दृष्टिविहीन साेनाम-कुमारी, जाे गीत गाएर छाेराछाेरीलाई भविष्य देखाउँछन् !
काठमाडौँ । हिजोआज कोरोनाको मात्रै होइन, सम्बन्ध विच्छेदका ‘लहर’हरू पनि मज्जैसँग चल्ने गरेका देखिन्छन्/सुनिन्छन् । यसलाई घटनाक्रमहरूले पनि पुष्टि गर्दै ल्याएका छन् । तर, सबै जोडीहरू त्यस्ता हुँदैनन्, जसले सम्बन्ध विच्छेद नै रोजून् । केही जोडी सोनाम-कुमारीजस्ता पनि हुन्छन्, जसले माया/प्रेमको ‘खडेरी’मा पनि फक्रन र फुल्न सक्छन् ।
सोनाम र कुमारी दुवै दृष्टिविहीन हुन् । उनीहरू भौतिकरूपमा आँखा देख्दैनन् । तर, आपसको माया/प्रेमको आँखा भने सधैँ खुलाइरहन्छन् । उनीहरू आफूलाई सधैँ वरिपरि देखिरहन्छन्, माया गरिरहन्छन् । यो अर्थमा उनीहरूलाई सम्बन्ध विच्छेदको मौसममा फुलेका फूलहरू भन्न सकिन्न र ?
उनीहरू मकवानपुरवासी हुन् । तर, अहिले भने उनीहरू काठमाडौँ उपत्यकाका विभिन्न कुनाहरूमा संगीतमा पौडिरहेका भेटिन्छन् । ललितपुरको खेप्चु बस्ने उनीहरूका दुई सन्तान छन् । ४ वर्षकी छोरी र ६ वर्षका छोरा छन्, जसलाई सोनाम-कपुरले आफू दृष्टिविहीन भएर पनि भविष्यका आँखा देखाउँदै आएका छन् । उनीहरू इन्द्रेणी विद्यालय पढ्छन् ।
आमजीवनमा सोनाम-कुमारीसँग दृष्टिविहीन भएकामा खासरूपमा दुःख छैन । यद्यपि पनि कहिलेकाहीँ आँखा देखेको भए भन्नेचाहिँ लाग्छ । दृष्टिविहीन हुनुको कारण सम्झँदै सोनाम भन्छन्, “मलाई याद त छैन । तर, आमाले भन्नुभएअनुसार दुई वर्षको हुँदा बिरामी भएँ । त्यसपश्चात् दृष्टिविहीन भएँ ।”
आफूलाई अस्पताल लगिए पनि त्यो समस्या दीर्घकालीन भएको उनी सुनाउँछन्, उनी थप्छन्— “सबैजना चिन्तित हुनुभयो रे ! अस्पतालमा जचाउन पनि लगियो रे ! डाक्टरले आँखाको नसा बिग्रेको ठिक हुँदैन भनेपछि मेरा आँखासँगै आमा र बुबाको मुहारमा भएको ज्योति गुम्यो ।”
सोनामलाई आँखाको ज्योतिबाट वञ्चित भएपनि शिक्षाको ज्योतिबाट वञ्चित हुनु परेन । फलतः उनी जीवनलाई नजिकबाट नियाल्न सक्छन् र त्यसको आयामहरू सम्झन र विश्लेषण गर्न सक्छन् । उनी सम्झन्छन्— मैले बालज्योति उच्च मावि पढेको हुँ, जुन दृष्टिविहीनहरूले पढ्छन् ।
सोनाम-कुमारीको भेट सोही बालज्योतिले गराएको हो । जुन आजसम्म बर्कारार छ । दुवैजना सानै थिए, मकवानपुरकै बालज्योति पढ्थे । भेटिए र जीवन हाँके । उनीहरूको जीवन हँकाइमा समानता छ, बुझाइ छ अनि समझदारी छ । जुन उनीहरूको वरिपरि जाँदै महसुस हुन्छ ।
कुमारीको कथा पनि सोनामको भन्दा फरक छैन । उनले पनि सोनामले जस्तै शिक्षाको ज्योतिबाट खास टाढा रहनु परेन । बालज्योतिमै रहँदा आपसको अस्थायी सहारा बनेका उनीहरू विसं २०६९ मा स्यायी सहारा बने अर्थात् बिहे गरे ।
विवाहपछि उनीहरूको जीवनले मोड लियो । जिम्मेवारीहरू थपिँदै गएपछि केही गर्नैपर्ने भयो र मुख्य पेशा बन्यो— गायन ।
त्यसयता उनीहरूले लगातार शहरका चौडा सडकहरूमा गाउँदै आएका छन्, शहरका कोलाहलमाझ सङ्गीतका सारेगम मिसाउँदै आएका छन् । उनीहरूले गाएर कमाएको पैसाले जीवन मात्रै धानेका छैनन्, छोराछोरीहरूको भविष्यसमेत किनेका छन् । “यही गाएकै भरमा खान-लाउन, छोराछोरी पढाउन र कोठा भाडा तिर्नुपर्छ,’ कुमारी यथार्थ बताउँछिन् ।
शारीरिक अपाङ्गता, आर्थिक विपन्नता अनि समाजको हेय दृष्टिका बीच विवाह गरेका उनीहरू खुसी नै छन् । विवाह गरेको १० वर्ष भयो । तर, उनीहरूको प्रेम भने झन्झन् प्रगाढ हुँदै गएकाे छ । खासगरी लगनखेलका सडक छेउतिर बसेर विभिन्न गीतहरू गाउने उनीहरूको प्रेम सडकछेउमै झल्किन्छ । उनीहरू एकअर्कालाई सहयोग गर्छन्, प्रेम साट्छन् । गीत गाउँदा-गाउँदा थाक्छन् कहिलेकाहीँ । त्यस्तो अवस्थामा एकले अर्कोलाई पाला दिने उनीहरूको संस्कार हो ।
उनीहरूको गीतले लगनखेल क्षेत्रलाई प्रेमिल बनाइरहन्छ । घाम ढल्किएपछि सुनिने उनीहरूका स्वर/गीतहरूले हृदय छोएर गुज्रन्छन् ।
दिन बित्छ, रात बित्छ । समय फेरिन्छ, हर अवस्थाहरू फेरिन्छन् । तर, सोनाम-कुमारीको दैनिकी फेरिँदैन । उनीहरू हिजो, आज र भोलि सधैँ उही भेष, भूमिका र अवस्थामा त्यहीकतै भेटिनेछन् सायद । जे होस्- उनीहरूको प्रेमचाहिँ गजबै छ । आखिरीमा यसाे भन्न सकिन्छ— जीवन त जसरी भएपनि चल्छ, तर उसैगरी चल्छ ।