माओवादीमा गण्डकी हस्तक्षेप : २९ प्रतिशत पदाधिकारी गण्डकीबाट
पोखरा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कास्कीको ढिकुरपोखरी स्थित लेवाडेमा जन्मिएका हुन् । यद्यपि प्रचण्डको अहिले कार्यक्षेत्र चितवन सरेको छ ।
कास्कीमा जन्मिए पनि पछिल्लो समय उनको कर्मथलो र राजनीतिक सक्रियता कास्कीमा छैन । त्यसो त, प्रचण्डले राजनीतिको प्रमुख गुरुयोजना गण्डकीबाटै बुनेका थिए । त्यति मात्रै होइन, २०५२ साल फागुन १ गते गोरखाबाट जनयुद्धको शंखघोष गरिएको थियो ।
त्यसपछि रोल्पा, रुकुम जस्तै गण्डकीका अधिकांश जिल्ला माओवादीको किल्लाका रूपमा रह्यो । २०७० को निर्वाचनमा निकै कमजोर माओवादी २०७४ मा एमालेसँग मिलेर केही सुधार भयो । अहिले काँग्रेससहित ५ दलको गठबन्धनबाट चुनावमा होमिएको छ ।
माओवादी गण्डकीको पनि गोरखा जिल्लामा प्रभाव हराएको छैन । स्थानीय निर्वाचनमा ११ पालिका मध्ये ९ पालिकामा माओवादी उम्मेदवारले प्रमुख जितेका थिए ।
११ जना प्रमुख र १९ जना उपप्रमुख सहित ३० सिट माओवादीले जितेको छ । यसअघिको स्थानीय निर्वाचनमा ५ जना प्रमुख र ७ उपप्रमुख सहित १२ सिट मात्रै जितेको थियो । माओवादीले गोरखामा राम्रो ‘कमब्याक’ गरेको छ ।
प्रचण्ड मात्रै होइन माओवादीको महासचिव बनेका देव गुरुङ समेत गण्डकीकै हुन् । उनी मनाङका स्थायी बासिन्दा हुन् । माओवादीको २१ सदस्यीय पदाधिकारी मध्ये ६ जना गण्डकी प्रदेशबाटै समेटिएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखाका हुन् भने सचिव दिनानाथ शर्मा, हितमान शाक्य र देवेन्द्र पौडेल बागलुङका हुन् । अर्का सचिव हितराज पाण्डे गोरखाका हुन् ।
पदाधिकारीमा गण्डकीले अधिक सिट लिएसँगै माओवादी राजनीतिमा गण्डकी हाबी देखिएको छ । सिंगाे पदाधिकारी टिममध्ये २९ प्रतिशत सिट गण्डकीले मात्रै पाएको हो ।