कर बढेपछि विस्थापनको डरमा अल्ट्रालाइट व्यवसायी

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्ट्रालाइट सहित हवाई खेलकुद क्षेत्रमा अत्यधिक कर बढाएको छ । ल्याण्डिङ शुल्क वापत अल्ट्रालाइट कम्पनिले अघिल्लो वर्षभन्दा १० गुणा बढी शुल्क तिर्नुपर्ने भएको छ । यसअघि प्रतिल्याण्डिङ ६८ रुपैयाँ ७५ पैसा बुझाउँदै आएका कम्पनिहरुले चालू वर्षदेखि ६ सय ७८ रुपैयाँ ७५ पैसा बुझाउनुपर्ने भएको छ । कोभिडले थलिएको पर्यटन ब्यवसायलाई उकास्न राहतको प्याकेज ल्याउनुपर्नेमा उल्टै अस्वभाविक कर बढाएको आरोप व्यवसायीहरुको छ ।

नेपाल मनोरञ्जनात्मक हवाई संस्थाकी अध्यक्ष नतासा श्रेष्ठले सरकारले शुल्क नघटाए अल्ट्रालाइट व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरिन् । ‘झन् कर घटाउनुपर्ने हो । अहिले पर्यटन क्षेत्र उकासिनै सकेको छैन,’ उनले भनिन्, ‘कोभिडले गाह्रो पारेको व्यवसायमाथी करको भार थप्नु दुखद हो ।’ एकजना मात्रै यात्रु लिएर उड्ने अल्ट्रालाइटमा ठूला जहाज समान ल्याण्डिङ शुल्क तोकिएको छ ।

कर अधिक बढेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । उनीहरुले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै शुल्क घटाइदिन आग्रह गरेका छन् । ३५ बर्ष अघि रुसबाट नेपाल आएर श्रेष्ठले नै अल्ट्रालाइट व्यवसाय सुरु गरेकी हुन् । प्राधिकरणको उक्त निर्णयले व्यवसायी मात्रै होइन, लाखौं शुल्क तिरेर पाइलट बनेकाहरु पनि निराश भएका छन् । पाइलट अजय गिरीले सरकारले शुल्क बढाएर व्यवसाय नै विस्थापित गर्न लागेको आरोप लगाए ।

‘अहिले त व्यवसाय जोगाउने समय हो । सरकारले राहत प्याकेज ल्याएर व्यवसाय जोगाउन सके कमाएपछि व्यवसायीले कर तिरिहाल्छन् नि,’ उनी भन्छन्, ‘जबरजस्ती अल्ट्रालाइट विस्थापित गराउने तयारीमा सरकार लागेको देखियो ।’ अबतरणसँगै अव कम्युनिकेसन एण्ड नेभिगेशन शुल्क समेत १७ रुपैयाँ १९ पैसाबाट बढेर २४० रुपैयाँ ५३ पैसा पुगेको छ भने सेकुरिटीमा ६ रुपैया ८८ पैसाबाट बढेर ६८ रुपैयाँ ७५ पैसा तथा आगोलागी नियन्त्रणमा १ सय २६ रुपैयाँ ७८ पैसा बढाएको छ । यसबाहेक छुट्टै कर पनि सरकारलाई तिर्नुपर्छ । पोखरामा सन् १९९६ देखि अल्ट्रालाइट सुरु भएको हो ।

हाल ४ वटा कम्पनीले १७ वटा अल्ट्रालाइट मार्फत व्यवसाय गर्दै आएका छन् । पोखरा आउने अधिकांश पर्यटकको रोजाइमा पर्छ, अल्ट्रालाइट । एकजना यात्रु लिएर हिमालको छेउसम्म पुग्ने र सहरलाई आकाशबाट देखाउन अल्ट्रालाइटले काम गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *