारहरू बताउँछन् ।

कसरी लगाइन्छ जनै ?

हालको समयमा जनैलाई खासै महत्त्व नदिए तापनि यसको प्रयोग भने वैदिक कालदेखि नै हुने गरेको प्रमाणहरू फेला परेका छन् । हिन्दु धर्मको ऋग्वेदमा समेत उपनयन संस्कारपछि मात्रै जनै धारण गरिनुपर्ने उल्लेख गरिएको छ ।

उपनयन संस्कार भन्नाले ईश्वर वा ज्ञानको नजिक लैजाने संस्कार हो । हिन्दू धर्म अनुसार यस संस्कार पछि जनै लगाइन्छ ।

‘जनैको धारणपछि मात्रै यज्ञ र सोध्यानको गर्ने अधिकार प्राप्त हुन्छ’ भन्ने विश्वास रहेको पाइन्छ । उपनयन संस्कारलाई ब्रतबन्धसमेत भन्ने गरिन्छ । यो संस्कारका निम्ति कुनैपनि बालक वा किशोर यदि ब्राह्मण हो भने ८ देखि १० वर्षसम्म हुनुपर्ने र क्षेत्री हो भने ११ वर्षदेखि १६ वर्षसम्म हुनुपर्ने ऋग्वेदमा उल्लेख गरिएको छ ।

यस संस्कार गर्दा टुप्पी मात्र राखी मुण्डन गरिएको टाउको भएको बालक वा किशोरलाई एक हातमा लट्ठी र सिलाइएको पहेलो वस्त्र लगाइदिएर खाली खुट्टामै यज्ञ गरिने प्रचलन रहिआएको छ । परिवार सहित उपस्थित भएर गरीने उक्त यज्ञ गायत्री मन्त्रबाट शुरू हुन्छ ।

यसरी यज्ञ गरिँदा विधिपूर्वक गणेश तथा अन्य देवीदेवताको पूजाअर्चनासमेत गर्ने गरिन्छ । यसरी सम्पूर्ण पूजा-अर्चना गरिसकेपछि गुरु दीक्षामार्फत् विशेष विधिपूर्वक जनैकाे धारण गरिन्छ । यसरी जनै धारण गराउँदा आफ्नो धर्मको नियम पालनाको कसम पनि खाइन्छ भने धारण गर्ने व्यक्तिले चन्दन लाउने चलन छ ।

यसरी लगाइएको जनाईबाट शरीरमा आयु, आरोग्य र ऊर्जा प्राप्त हुने जनविश्वास रहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *