एउटा किसानको उडेको सपना राज्यले देखोस्

चितवन। भरतपुर–६ देवनगरमा बंगुरपालन गरेका किसान नरेन्द्र कन्दङ्वाको सपना धुँवासरी उडिरहेको छ । दिनहुँ गोठमा भकाभक बंगुर मर्न थालेपछि ती किसानको सपनामा आगो लागेजस्तो भइरहेको छ ।

तीन बिघामा जमिनमा बंगुर पालन गरेका किसान कन्दङ्वाको पाँच वटा गोठमा मुस्किलले एक सयमात्र बंगुर बाँचेका छन्, करिब १२ सय बंगुर मरिसकेका छन् ।

किसान नरेन्द्र कन्दङ्वा भन्छन्, ‘म त रोडमा आइपुगेँ, मेरो सपना सबै अफ्रिकन स्वाइन् फिभरले उडायो, राज्यले देखोस् ।’ उनका अनुसार गोठमा भएका सबैजसो बंगुर एक महिनाको बीचमा स्वाहा भए, गोठ रित्तियो, बाँकी रहेका एक सय बंगुर पनि मर्दै गइरहेका छन् ।’

हिजोआज बंगुरपालक किसान कन्दङ्वाको दिनचर्या मरेका बंगुर गाड्ने र सम्बन्धित निकायहरु धाउनेक्रम चलिरहेको छ । अफ्रिकन स्वाइन फिभरले उनको १ हजार १ सय ८० वटा बंगुर मरिसकेका छन् ।

‘तीन क्विन्टलसम्मको बंगुर भकाभक मरे, एकैदिन ६० वटा बंगुर सात जना कर्मचारी लगाएर खाल्डोमा पुरेँ’ बंगुरपालक किसान कन्दङ्वाले भने, ‘एउटै बंगुर ८० हजारसम्म पर्ने थियो, त्यति मूल्य पर्ने एक सयभन्दा बढी बंगुर खोरमा स्वाहा भए ।’

उनका अनुसार ४० वटा माउ बंगुरहरु मरेका छन् भने ५८० वटा बयस्क बंगुरहरु अफ्रिकन स्वाइन फिभरले मरेका छन् । उनले भने, ‘सयौँ पाठापाठी मरेका छन्, गन्ती गर्न सकिएको छैन, व्यवस्थापन गर्न सकेको छैन । दिनमै ३०/४० वटा बंगुर मरेका छन्, गाड्नलाई तलब दिएर मान्छे खोज्न परेको छ ।’

चार करोडबराबरको क्षति भएको उनी बताउँछन् । उनले भने, ‘बागमती प्रदेशका मुख्यमन्त्रीसमक्ष पुग्ने विचार पनि गरेको छु, संघीय सरकारसँग पुग्ने नपुग्ने भन्ने विषयमा परामर्श गरिरहेको छु, प्रदेश अथवा केन्द्र जताबाट राहत आए पनि एकतर्फबाट मात्र आउने हो ।’ उनले कृषि निर्देशनालयसम्म बंगुर मरेको विषयमा जानकारी गराएको बताए ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले अफ्रिकन स्वाइन फिभर नामक प्राणघातक रोग बंगुर, बँदेल, सुंघुरमा हुने जनाएको छ । विज्ञ केन्द्रका अनुुसार यस प्राणघातक रोगको भ्याक्सिन तथा औषधिहरु हालसम्म बनेको छैन । पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले चितवनको देवनगर, इच्छाकामनालगायतका बंगुरफार्महरुमा अफ्रिकन स्वाइन फिभर देखिएको बताए ।

उनले भने, ‘नयाँ रोग एकपटक लागिसकेपछि नष्ट गर्नुको विकल्प छैन, यसको औषधि बनेको छैन, सरकारले राहतको लागि कुनै कार्यविधि बनाएको छैन ।’ घरपालुवा सुँगुर, बंगुर र बँदेल जातमा यो फिभरको सङ्क्रमण देखिन्छ । केही समयपछि नियन्त्रणमा आउन सक्ने विश्लेषण पनि विज्ञ केन्द्रले गरेको छ।

डा आचार्यले भने, ‘यो रोग लागेपछि बंगुर अर्को ठाउँमा सार्न सकियो भने जोगाउन सकिने अवस्था रहन्छ, नत्र खोरमै बंगुर मरेर सकिने अवस्था पनि रहन्छ, विल्कुल नयाँ फिभर भएको हुनाले नेपाल सरकारले पनि गहिरो अध्ययन गरेको छैन ।’
किसान कन्दङ्वाले २०६६ सालबाट भरतपुर ६ देवनगरमा बंगुरपालन गर्दै आएका थिए । तीन बिघा जग्गामा उनले बंगुरपालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *