‘पोइल जाने धारा’काे कथा ! (भिडिओसहित)

काठमाडौँ । भक्तपुरको सल्लाघारीबाट दुवाकोट मोड हुँदै कारखाना चोक पुगिन्छ । चोकबाट २०/२५ पाइला अगाडि बढ्दा पुगिन्छ— पोइल जाने धारा । स्थानीय बासिन्दा सरोज सुवालकाअनुसार त्यहाँ पोइल जाने धारा निकै प्रख्यात छ । उनकाअनुसार धेरै समयअगाडि एउटी महिला सोही धारामा पानीकाे गाग्री छोडेर पोइल हिँडेकी थिइन् रे ! त्यसपछि उक्त धाराको नाम नै पोइल जाने धारा रह्याे । धाराबारे थप प्रष्ट्याउँदै उनी भन्छन्, ‘एक दिनको कुरो हो । पानी लिन आउनेक्रममा माटोको गाग्री यहीँ छाडेर उनी पोइल हिँडिन् रे ! त्यसपछि यो धाराको नाम पोइल जाने धारा रह्याे ।’

याे धारालाई खासगरी पाका मान्छेहरू पोइल जाने धारा नै भनेर चिन्छन्/भन्छन् । पछि यसलाई गलैँचा कारखाना चोकको रूपमा चिन्न थालियो । पोइल जाने धारा रहेकै चोकमा गलैँचा कारखाना खुलेपछि त्यसलाई गलैँचा कारखाना चोक भन्न थालियाे । यद्यपि धेरैले त्यस क्षेत्रलाई अझै पोइल जाने धाराकै रूपमा चिन्छन् ।

यसको कुनै लेख्य इतिहास भने छैन । प्रत्यक्षदर्शीहरू पनि छैनन् । न खोजीनीति नै गरियो, न कुनै खोजकर्ता नै निस्किए । तर, यसको रमाइलो पक्ष यो छ कि, यसकाे किंवदन्ती भने साह्रै-धेरै बलियो छ । यो कुरालाई त्यहाँका स्थानीयहरू खुबै मान्छन् । स्थानीयहरूकाअनुसार कसैले यसबारे जिज्ञासा राखेपनि दस्तावेजीकरण नै गर्नेगरी भने कसैले सोधेका छैनन् । त्यहाँका पाकाहरू भन्छन्— ‘हामीलाई पनि यसबारे खासै ज्ञान छैन । खेतबारीमा आउँदा आमाहरूले भन्नुहुन्थ्यो । एउटी महिला धारामा पानी लिन आउँदा गाग्री छाडेर पोइल गइन् अरे यतिमात्र थाहा छ । तर, याे कुरालाई यहाँका मान्छेहरू खुबै मान्छन् ।’

स्थानीय सीताराम शोलुकाअनुसार पहिले त्यहाँ ढुङ्गेधारा थियाे । जसलाई पाेइल जाने धाराकाे रूपमा चिनिन्थ्याे र त्यस क्षेत्रलाई समेत पाेइल जाने धाराकै रूपमा चिन्न थालियाे । उनकाअनुसार एक कान्लामा ढुङ्गाको धारा थियो । त्यसलाई नै पाेइल जाने धारा भनियाे । आफूलाई थाहा भएसम्म त्यहाँ भक्तपुरकाे थिमीलगायतका ठाउँहरूबाट पनि मान्छेहरू पानी लिन आउने गर्थे । उनकाअनुसार दुवाकोट क्षेत्रको सबैभन्दा पुरानो धारा नै पोइल जाने धारा हो भनेर सबैले दाबी गर्छन् । अधिकांश स्थानीय र पाकाहरू पनि सोही बताउँछन् । उनी उक्त धारा लिच्छविकालमै बनेको हुनसक्ने पाकाहरूले बताउने गरेकाे सुनाउँछन् । ‘केही पाकाहरूचाहिँ याे धारा लिच्छविकालमै बनेकाे बताउनुहुन्छ,’ उनी भन्छन्, ‘सायद हुनसक्छ ।’

पुरातात्त्विक संरचनालाई जोगाउन आजभन्दा १५/१६ वर्षअगाडि सीतारामकै नेतृत्वमा त्यस धारालाई पुनःनिर्माण गरियो । पानीको अभाव हुन थालेपछि पनि धाराको पुनःनिर्माण आवश्यक रहेको र पुनः निर्माण गरिएको कथा सुनाउँछन् सीताराम । उनकाअनुसार बर्खायाममा धारा ठूलो आएपनि हिउँदयाममा तप्‌तप् मात्र चुहिन्थ्यो ।  यसपछि हिउँदमा पनि पानीको दुःख नहोस् भनेर त्यहाँ ट्याङ्की निर्माण गरी पानी जमाइयाे । यसपछि त्यहाँकाे पानीकाे दुःख हटेको छ ।

अहिले त्यहाँ घर–घरमा धारा छ । तर, पनि पोइल जाने धाराको महत्त्व भने नघटेको स्थानीयहरू बताउँछन् । पोइल जाने धारासँग आफूहरूको ‘सेन्सनल अटेचमेन्ट’ रहेको उनीहरूको भनाइ छ । उसो त उनीहरूको दैनिक जीवनमा पोइल जाने धाराले सहज बनाइदिएकै छ । स्थानीयहरू लुगा धुन, नुहाउन र बढी पानी लाग्ने कामहरू साेही धारामै गर्छन् ।

त्यसबाहेक त्यही बाटो हुँदै गाडी चलाउने चालक तथा सहचालकहरू पाेइल जाने धाराकाे कथा सुन्दै पानी पिउँछन् र फेरि आफ्नो बाटो सोझिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *